Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

शरीर र आत्मको महत्त्व बुझ्ने म्हपूजा

भक्तपुर : नेवार समुदायले तिहारको चौंथो दिन न्हूँ दँ या भिन्तुना (नयाँ वर्षको शुभकामना) भन्दै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा मनाउँदैछन्।

म्हपूजाको अर्थ हो शरीर पूजा। कार्तिक शुक्ल प्रतिपदाको राति नेवार समुदायले आ–आफ्नो शरीर पुजा गर्दै म्हपूजा पर्व मनाउने गर्दछन्। यस दिन अन्धकारको नाश गरी ज्ञानको ज्योति फैलियोस् भनेर आफ्नो आत्मालाई चिनेर सारा ब्रह्माण्ड चिन्नका निम्ति म्हपूजा गरिन्छ।

म्हपूजाको दिन बिहानै उठेर घरमा सफासुग्घर र नुहाई धुवाई गरी चोखो लुगा लगाई विभिन्न पकवानहरु पकाएर बेलुका आफ्नो आत्माको प्रतीक मण्डला बनाई पूजा गर्छन्। म्हपूजा गर्न सुरुमा रातो माटोले लिपिन्छ। त्यसपछि चोखो पानी छर्केर पानीको मण्डला बनाइन्छ।

त्यसपछि तेलको मण्डला बनाइन्छ। मण्डलामाथि चामलको पिठोबाट व्यक्तिको प्रतीक मण्डला तयार गरिन्छ। त्यसको बीचभाग र चार कुनामा कालो काँचो भट्मास, आख्य (धानको बोक्रा निकालेर तयार गरेको कालो चामल) राखिन्छ। त्यसको माथि खेलुइता (टुप्पीदेखि चिउँडोसम्मको नापमा बनाइएको मलमल कपडा)को बत्ती राखिन्छ।

घरका सदस्यहरु क्रमशः घरको मुलीदेखि लस्करै मण्डला अगाडि बस्छन्। घर मुलीअघि गणेश भगवानको मण्डला तयार गरिन्छ। मण्डलामा बिमिरो, भोगटे, सुन्तला, केरा, अम्बा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, बयरलगायतका फलफूल राखिन्छ। त्यसमाथि कोखा (काँचो धागोमा पञ्चरंगिन कपडाको टुक्रा राखेर बनाएको माला), सयपत्रीको माला र सयपत्री तथा गोदावरी फूल राखिन्छ।

म्हपूजा गर्दा पहिले सुकुण्दा बालेर चामलको पिठोबाट बनाइएको गणेश पूजा गरी सुरु गरिन्छ। यो पूजा घरको नकीं (मुली महिला)ले गर्ने परम्परा छ। यो पूजा गर्दा प्रत्येकलाई देवीदेवतालाई जस्तै विधिवत रुपमा पूजा गरी खेलुइता बालेर शरीरको तीन अंग घुँडा, कुम र टाउकोमा तिन ओटा मुटुमारी (चामलको रोटी), पञ्चरंगी फुलका टुक्रा, अमला, ओखर, ताय, जुंगेधान, आख्य आदी राखेर तीन पटकसम्म टाउकोमा ढोगाएर मण्डलामा जाने गरी कुले (काठको पाठी)ले खन्याइ म्हपूजा गरिन्छ। म्हपूजा गर्दा खेलइता निभाउनु हुँदैन भन्ने मान्यता छ।

पूजा सकिएपछि क्रमशः बिमिरो, कोखा, फूलको माला र सयपत्री फूलसहितको फलफूल हातमा दिएर कोखा र फूलको माला लगाई टाउको फूल राखिन्छ। त्यसपछि खेलुइता ननिभेकै बेला नकींले तलदेखि लक्ष्मी पूजाको दिन ढुकुटीमा पूजा गरेको नयाँ कुचोले बडारेर माथि गणेशलाई पूजा गरेको ठाउँमा जम्मा गरिन्छ। रातभरि त्यतिकै छोडेर भोलि बिहानै खोलामा विर्सजन गर्ने परम्परा छ।

म्हपूजा सकेपछि आ–आफ्नो स्थानमै बसेर घरको नकीबाट खेःसगं (अण्डा सगुन) दिइन्छ।  खेःसगं दिँदा अण्डा, माछा, बारा र मदिरा दिन्छ। यसरी खेःसगं लिइसकेपछि विभिन्न पकवानहरु राखेर भोज खाने प्रचलन छ। भोज खाइसकेपछि सलादको रुपमा विमिरो काटेर भोज समापन गरिन्छ।

म्हपूजा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गरेर ज्ञानको ज्योति फैलाउने कामनासहित गरिन्छ। यसका साथै शरीरमा लागेको पाप र रोग आदि सबै नास होस्, आयु लामो होस् भन्ने कामना गरिन्छ। म्हपूजा बलिराजालाई साक्षी राखेर गरिन्छ भन्ने लोकमान्यता छ।

इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठ आफूलाई चिनेर सारा संसारलाई चिन्न म नै भगवान्, म नै ब्रह्माण्ड, मैले सारा जगतको कल्याण गर्न सक्छु‚ संसारमा ज्ञानको ज्योति फैलाउन सक्छु भनेर आफू र आफ्नो आत्मालाई गरिने ज्ञानको प्रतीक पूजा नै म्हपूजा रहेको बताउँछन्।

उनले भने, ‘म्हपूजा पूजा यमपञ्चकको चौथौ दिनमा गरिन्छ। त्यसको अघिल्लो दिन अर्थात् औंसीको दिन लक्ष्मी पूजा। जुन दिन कोजाग्रत पूर्णिमादेखि औंसीसम्म गरिने १६ लक्ष्मीको पूजा सम्पन्न गरिन्छ। यही सम्पन्ताको प्रतिक स्वरुप गरिने पूजा नै म्हपूजा हो।’

‘नेपाल मण्डलका नेवार समुदायले प्राचीन समयदेखि यसलाई मौलिक पर्वका रुपमा यसलाई मनाउँदै आएको छन्‚’ प्राडा श्रेष्ठल भने, ‘यो पर्वमा अन्धकारलाई नाश गरेर बत्ती बालेर आफू र आफ्नो आत्मालाई मात्र नभएर सम्पन्नताको प्रतीक दैनिक जीवनमा प्रयोग हुने कुचो र नाङ्गलो, गाग्री, करुवा, सिलौटा, चुलोलगायत पूजा गरी म्हपूजा पर्व मनाइन्छ।’

यसै दिन पारेर नेवारले नयाँ सम्वत् समेत मनाउँछन्। म्हपूजाको दिन नेपाल सम्वत सुरु हुने दिन पनि हो। वर्षभरि कृषि कर्म गर्नुपर्ने भएकाले नेवार समुदायले वर्षको पहिलो दिन वर्षभरि शरीरमा कुनै रोगव्याधीले नसताओस् र शरीर सधैं तन्दुरुष्त होस् भनी कामना गर्दै म्हपूजा गर्ने प्रचलन सुरु भएको संस्कृतिकर्मी ओम धौभडेल बताउँछन्।

म्हपूजा कहिलेदेखि सुरु भएको वा कसले चलाएको भन्ने यकिन प्रमाण छैन। तर‚ यो पर्व नेवार समुदायले लिच्छविकालदेखि नै मनाउँदै आइरहेको धौभडेलको भनाइ छ।

म्हपूजाको दिन शंखधर साख्वाले सबै जनताको ऋण चुक्तागरी ऋणबाट मुक्त गराएको आख्यान समेत रहेको छ। शंखधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल संवत् सुरु भएको कथन छ। उक्त कथनअनुसार एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एकजना प्रख्यात ज्योतिषीले शास्त्र हेरी शुभ मुहूर्तमा विष्णुमती र भद्रमतीको बीचमा रहेको चखुंतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ती चढाउँछ। सोहीअनुसार चार जना भरियालाई राजा आनन्द देवले गोप्य रुपमा चंखुतीर्थमा बालुवा लिन पठाउँछ।

ती भरियाहरु बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शंखधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनुको कारण खोज्न थाले। उनले बालुवामा केही रहस्य भएको शंका गरी ति भरियाहरुलाई लोभमा पारेर थप ज्याला दिई बालुवाका भारीहरु आफ्नो घरमा खन्याउन लगाई भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाए। भोलिपल्ट बालुवा सुनमा परिणत भएको पाएपछि शंखधरले कान्तिपुरका राजा जयदेवसँग अनुमति लिएर सो सुनबाट दुनियाँको ऋण चुक्ता गरी आफ्नो नाउँबाट नयाँ संवत् चलाएको मान्यता रहेको छ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP