कपिलवस्तु — कपिलवस्तुको कृष्णनगर भन्सारमार्फत सेटिङमा भन्सार पास गरिएका तीन ट्रक चामल प्रहरीले नियन्त्रणमा लिएको छ । मोटा चामल भनेर देखाइएका कागजातसहित भित्र्याइएको ती ट्रकमा वास्तविक रूपमा लङ्ग ग्रेन (मसिनो) चामल रहेको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विशेष सूचनाको आधारमा पकडी नजिकबाट यूपी नम्बरका तीन ट्रक — यूपी ५१ एटी ४०३०, यूपी ५५ एटी ४०५०, र यूपी ५१ बिटी ७६८५ — नियन्त्रणमा लिइए । ट्रकमा १२६ टन चामल रहेको थियो जसको भन्सार दर वस्तु विवरणसँग मेल खाँदैनथ्यो । ती ट्रकहरू हाल राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।
कृष्णनगर भन्सार कार्यालयले जारी गरेको प्रज्ञापनपत्र र प्लान्ट क्वारेन्टाइनको जाँच पास दुवैमा मोटा चामल उल्लेख गरिएको पाइयो । तर भित्र्याइएको चामल मसिनो किसिमको रहेको पुष्टि भएपछि राजस्व छलीको शंका थपिएको हो ।
भन्सार अधिकृत मयंककुमार कर्णले हस्ताक्षर गरेका प्रज्ञापनपत्रका आधारमा ट्रकहरू छुटाइएका थिए । भन्सार कर्मचारी दिलबहादुर दर्लामी र रनबहादुर बूढाको संलग्नता पनि देखिएको छ । व्यापारीहरूका अनुसार दर्लामी र बूढा भन्सार प्रमुख फणिन्द्र खतिवडाका नजिकका व्यक्ति हुन् ।
भन्सार दरअनुसार मोटा चामलको मूल्य प्रति किलो ३० रुपैयाँ र मसिनो चामलको ५५ रुपैयाँ निर्धारण गरिएको छ । दररेटकै आधारमा हेर्दा ठूलो मात्रामा राजस्व छली भएको देखिन्छ । व्यापारी मदन गुप्ताको भनाइ छ, “यो त दोब्बर दर फरक भएको छ । यस्ता मिलेमतो बिना सम्भव छैन । भन्सारमा सबै सेटिङमै छ ।”
यस घटनामा भारतीय व्यापारीहरू गोपाल गोयल, अजय बर्मा, विमल गुप्तालगायतको संलग्नता देखिएको छ । ट्रकहरू निमराज न्यौपानेको नाममा क्लियर गरिए पनि क्लियरिङ्ग एजेन्ट अजय बर्माले सेटिङ मिलाएको बताइएको छ ।
यसैबीच, प्लान्ट क्वारेन्टाइन कार्यालय कृष्णनगरका अधिकारी दिपनारायण यादवले मसिनो चामललाई मोटो भनेर प्रमाणीकरण गरेका छन् । व्यापारीहरूका अनुसार सामान्यतया प्रतिट्रक पाँच सय रुपैयाँ लिएर जाँचपास गरिँदै आएको छ ।
राजस्व अनुसन्धान कार्यालय बुटवलले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ । यस प्रकरणले सीमावर्ती भन्सारहरूमा व्यापक अनियमितता र मिलेमतो उजागर भएको छ । जनआस्था
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया