काठमाडौँ : रसुवा नाकामा वर्षाैंंदेखि व्यापार गर्दै आएका धनबहादुर तामाङलाई व्यापार चौपट हुने चिन्ताले सताएको छ।
मंगलबार बिहानै रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको थियो। न पानी पर्यो न बाढी आउने कुनै पूर्व सूचना थियो, बिहान साढे तीन बजेतिर अचानक ठूलो बाढी आयो, जसमा परी ठूलो जनधनको क्षति भयो।
बाढीले केही घण्टामै मुलुकको प्रमुख व्यापारिक नाका-केरुङ र रसुवागढी-मार्फत हुने व्यापारलाई ठप्प हुने गरी पूर्वाधार तहसनहस पारिदियो। दुई देशलाई जोड्ने मितेरी पुल बगाएको छ भने धुन्चे–स्याफ्रुबेसी सडक पहिरोले अवरुद्ध छ। बाढीमा परि बेपत्ता भएकामध्ये ९ जनाको शव भेटिएको छ भने अझै दुई प्रहरी, ६ चिनियाँ नागरिक र ११ नेपालीसहित १९ जना अझै बेपत्ता छन्।
चीनबाट सामान बोकेर ल्याएका तथा सामान लिन जान लागेका दर्जनौं कन्टेनर बगाएका छन्। अब यो विपद्ले पुर्याएको क्षतिबाट उब्रिएर आफ्नो व्यापार व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने अन्योलमा छन् व्यापारीहरू। कोभिडको महामारीपछि थलिएको व्यापार व्यवसाय विस्तारै अगाडि बढ्दै गर्दा प्राकृतिक विपद्ले चपेटामा परेको छ।
चाडपर्व नजिकिदै छ, लत्ता कपडासहितका सामानको व्यापार धेरै हुने सिजन सुरु हुनै लाग्दा चीनसँगको प्रमुख दुईमध्ये एक नाका बन्द हुने चिन्ताले धनबहादुरजस्तै धेरै व्यापारी निराश छन्। अब पहिलेको अवस्थामा फर्कन धेरै समय लाग्ने बताउँछन् धनबहादुर।
‘हिजोको दिनमा पनि व्यापार व्यवसायलाई कोभिडले सुताएकै थियो, अहिले फेरि यस्तो विपद् आयो उनले भने‚ ‘इभी गाडीहरू, लत्ताकपडा, खाद्यान्न लगायतका सामानहरू आउने क्रममा थियो, एक्कासि यस्तो आइलाग्यो, यसले ठूलो घाटा भएको छ।’
अब कहिले बन्छ भत्किएका, बगाएका सडक भन्ने चिन्तामा छन् धनबहादुर। ‘मङ्गलबारको बाढीले रसुवामात्र नभई सिंगो नेपाललाई धेरै घाटा बेहोर्नुपर्ने बनाएको छ, सोच्दै नसोचेको घटनाले बामे सर्दै गरेको व्यापार रोकिदियो’, धनबहादुरले भने‚ ‘अब यो कहिले, कसरी बन्छ, कसले बनाउँछ? नेपालमा कुरा धेरै हुन्छ, काम हुँदैन, त्यही भएर आउने दशैँसम्म पनि खुल्दैन होला भनेर हामी चिन्तित छौँ।’
तथापि चीनले चाह्यो भने अस्थायी पुल हालिदिएर भए पनि नाका सुचारु गर्न सक्ने विश्वास उनमा छ। उनका अनुसार स्याफ्रुबेसी, रुङ्गा भन्ने ठाउँबाट रसुवागढीसम्म जानलाई १४ किलोमिटरको बीचमा नेपालपट्टि धेरै ठाउँमा पहिरो गएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढीले अटो क्षेत्रमा ठूलो क्षति पुर्याएको जनाएको छ। ‘भन्सार परिसरमा रहेका निर्माणाधीन सुक्खा बन्दरगाह, पार्किङमा रहेका कन्टेनर समेत बगाएको छ। मुलुकको प्रमुख व्यापारिक नाका केरुङ र रसुवागढीमार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पुर्याएको छ’‚ नाडाले भनेको छ।
नाडाले आगामी भदौ ३ देखि ८ गतेसम्म आयोजना गर्न लागेको अटो शोका लागि ल्याइएका इभी गाडी बाढीले बगाएको हुनसक्ने आशंका गरिएको छ। तथापि क्षतिको सम्बन्धमा यकिन भइ नसकेको नाडाले जनाएको छ।
यसैगरी नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवागढीमा आएको बाढीले सवारीसाधन आपूर्तिमा ठूलो अवरोध सिर्जना गरेको जनाएको छ। नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्य चाडपर्व नजिकिदै गर्दा बाढीको कारण नाका नै बन्द हुँदा आपूर्तिमा ठूलो समस्या निम्तिएको बताउँछिन्।
‘यसले आयातकर्तालाई ठूलो आर्थिक धक्का पुग्नुका साथै चाडपर्वको तयारीमा रहेका उपभोक्ता र बजार प्रणालीमा समेत प्रत्यक्ष असर पारेको छ’‚ उनले भनिन् ।
बाढीले रसुवा भन्सार कार्यालयको यार्ड र इभी चार्जिङ स्टेशनमा क्षति पुगेको छ भने रसुवा भन्सार कार्यालय, टिमुरेको यार्ड तथा सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि राखिएका समान सहितका २३ वटा ट्रक÷कन्टेनर, ३५ वटा इभी गाडी र ६ वटा सिनो ट्रक बगाएको छ ।
चाडपर्व नजिकिदै गर्दा मुख्य व्यापारिक नाका रसुवागढी बन्द भएपछि चीनसँगको व्यापार प्रभावित हुने बताइएको छ। रसुवागढी नाकाबाट चालू आर्थिक वर्षको एघार महिना (साउन–जेठ महिनासम्म) मै ८० अर्ब ९१ करोड ४८ लाख २३ हजारको सामान आयात भइसकेको छ भने १ अर्ब ९६ करोड १४ लाख रुपैयाँभन्दा बढीको निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ।
यस अवधिमा चीनसँगको अर्को व्यापारिक नाका तातोपानीबाट ४६ अर्ब ८९ करोड ३५ लाख ८१ हजार रुपैयाँको सामान भित्रिएको छ। गतवर्ष रसुवा नाकाबाट ६० अर्ब ९१ करोड २ लाख ६० हजार रुपैयाँको मात्र आयात हुँदा १ अर्ब ७३ करोड ६२ लाखको निर्यात भएको थियो।
भन्सार विभागका निर्देशक (सूचना अधिकारी) किशोर बर्तौला रसुवागढी नाका अवरुद्ध चीनबाट हुने व्यापारमा असर गर्ने बताउँछन्। तथापि अर्को विकल्पका रूपमा तातोपानी नाका रहेको बताउँछन्। ‘झण्डै ३०–३२ अर्ब राजस्व उठाइरहेको ठाउँ हो, यो एघार महिनामा ८० अर्बभन्दा माथिको कारोबार भएको थियो, असर त गर्ने नै भयो, तथापि चीनले तातोपानी नाकाबाट सामान पठाउला’‚ उनले भने। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया