काठमाडौँ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन लम्ब्याएपनि अन्य उपायहरु प्रभावकारी बनाउन नसकेको भन्दै नेपाली काँग्रेसका १२ युवा नेताहरुले १० बुँदे अपिल गरेका छन् ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि लडकडाउन मात्रै समाधानको उपाय नभएकाले नेपालले अवलम्बन गर्नु पर्ने केही बिकल्पहरुका बारेमा कांग्रेस केन्द्रीय सदस्यहरुले सरकारको ध्यानाकर्षण गराएका हुन्।
केन्द्रिय सदस्यहरु डा. चन्द भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले बिहीबार संयुक्त रुपमा अपिल जारी गरेका हुन्।
सुरक्षाकर्मीहरुको तलब कटाउने कार्य अनुचित रहेको भन्दै उनीहरुले सरकारको यो निर्णयले सुरक्षाकर्मीलाई निरुत्साहित तुल्याएको टिप्पणी गरेका छन्। बरु स्वास्थ्यकर्मी लगायत सम्बन्धित सबैको आर्थिक सुरक्षा र प्रोत्साहन स्वरुप बिमा र यथेष्ठ भत्ताको व्यवस्था गर्न पनि सरकारसँग नेताहरुले माग गरेका छन्।
सङ्टकटको समयमा खर्च कटौति गर्नको लागी सांसद बिकास कोषको रकम कोरोना भाइरस नियन्त्रण कोषमा राखिनु पर्ने, पूर्व पदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौंति गर्दै जनताको हितमा लगाउनु पर्नेमा युवा नेताहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।
दैनिक ज्याला मजदुरी गर्नेहरु र बृद्धबृद्धाहरुका लागि यथोचित राहतको व्यवस्था गर्न, संसारभर रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी हासिल गरि आबश्यक सहयोग गर्न पनि आग्रह गरिएको छ ।
किसान र पशुचौपायाका बारेमा उत्पन्न समस्यालाई गम्भिरतापूर्वक लिई उपयुक्त कदम चाल्नतर्फ युवा नेताहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।
बिपदको बेलामा सरकार चलाउने मुख्य व्यक्तिले टर्रो र गैरजिम्मेवार अभिव्यक्ति नदिन र संकटको मौका छोपी भ्रष्टाचारका घटना भइरहेको आरोप लागेकाले त्यसलाई दण्डीत गर्न युवा केन्द्रीय सदस्यहरुको अपिल छ ।
उनीहरुले कोरोना परीक्षणको गति अत्यन्त सुस्त रहेकोले गति र दायरा बढाउनु पर्ने र परीक्षण केन्द्रहरू अविलम्ब थपिनु पर्ने माग गरेका छन्।
साथै कोरोना भाइरस परीक्षण किट, पीपीई लगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको बन्दोबस्त गर्न र कोरोना नियन्त्रण अभियानमा कुनै पनि कारणले अबरोध उत्पन्न नहुने तर्फ ध्यान दिन उनीहरुको सुझाव छ।
विदेशबाट नेपाल आउन चाहने नेपालीहरुलाई सहजै आउने व्यवस्था मिलाइनुपर्ने, उनीहरुलाई क्वारेन्टाइनमा राखिनुपर्ने र आवश्यक स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि मात्र घर जाने व्यवस्था मिलाउन काँग्रेस युवा नेताहरुको आग्रह छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया