घनश्याम भर
(विजयनगर) कपिलवस्तु, ४ फागुन ।
कपिलवस्तुको कृष्णनगरमा पशु तथा पशुजन्य वस्तुको सुरक्षित आयात-निर्यात र रोग नियन्त्रणलाई लक्षित गर्दै एक दिने क्वारेन्टाइन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । सीमावर्ती क्षेत्रमा हुने पशु तथा पशुजन्य पदार्थ ओसारपसारलाई व्यवस्थित र कानुनी दायराभित्र राख्न यस कार्यक्रमले प्रभावकारी हुने उद्देश्यले साेमबार कृष्णनगरमा सचेतना कार्यक्रम गरिएको हाे ।
वार्षिक कार्यक्रम अन्तर्गत तेस्रो त्रैमासिक कार्यतालिका बमोजिम सचेतना कार्यक्रम सञ्चालन गरिएको चेकपोष्टका प्राविधिक शुभम सोतीले जानकारी दिए । कार्यक्रममा सुरक्षा निकाय, पत्रकार तथा स्थानीय व्यवसायी लगायत सराेकारवालाहरूको सहभागिता रहेको उनलेे बताए ।
कार्यक्रममा पशु क्वारेन्टाइन चेकपोष्ट कृष्णनगरका पशु चिकित्सक डा. दयाराम चौधरीले क्वारेन्टाइन प्रक्रिया पालना नगर्दा पशुजन्य संक्रामक रोग भित्रिने जोखिम उच्च हुने बताउँदै सबै सरोकारवालालाई नियम, मापदण्ड र कानुनी प्रावधानबारे जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताए । पशु स्वास्थ्य सुरक्षा, रोग पहिचान तथा रोकथामका उपायबारे बताउँदै सीमा क्षेत्रबाट हुने पशु आयात-निर्यातमा सर्तकता अपनाउनु अत्यन्त आवश्यक रहेकाे बताए ।
त्यस्तै पशु क्वारेन्टाइन कार्यालय भैरहवाका पशु चिकित्सक डा. मनोज अधिकारीले क्वारेन्टाइन ऐन, कार्यविधि तथा हाल देखिएका पशु रोगहरूको अवस्थाबारे जानकारी गराएका थिए । उनले क्वारेन्टाइन केवल औपचारिकता मात्र नभएर यो राष्ट्रिय पशु स्वास्थ्य सुरक्षासँग जोडिएको विषय भएको जिकिर गर्दै सबै निकायको समन्वय र सक्रियता आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागीहरूले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण, कडाइका साथ जाँच प्रक्रिया लागू गर्नुपर्ने आवश्यकता तथा सरोकारवालाबीच समन्वय मजबुत बनाउनुपर्ने विषयमा सुझाव दिएका थिए ।
आयोजकका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमले सीमावर्ती क्षेत्रमा पशुजन्य रोग नियन्त्रण, सुरक्षित व्यापार प्रवर्द्धन तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया