काठमाडौँ : नेपाल विद्यालय कर्मचारी परिषद्ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ। बुधबार राति नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ९ बुँदे सहमतिमा कर्मचारीहरूको मागमुद्दा नसमेटिएको भन्दै आज परिषद्ले पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेको हो।
परिषद्का महासचिव शान्तिनाथ योगीले महासंघले एकलौटी सहमति गरेको भन्दै आन्दोलन गर्न बाध्य भएको बताए। उनले भने, ‘नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलन रहस्यमय ढङ्गबाट वैशाख १७ गतेका दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच भएको वार्तामा आबद्ध र सम्बद्ध संस्थाका अध्यक्षहरूलाई मुकदर्शक बनाएर गरिएको धोकापूर्ण वार्तामा नेपाल विद्यालय कर्मचारी परिषद्ले नेपाल शिक्षक महासंघ र नेपाल सरकारलाई बुझाएको संस्थागत धारणाको मर्मानुरूप विपरीत हुने गरी तथा विद्यालय कर्मचारीको अल्पमतलाई पूर्णरूपमा बेवास्ता गर्याे।’
एकलौटी महासंघको नेतृत्वले निजामती सरहको ग्रेड मिलान, स्थायी र सबै प्रकारका शिक्षकहरूका लागि दुर्गम भत्ता प्राप्त गर्ने,मर्यादाक्रममा शिक्षकलाई राख्ने, निमावि प्रथम श्रेणीको शिक्षकको तलब ग्रेड मावि, द्वितीय श्रेणीको शिक्षक सरह हुने लगायतका सहजातीय सेवा सुविधाजन्य गतिविधिमा तीव्र लबिङ गरेर विद्यालय कर्मचारीलाई सडकमै बिनासूचना छाडिदिएको उनको भनाइ छ।
‘यसो हुँदा विद्यालय कर्मचारीहरूमा असन्तुष्टि पैदा हुनु स्वाभाविकै हो। तसर्थ आम विद्यालय कर्मचारीमा पर्न गएको नैतिक दबावलाई मद्देनजर गर्दै विभिन्न माग राखी आन्दोलन परिचालन समिति गठन गरी प्रथम चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ। यस प्रथम चरणको आन्दोलनमा सबै सबैमा साथ, सहयोग र समर्थनका लागि सबैमा हार्दिक अपिल गर्दछौं’‚ उनले भने।
के-के छन् माग ?
परिषद्का महासचिव योगीले शिक्षक कर्मचारीबीचको विभेद अन्त्य गर्नुपर्ने,हालसम्मका सहमति कार्यान्वयन गर्नुपर्ने, विद्यालय कर्मचारीको विरामी बिदा सञ्चित गराउनुपर्ने माग राखेको बताए।
उनका अनुसार तलब मान कायम गराउनुपर्ने,विद्यालय कर्मचारीलाई पनि दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने, तोकिएकै समयमा शिक्षा ऐन जारी गराउनुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गराउनुपर्ने माग रहेका छन्।
यी हुन् परिषद्का चरणबद्ध आन्दोलन
परिषद्ले बब्बन मिश्राको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ। परिषद्ले सार्वजनिक गरेको चरणबद्ध आन्दोलनमा वैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने उल्लेख छ।
जेठ ४ गतेका दिन ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षणपत्र बुझाउने तथा आन्दोलनको बारेमा जानकारी गराउने,५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने उल्लेख छ।
‘जेठ ६ गते शिक्षा विकास तथा समन्वय एकाइ ७७ वटैमा आन्दोलनको जानकारी सहित ध्यानाकर्षणपत्र बुझउने, ७ गतेकै दिन ७ वटै प्रदेशमा आन्दोलनको जानकारी गर्न तथा ध्यानाकर्षण पत्र सामाजिक विकास मन्त्रालयमा बुझाउने कार्यक्रम छ’, महासचिव योगीले भने।
परिषद्ले जेठ ९ र १० गते काठमाडौँस्थित माइतीघर मण्डलादेखि सडक आन्दोलनमा सबै उपस्थित हुने र तत्कालै समीक्षा गरेर दोस्रो चरणको आन्दोलनको रूपरेखाको तयारी गर्ने घोषणा गरेको छ।
कक्षा १२ परीक्षामा असर पुर्याउँदैनौँ : अध्यक्ष तिवारी
परिषद्का अध्यक्ष गंगाराम तिवारीले यही वैशाख २१ गतेदेखि हुने कक्षा-१२ को परीक्षामा कुनै पनि असर नपुर्याई आन्दोलन गर्ने बताए। परीक्षापछि भने सशक्त आन्दोलन गर्ने उनको भनाइ छ।
‘हामीले पटक-पटक भएको शिक्षक आन्दोलनमा सहभागी भएर सहयोग गरेका छौँ, सहमति गरेका छौँ तर ती माग सहमति गर्नमा महासंघले सहयोग गरेन,पहल गरेन, हामीलाई धोका भएको छ। हामीलाई प्रयोग मात्रै गरियो,अब हामी एक्लै लड्छौं’,उनले भने।
हिजो शिक्षक महासंघले आन्दोलनको समीक्षा तथा विश्व श्रमिक दिवसको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो। त्यहाँ गएका विद्यालय कर्मचारीहरूले विरोध जनाए। हिजो बिहानमात्रै परिषद्ले सरकारसँग भएको शिक्षक र सरकारबीचको सहमतिमा असन्तुष्टि जनाउँदै असहमति जनाएको विज्ञप्ति जारी गरेको थियो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया