काठमाडौं : पछिल्लो समय काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलबीच ‘टकराव’ कारण महानगर भन्द्रगोल अवस्थामा पुगेको छ। काठमाडौं टावरको नक्सापास विवाद चर्केपछि प्रमुख शाह र उपप्रमुख डंगोलबीच लय मिल्न नसकेको हो।
यसको प्रत्यक्ष असर भने महानगरपालिकाको प्रशासनिक,नीतिगत निर्णय,कार्यपालिका बैठक लगायत कार्यमा परेको छ। चार महिनादेखि महानगरपालिका प्रमुख शाहले कार्यपालिका बैठक राखेका छैनन्। २०८१ पुस १४ पुस गते १६औं नगरसभा बैठक बस्नु अगाडि बसेको कार्यपालिका बैठकपछि हालसम्म कार्यपालिका बस्न सकेको छैन।
त्यस अगाडि महानगरपालिका हरेक महिनामा एकचोटि कार्यपालिका बैठक बस्दै आएको थियो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ मा पनि ‘कार्यपालिका बैठक कम्तीमा महिनाको एक पटक बस्ने छ’ भन्ने उल्लेख छ। कार्यपालिका बैठक बोलाउने जिम्मेवारी पनि पालिका प्रमुखलाई दिएको उक्त ऐनमा उल्लेख छ।
तर, लामो समयसम्म पनि प्रमुख शाहले बैठक नबोलाएपछि महानगरपालिकाका प्रवक्ता एवं वडा १७ का वडाअध्यक्ष नवीन मानन्धरसहित १८ जना वडाध्यक्षहरूले गत चैत १० गते कार्यपालिकाको बैठक माग गर्दै प्रमुख शाहलाई ज्ञापनपत्र बुझाएका थिए।
विवादको केन्द्र टावर र गुरागाईँ
महानगरपालिका प्रमुख बालेन र उपप्रमुखबीचको यो टकराव आउनु/ल्याउनुमा कारण भने हालका महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ हुन्। सरकारले प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईँँलाई नियुक्त गर्ने निर्णय गरेसँगै गत असोज ७ गते महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरेका थिए।
तर, उनलाई पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको आरोप लाग्यो। त्यसपछि महानगरपालिकाले उनीमाथि गत पुसमा छानबिन गर्न समिति गठन गर्याे। त्यसयता गुरागाईँ निलम्बनमा परे।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा गुरागाइँलाई नै काम गर्ने वातावरण दिन आग्रह गरेको थियो तर बालेनले त्रूटिपूर्ण कार्य गरेको दाबीसहित ठाडै अस्वीकार गरे।
सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा र बालेनले गुरागाइँलाई जिम्मेवारी नदिँदा करिब पाँच महिनासम्म तलब कर्मचारी शिक्षकहरूले पाएनन्।
त्यसपछि प्रमुख बालेनविरूद्ध उपप्रमुख डंगोल आक्रामक बन्दै गइन्। त्यतिमात्रै होइन् चैत २० गते वडाअध्यक्ष र कर्मचारीहरूले ताला फोडेर उनै विवादित प्रमुख प्रशासकीय अधिकृत गुरागाईँंलाई कार्यालयमा छिराए।
उपप्रमुख डंगोलले गुरागाईँलाई स्वागत गरिन्। गुरागाइँलाई कार्यालयमा छिराएपछि सुनिताले आक्रोशित हुँदै भनिन्,‘फेरी त्यो भिडन्त बनाउने की नबनाउने?,भिडन्त नगर्ने भए व्यवस्थापन त गर्नुपर्याे,यसको व्यवस्थापनको लागि उपप्रमुखको हिसाबले निर्देशन दिइसके,मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ, होइन भने कोठामा बसेर आदेश दिन मात्र पाइँदैन।’
उपप्रमुख सुनिता डंगोल यतिमा मात्रै रोकिएनन्। वैशाख ११ गते नेकपा एमालेले आयोजना गरेको युथ सेलिब्रेशनमा बालेन लक्षित ‘स्टन्ट गरेर देश बन्दैन’ भनिन्। उनले औँला उठाउँदै भनिन्,‘स्टन्ट गरेर देश बन्दैन,स्टन्ट गरेर देश बन्छ?,देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ,इमान्दारिता चाहिन्छ।’ उक्त भाषणपछि सुनिता डंगोल आलोचित पनि भएकी छिन्। सामाजिक सञ्चालहरूमा तीनै भिडियो सेयर गर्दै डंगोलविरूद्ध आक्रोश पोखेका छन्। उनलाई गाली गरेका छन्।
प्रवक्ता भन्छन् : एक महिनादेखि भेटघाट भएको छैन
महानगरपालिकाका प्रवक्ता मानन्धरका अनुसार प्रायः महानगरपालिका प्रमुख शाह कार्यालय आइरहेका छन्। तर,पहिलाजस्तो भेटघाट छैन।
उनले भने,‘उहाँ महानगर त आउनुहुन्छ। तर एक महिना भयो संयुक्त भेटघाट र कुराकानी भएको छैन।बैठक पनि बोलाउनु भएको छैन।जसकारण धेरै समस्या हुँदै गएको छ।’
नीति तथा कार्यक्रम र बजेट अन्यौलमा
महानगरपालिका प्रमुख शाह र डंगोलकै आन्तरिक द्धन्द्धका कारण आव २०८२ ०८३ को नीति तथा कार्यक्रम र बजेट पनि अन्योलमा परेको देखिन्छ। हालका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँँ मान्ने पक्षमा बालेन छैनन्। महानगरपालिकाका प्रवक्ता डंगोलका अनुसार हालसम्म नीति तथा कार्यक्रमबारे केही महानगरमा जानकारी आएको छैन। छलफल भएको छैन।
उनले भने,‘नीति तथा कार्यक्रमको तयारीबारे हामीलाई जानकारी छैन,उहाँले नै बनाउने र प्रस्तुत गर्ने हो,अब गर्नुहोला नी।’ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा/नगरसभामा पेश गर्नुपर्ने व्यवस्था छ।
स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेश गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। यसका लागि स्थानीय तहले पहिल्यै नीति तथा कार्यक्रम ल्याएर पारित गर्नुपर्ने हुन्छ। केन्द्र सरकारले भने वैशाख १९ गते नै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ।
सुनिता भन्छिन् : महानगरमा झगडा छैन
कार्यालय फोडेर गुरागाइँलाई कार्यालयमा छिराएको घटना र उपप्रमुख सुनिताको भाषण कारण अझै झनै बालेन र सुनिताबीच फाटो हुने देखिन्छ। तर,उपप्रमुख सुनिताले भने महानगरमा कुनै झगडा नभएको बताएकी छिन्।
वैशाख १८ गते काठमाडौंको सोल्टीमोडस्थित हायात सेन्ट्रिङ होटलमा आइएसएसआरले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा उनले भनिन्,‘महानगरमा झगडा छैन,झगडा कतै छ भने सोसल मिडियामा छ।’
यता,बालेन शाह यसविषयमा पछिल्लो समय बाहिर बोलेका छैनन्। स्टाटस पनि हालेका छैनन्। यस विषयमा प्रतिक्रिया लिनको लागि महानगरपालिका प्रमुख शाहका स्वकीय सचिव भुपदेव शाहलाई सम्पर्क गर्दा कल उठाएनन् थाहा बखर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया