काठमाडौँ : दोस्रो गोदावरी नगरपालिका वडाव्यापी मेयर कप फुटबल प्रतियोगिता (आज) शनिबारबाट सुरु भएको छ। गोदावरी नगरपालिकाको आयोजनामा सुरु प्रतियोगितामा नगरभित्रका १४ वटै वडा सहभागी भएका छन्।
प्रतियोगितामा वडा नम्बर ५ लेले र वडा नम्बर २ विशंखुनारायणले विजयी सुरुवात गरेका छन्। जितसँगै दुबै टोली क्वार्टरफाइनलमा पुगेका छन् । लेले र विशखुनारायणले सोमबार दिउँसो सेमिफाइनल प्रवेशका लागि भिडन्त गर्नेछन्।
गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ९ छम्पीलाई २–१ ले हराउँदै वडा नम्बर २ विशंखुनारायणले विजयी सुरुवात गरेको छ।
विशंखुनारायणका लागि दुबै गोल नारायण सिलवालले गरे। उनले खेलको ३० औँ र ५४ औँ मिनेटमा गोल गरेका हुन्। उनी नै खेलको म्यान अफ दि म्याच भए। उनले नगद ३ हजार सहित ट्रफी पाए।
पराजित छम्पीका लागि एक मात्र गोल किरण विष्टले गरे। शनिबार नै सम्पन्न अर्को खेलमा वडा नम्बर ५ लेलेले वडा नम्बर १० टाहाखेललाई १–० ले पराजित गरेको छ। लेलेको जितमा निर्णायक गोल रोहित रमण डंगोलले गरे । उनले खेलको छैटौँ मिनेटमा गोल गरेका थिए ।
यो खेलमा टाहाखेलले गोल गर्ने ५ सुन्दर अवसर खेर फालेको थियो । बलमा पकड टाहाखेलले जमाएपनि स्कोर गर्न नसक्दा लेले विजयी भयो। लेलेलाई गोल खानबाट बचाएका गोलकिपर आयुष श्रेष्ठ खेलको म्यान अफ दि म्याच खेलाडी भए ।
उनले झण्डै गोल भइसकेका केही बललाई उत्कृष्ट ढंगले बचाए । आयुषलाई म्यान अफ दि म्याच ट्रफिसहित नगद ३ हजार वडा नम्बर १० का वडा अध्यक्ष शेखर न्यौपानेले हस्तान्तरण गरे। प्रतियोगिताको उद्घाटन नगर प्रमुख गजेन्द्र महर्जनले गरेका थिए ।
गोदावरी नगरपालिका वडाब्यापी मेयर कप फुटबलमा आइतबार ३ वटा खेल हुनेछ । पहिलो खेलमा १० बजे वडा नम्बर ४ बडिखेल र वडा नम्बर १२ ठेचोबीच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी दोस्रो खेलमा दिउँसो सो १२ बजे वडा नम्बर ७ देवीचौर र वडा नम्बर ११ चापागाउँबीच प्रतिस्पर्धा हुनेछ । यस्तै आइतबारको तेस्रो खेलमा दिउँसो ३ बजे वडा नम्बर १३ झरुवाराशी र वडा नम्बर १ गोदामचौरबीच प्रतिस्पर्धा हुनेछ । सहभागी १४ वटा वडालाई दुई पोलमा विभाजन गरिएको छ ।
पहिलो पोलमा वडा नम्बर ९ छम्पी, वडा नम्बर २ विशंखुनारायण, वडा नम्बर ५ लेले, वडा नम्बर १० टाहाखेल , वडा नम्बर ४ बडिखेल , वडा नम्बर १२ ठेचो र वडा नम्बर ८ डुकुछाप रहेका छन्।
यसैगरी अर्को पोलमा वडा नम्बर ७ देवीचौर, वडा नम्बर ११ चापागाउँ, वडा नम्बर १३ झरुवाराशी, वडा नम्बर १ गोदामचौर, वडा नम्बर ६ टीकाभैरव, वडा नम्बर १४ ठैव, बाँडेगाउँ र वडा नम्बर ३ गोदावरी रहेका छन् ।
दुबै पोलका विजेताले माघ १७ गते शनिबार दिउँसो २ बजे उपाधिका लागि भिडन्त गर्नेछन् । नकआउटका आधारमा खेलाइने प्रतियोगितामा कुल १३ खेल हुने आयोजकले जनाएको छ ।
पहिलो पोलबाट डुकुछाप र अर्को पोलबाट गोदावरी बाइ पाएर सिँधै क्वार्टरफाइनलमा पुगेका छन् ।
उपाधि विजेताले एक लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी पाउने नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडाध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए । प्रतियोगिताबाट १४ वटै वडाका खेलाडीहरुको प्रदर्शनका आधारमा गोदावरी नगरको सिंगो टिम तयार पारिने नगरप्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत आइतबार ३ वटा खेल हुनेछन्। बिहान १० बजे वडा नम्बर ४ बडिखेल र वडा नम्बर १२ ठेचोबीच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी आइतबारको दोस्रो खेलमा १२ बजे वडा नम्बर ७ देवीचौर र वडा नम्बर ११ चापागाउँबीच प्रतिस्पर्धा हुँदा वडा नम्बर १३ झरुवाराशी र वडा नम्बर १ गोदामचौरबीच दिउँसो ३ बजे तेस्रो खेल हुनेछ ।
पहिलो संस्करणको वडाव्यापी मेयर कप फुटबलको उपाधि वडा नम्बर ३ गोदावरीले जितेको थियो । फाइनल खेलमा वडा नम्बर ६ टीकाभैरवलाई २–० ले हराउँदै गोदावरीले मेयरकप फुटबलको उपाधि जितेको थियो ।
करिब ८ महिनाअघि पनि यही रंगशालाको मैदानमा दोस्रो उपत्यकाव्यापी अन्तरपालिका मेयरकप फुटबल प्रतियोगिता सञ्चालन भएको थियो । सो प्रतियोगितामा गोदावरी नगरपालिकालाई हराउँदै काठमाडौं महानगरपालिकाले लगातार दोस्रोपल्ट मेयर कप फुटबलको उपाधि जितेको थियो । थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया