Trending
flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास

दशैं पर्व : पुरानो संस्कृति लोप हुँदै

 दशैं पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो । पिङ तयार पार्न खरबारी, जङ्गलमा बाबियो काट्ने, काठ तयार पार्ने, बोक्नेको चहलपहलले दशैंको रौनकता छाउँथ्यो । अहिले भने परम्परागत पिङ बनाउने र खेल्नेको उत्साह नहुँदा संस्कृति नै हराउँदै गएको छ । आधुनिक प्रविधिको प्रयोग र सुखसुविधाले पुराना संस्कृति नै हराउँदै जान थालेका छन् ।

गाउँमा सबै जुटेर पिङ राख्ने चलन रहेको बूढापाका बताउँछन् । हिजोआज परम्परादेखि नै पाल्पामा चलनचल्तीमा आएको चर्खे, लिङ्गेजस्ता पिङ लोप हुँदै गएको छ । यद्यपि चर्खे पिङको तुलनामा लिङ्गे पिङ भने पूर्णरूपमा विस्थापित भइसकेको छैन । लिङ्गे पिङ पहिलेजसो बाक्लो मात्रामा भने भेटिँदैन । झण्डै दुई दशकअघि गाउँगाउँमा अनिवार्यजसो चर्खे पिङ बनाइने गरे तापनि अहिले पिङको नाम मात्र लिनुपरेको रामपुरका मित्रलाल ढकाल बताउँछन् ।

‘खरबारी र जङ्गलबाट बाबियो, काठ काटेर ल्याइन्थ्यो, वल्लाघर पल्लाघरका सबै जम्मा भएर डहर, खुला चौरमा पिङ राखिन्थ्यो, पिङ खेल्नेको ठूलै भीड लाग्थ्यो, अहिले त पिङप्रति खासै चासो दिएको पाइँदैन’, उनले भने,  ‘काठैकाठले बनेको चर्खे पिङ खेल्दै रमाउनेको भीड हुन्थ्यो ।’ चारदेखि आठ जनासम्म बस्न मिल्ने खालको काठैकाठले बनेको यस पिङ खेल्दा निकै आनन्द लाग्ने गरेको उनी बताउँछन् ।

दिलबहादुर थापा आफूले जानेबुझेदेखि नै गाउँका साथीभाइ जम्मा भएर जङ्गलमा काठ काटेर चर्खे पिङ बनाउँदा निकै रमाइलो भएको आफ्नो अनुभव सुनाउँदै अहिले भने गाउँघर कतैपनि देख्न पनि नपाएकामा गुनासो गर्छन् । चर्खे पिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुँदा पनि अहिले यहाँबाट हट्दै गएको हो । एक पटकमा धेरै जनासम्म खेल्न सकिने हुँदा पिङ खेलेर मनोरञ्जन लिइन्थ्यो ।

पिङ राख्न थालेपछि दशैंको माहोल सुरु हुन्थ्यो । चर्खे पिङ नराखेसम्म गाउँघरमा चाडपर्वको रौनक नै नहुने गरेको सरस्वती सोमै बताउँछिन् । ‘गाउँघरमा पिङ राखेपछि बल्ल दशैं लाग्यो भन्ने आभाष हुन्थ्यो, दशैंका दिन एकपटक भए पनि जमिन छाड्नुपर्छ भन्ने मान्यताले पिङ खेलिन्थ्यो, हिजोआज त पुरानो संस्कृति नै हराउँदै जान थालेकामा चिन्ता लागेको छ,’ उनले भनिन् ।

कतिपय स्थानमा भने काठका अभावमा चर्खे पिङ राख्न छाडिएको स्थानीयवासीको भनाइ छ । हिजोआज वनमा काठ दाउरा काट्न नपाइने नियम लगाएपछि काठको अभावले गर्दा चर्खे पिङ राख्न छाडेको उनीहरुले बताए । पूर्वी पाल्पाका अर्चले, मित्याल, सहलकोट, झिरुवास, बाकामलाङ, गल्धालगायतका स्थानमा टाढा–टाढाबाट दशैंका बेला चर्खे पिङ खेल्न आउनेको घुइँचो रहने गर्थ्यो, तर अहिले पिङ राख्ने चलन हट्दै जाँदा गाउँ नै सुनसान बनेको छ ।

केहीले जसोतसो संस्कृति जोगाउन फ्याट्टफुट्ट लिङ्गे पिङ राख्ने गरेको पाइए पनि पहिलेजस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको यसपटक भने त्यति रौनक छैन । युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दशैं पर्वले ढपक्कै छोए पनि पिङ राख्ने र खेल्नेको उत्साह देखिँदैन । अर्कोतर्फ कोरोनाको माहामारीले पिङ राख्ने र खेल्ने कार्यमा गत वर्ष र यस वर्ष पनि स्थानीयवासीको सहभागिता देखिँदैन ।

आजभोलि युवापुस्ताले पनि त्यति पिङप्रति चासो दिँदैनन् । साना–साना बच्चाका लागि बजारमा आएका प्लाष्ट्रिकको डोरी बाँधेर घरघरमा पिङ राख्ने चलन भने बढ्न थालेको छ । बाबियो काटेर पिङ बाट्ने चलन पछिल्लो समय पाल्पामा कमै छ । गाउँघरमा चनचल्तीमा आएको चर्खे पिङ, लिङे पिङ र घुमाउने पिङ खेलेर मज्जा लिँदै आफन्त, साथीभाइ भेटघाट हुने र शुभकामना आदानप्रदान गर्ने चलन रहेको थियो ।

कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जाँदा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने खालका संस्कृति लोप हुँदै गएका छन् । दशैं पर्व भनेपछि पिङ खेल्ने, घर लिपपोत गर्ने, रातो टीका, पहेँलो जमरा लगाउने, राम्रा–राम्रा पहिरन लगाउने, मीठो–मसिनो खाने, आफन्त साथीभाइसँग भेटघाट गर्ने, खुसी साटासाट गर्ने कुरालाई जनाउँछ ।

घर लिपपोत गर्न प्रयोग गरिने सेतो, रातो माटोको तुलनामा बजारमा आएका विभिन्न रङरोगनलगायतका वस्तुको प्रयोग बढ्न थालेको छ । बजारमा तयारी अवस्थामा आएका विभिन्न वस्तुप्रति स्थानीयवासीको आकर्षण बढ्न थालेपछि ग्रामीण वस्तुको उपयोग कम छ ।

गाउँघरमा पाइने वस्तुलाई उपभोग गर्न छाडेर महङ्गा मूल्यका वस्तु खरिद गरी घर सिङ्गारपटार गरेर घर सजाउने गरिन्छ । कृत्रिम वस्तुको प्रयोग बढ्दै जाँदा हाम्रा पुराना मौलिक संस्कार, संस्कृति हराउन पुगेका छन् । यसले चाडपर्व खर्चिलो र भड्किलो पनि बन्दै गएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP