घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १ बैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले विभिन्न विकास योजनाहरूका लागि बजेट विनियोजन र कार्यान्वयनको माग गर्दै ज्ञापन-पत्र बुझाएका छन् । विजयनगर गाउँपालिकामा मुख्यमन्त्री आचार्यको स्थलगत अनुगमन तथा अवलोकनकाे क्रममा उक्त ज्ञापन-पत्र पेश गरिएको हो । सो अवसरमा लुम्बिनी प्रदेशका सांसद अर्जुन कुमार केसी र जानकी प्रसाद यादव सहितको टोलीले विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका हुन् ।
ज्ञापन-पत्रमा सुरही नदीदेखि त्रिपालनगर, जगदीशपुर, पत्थरदेइया-मयनारी हुँदै कृष्णनगर नगरपालिका-११ झिंगहा जोड्ने १२ किलो मिटर कालोपत्रे सडक निर्माणलाई प्राथमिकतामा राखिएको छ । साथै धार्मिक, पर्यावरणीय तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको शंकरपुर ताल पुनः निर्माणका लागि संघीय सरकारबाट बजेट विनियोजन भए पनि काम अघि बढ्न नसकेको उल्लेख गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ परियोजनामा सहजीकरण गर्न आग्रह गरिएको छ ।
त्यसैगरी सुरही नदी र अर्रा नदीको कटानबाट खेतीयोग्य जमिन जोगाउन नदी नियन्त्रणका लागि बजेट व्यवस्था गर्न, सामुदायिक तथा धार्मिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गरी टिनको छाना हटाउन तथा कृषि सिंचाइ सुविधा विस्तारका लागि वडा नम्बर ७ परसोहिया र वडा नम्बर ३ पत्थरदेइया जोड्ने भटनी घोलामा लिफ्ट सिंचाइ योजना सञ्चालन गर्न माग गरिएको छ ।
वडा नम्बर १ नौडिहवा-गोबरहवा जोड्ने सडक अन्तर्गत बिशवा खोलामा कल्भर्ट निर्माणको आवश्यकता पनि औंल्याइएको छ । समग्रमा विजयनगर गाउँपालिकाको समग्र विकासका लागि विभिन्न योजना समेटिएको ज्ञापन-पत्र मुख्यमन्त्री आचार्यलाई बुझाइएको अध्यक्ष थापाले जानकारी दिए ।
मुख्यमन्त्री आचार्यले सुरही नदीदेखि कृष्णनगर-११ झिंगहा जोड्ने १२ किलोमिटर सडक निर्माण आर्थिक वर्ष २०८३-०८४ को बजेटमै अघि बढाइने बताएका छन् । विगतमा विविध कारणले बजेट विनियोजन हुन नसकेको स्वीकार गर्दै आवश्यक बजेट सुनिश्चित गर्ने उनलेे प्रतिबद्धतासमेत जनाए ।
प्रदेश सांसदद्वय अर्जुन कुमार केसी र जानकी प्रसाद यादवले पनि आवश्यक बजेट सुनिश्चितताका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अनुगमन टाेलीमा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, वडा अध्यक्षहरु लगायत स्थानीयहरुकाे उल्लेखनीय सहभागीता थियोे ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया