काठमाडौं, असार १२ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन २०७७ फागुन ७ गते नहुने सम्भावना बढेर गएको छ ।
कोरोना महाव्याधिलाई बहाना बनाएर तोकिएको मितिमा महाधिवेशन नगर्ने पार्टी संस्थापन पक्षको रणनीतिअनुसार महाधिवेशनको कार्यतालिका हेरफेर गर्न आइतबार पार्टी पदाधिकारी बैठक तय भएको छ ।
महाधिवेशन नगरेर भातृसंगठनहरु तदर्थवादमा चलिरहेको बेला पार्टीकै महाधिवेशन सार्ने चाँजोपाँजोले सिंगो कांग्रेस बदनाम हुने सम्भावना रहन्छ ।
२०७७ साल फागुन ७ गते नेपाली कांग्रेसको निर्धारित् १४औं महाधिवेशनको उद्घाटन भएन भने पार्टीको लोकतान्त्रिक छविमाथि नै बहस बाक्लिनेछ । कोरोना महाव्याधिकै कारण महाधिवेशनको मिति सार्ने प्रयास भएको हुनसक्छ ।
संसारमै बढी आक्रान्त अमेरिकामा ११ कात्तिक २०७७ मा राष्ट्रपतिका लागि निर्वाचन हुने तर नेपालमा फागुन पहिलो हप्ता पनि कांग्रेसको महाधिवेशन नहुने हो भने त्यसप्रति उठ्ने प्रश्नहरुको सामना गर्न पार्टी नेताहरुलाई कठिन हुने देखिन्छ ।
कांग्रेस महाधिवेशन समयमै हुनुपर्छ भनेर कुर्लने नेताहरु पनि अब फागुन ७ मा महाधिवेशन सम्भव देख्न छोडेका छन् ।
साउन मसान्तसम्म्मा क्रियाशील सदस्यतासम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्न अहिलेसम्म कुनै प्रयास नभएको हुनले महाधिवेशन कार्यतालिका फेरिने सम्भावना बढेर गएको छ ।
१४औं महाधिवेशन सार्ने सुरसारमा रहेको कांग्रेसमा आन्तरिक लोकतन्त्रको अभ्यास कमजोर हुँदै गएको छ । यसअघि, पार्टीको भातृसंस्थाहरुको महाधिवेशन नगरी तदर्थवाद हावी हुँदै आएको छ ।
२०७२ सालमा हुनुपर्ने दलित संघको महाधिवेशनको सुरसार छैन । प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, नेपाल किसान संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल ठाकुर समाज, तामाङ संघलगायतका भातृसंस्थाको महाधिवेशन गर्न न ती संस्थाका नेतृत्व तातेका छन् न पार्टी नेतृत्व नै ।
नेपाल विद्यार्थी संघको पार्टीले नै महाधिवेशनको मिति तोक्दै सार्दै गरिरहेको छ । तरुण दलको महाधिवेशन पनि टार्दै लगिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले चाहने हो भने नेपाली कांग्रेसको १४औं महाधिवेशन तोकिएकै समयमा सम्भव हुनसक्छ । भातृसंस्थाहरुको महाधिवेशन त त्यसअघि नै हुनसक्छ ।
अन्यथा, आन्तरिक लोकतान्त्रिक अभ्यासमा चुक्दा कांग्रेसले आफूलाई देशको पुरानो लोकतान्त्रिक दल भनेर दाबी गरिरहँदा लाज मान्नुपर्ने अवस्था आउनसक्ने सम्भावना रहन्छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया