काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा गरेको सम्बोधन आलोचनाको घेरामा परेको छ । कोरोना कहरकाबीच प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधनले जनतामा थप नैराश्यता थपेको भन्दै आलोचना भएको हो ।
कोरोना संक्रमणसँग जुध्न आक्रामक योजना र नागरिकको जनजीवन सहजताका लागि प्रधानमन्त्रीले कुनै ठूलो घोषणा गर्न सक्ने आशामा रहेका नागरिकहरु निराश भएका हुन् । नागरिकका आशा सम्बोधन गर्नुको साटो भ्रष्टाचारलाई आश्रय दिने ढंगले प्रधानमन्त्रीको सम्बोधन आएको राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले बताउनुभयो । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमार्फत भ्रष्टहरुका पक्षमा चट्टानी अडान व्यक्त गरको उहाँको टिप्पणी छ ।
प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा मेडिकल सामग्री खरिद प्रकरणमा कुनै भ्रष्टाचार नभएको अडान व्यक्त गर्नुभएको थियो । उहाँले असामान्य बेलामा सामान्य अवस्था भन्दा केही फरक ढंगले काम गर्नुपर्ने बाध्यता उत्पन्न हुने भएपनि कामै गर्न नदिने ढंगका प्रयासहरु भइरहेको आरोप लगाउनुभयो । सामाजिक सञ्जालका प्रयोगकर्ता र सञ्चार माध्ययमहरु सरकारलाई असफल पार्ने कुप्रचारमा संलग्न रहेको आरोप प्रधनमन्त्री ओलीको छ । तर यस्ता प्रयासहर सरकारका सामु निरर्थक ठहरिने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालमा कोरोना कहरलाई मात्रै ९ जनामा सीमित पार्न सकेर जस लिन खोजेको सन्देश पनि नागरिकमा प्रवाह गर्नुभएको छ । तर आगामी दुई हप्ता कोरोना भाइरसको संक्रमणले मुलुकमा अझै गम्भीर खतरा पैदा गर्न सक्ने संसय पनि उहाँको सम्बोधनमा थियो । त्यसै कारण पनि अहिले ‘लकडाउन’ थप्नुपरेको बताउँदै प्रधानमन्त्रीले संकटको बेला जीवन कि वैयत्तिक स्वतन्त्रता भन्ने प्रश्नको मनन गर्न सबैलाई आग्रह गर्नुभयो । संकटका बेला जीवनको रक्षा गर्नु नै पहिलो कर्तव्य हुन आउने उहाँले बताउनुभयो ।
यता प्रधानमन्त्री ओलीेले आफ्ना नानागरिकलाई जीवन रोज्ने कि स्वतन्त्रता भनेर प्रश्न गरेको भन्दै सामाजिक सञ्जालमा धेरैले आपत्ति जनाएका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जीजन वा स्वतन्त्रता मध्ये एक रोज भन्नु आपत्तिजनक रहेको बताउनुभयो । नेपाली रेडियो नेटवर्कलाई प्रतिक्रिया दिँदै डा. भट्टराईले लोकतन्त्रमा स्वतन्त्रता र जीवन दुवै चाहिने बताउनुभयो । उहाँले भ्रष्टाचारविरद्ध नागरिक र मिडियाले गरेको खबरदारी र आलोचनालाई बेमौसमी बाजा भन्नु अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति रहेको पनि बताउनभुयो ।
यता कोरोना कहरको संकट समाधानका लागि सरकारका हर कदममा साथ दिन तयार रहेको बताएको प्रमुख विपक्षी नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीको आजको सम्बोधनप्रति आपत्ति प्रकट गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संकटका बेला सकाकारले आत्मीयता प्रकट गर्नु र जनतालाई ढाडस दिनुको साटो प्रधानमन्त्री नै आरोप र आलोचनामा उत्रनु उचित नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले संकटका बेला सहानुभुति बटुलेर काम गर्ने वातावरण तयार पार्न सरकारलाई सुझाव दिनुभयो
मुलुक कोरोना त्रासले अत्यन्त भयको अवस्थाबाट गुज्रिरहेको छ । आम नागरिकहरुको दैनिकी ठप्प छ भने निम्न वर्गका धेरै मानिसहरुको घरको चुल्हो बल्न छाडेका समाचारहरु प्राप्त भइरहेका छन् । यस्तो संकटका बेला आफ्ना नागरिकहरुप्रति सदासयता प्रकट गर्नु र राहतको पयाकेज घोषणा गर्नु लोकतान्त्रिक राज्य सरकारको पहिलो कर्तव्य हुन आउँछ । तर प्रधानमन्त्रीको आजको सम्बोधनमा त्यस्तो केही सुन्न पाइएन । आशा गरौँ प्रधानमन्त्री ओलीले छिट्टै यी विषयहरुलाई सम्बोधन गर्दै जनतामा राहतको प्रत्याभूति गराउने छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया