Trending
समाज ‘नेपालको डीएनएमै प्रकोप छ, व्यवस्थापकीय चुस्तता नै हाम्रो विकल्प हो’ समाज विपद् व्यवस्थापनमा कुरिनटार एउटा ‘ब्राण्ड’ हो’ flash नापीको त्रुटिले दर्जनौँ परिवार सङ्कटमा: सडक एकातिर, फैसला अर्कैतिर२०८३, ४ बैशाख शुक्रबारमा प्रकाशित समाज जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति खेल पञ्जाबकाे अपराजित यात्रा कायमै, मुम्बईको चौथाे हार समाज प्रधानमन्त्री बालेन शाहले सबै आमाहरुलाई मातातीर्थ औँशीको शुभकामना अन्तर्राष्ट्रिय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा राजनीति सर्वोच्च अदालतमा आजपनि सुनुवाइ निरन्तर हुने अन्तर्राष्ट्रिय पूर्णअधिकार सुरक्षित नभएसम्म इरान होर्मुजबाट पछि नहट्ने समाज नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नापीको त्रुटिले दर्जनौँ परिवार सङ्कटमा: सडक एकातिर, फैसला अर्कैतिर२०८३, ४ बैशाख शुक्रबारमा प्रकाशित

खग प्रसाद चापागाईं

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–३, गुलरी क्षेत्रमा हुलाकी सडकसम्बन्धी विवादले नयाँ मोड लिएको छ ।

कपिलवस्तु जिल्ला अदालत र उच्च अदालत तुलसीपुर बुटवल इजलासको फैसलापछि सडकको वास्तविक अवस्थाभन्दा नापी कार्यालयको नक्शांकनलाई आधार मानिएको भन्दै करिब एक दर्जन स्थानीय मर्कामा परेका छन् ।

अदालतको आदेशमा प्रत्यक्ष रूपमा आफूहरूमाथि अन्याय भएको वडा नं. ३ का गुलरीका हरेरा भन्ने अबु हरेरा डफाली परिवारको गुनासो छ ।

‘त्रुटिपूर्ण’ नक्सांकनलाई आधार मानी अदालतले फैसला गरी स्थानीय परिवार उठिबास हुने अवस्थामा पुगेका हुन् । स्थलगत वस्तुस्थिति र सडक डिभिजनको प्रतिवेदनलाई भन्दा नापीको प्राविधिक नक्सालाई मात्र आधार मान्दा हुलाकी राजमार्गको रुट नै साबिकको स्थानभन्दा २७ मिटर उत्तरतर्फ मोडिने अनौठो र अन्यायपूर्ण परिस्थिति सिर्जना भएको हो ।

डफाली परिवारका अनुसार अदालतको निर्णयका कारण उनीहरूको घर नै सार्वजनिक सडकभित्र परेको ठहर भएको छ । उनी भन्छन्, “जिल्ला र उच्च अदालतको फैसलाले मेरो घर भत्किने र परिवार विस्थापित हुने अवस्था आएको छ । हामीमाथि अन्याय भएको छ ।”

विवादको जड नापी कार्यालयको नक्शांकनमा देखिन्छ । साबिक लबनी गाविस–३ अन्तर्गत कित्ता नम्बर ७२० मा रहेको सडकलाई बेवास्ता गर्दै कित्ता नम्बर ७१८ लाई सडक कायम गरिएको दाबी स्थानीयको छ ।

यसका कारण हाल प्रयोगमा रहेको सडकको मध्यबिन्दुभन्दा करिब २७ मिटर उत्तरतर्फ नयाँ मध्यबिन्दु कायम हुने अवस्था सिर्जना भएको उनीहरू बताउँछन् ।

अदालतको फैसला स्थलगत प्रमाणहरूसँग बाझिएको देखिन्छ । सडक डिभिजन कार्यालय शिवपुरका इन्जिनियरद्वय निराज गुप्ता र सुवासकान्त बनियाले तयार पारेको प्रतिवेदनमा अबु हरेराको घर सडकको मध्यबिन्दुबाट १५ मिटर बाहिर सुरक्षित रहेको उल्लेख छ ।

२०८० चैत ६ गते जिल्ला अदालतका न्यायाधीश कृतबहादुर बोहराको इजलासले सार्वजनिक बाटो कब्जा खिचोला मेटाउने सम्बन्धी मुद्दामा फैसला गर्दै विवादित जग्गालाई सडकभित्र परेको ठहर गरेको थियो ।

सोही फैसलालाई २०८१ साउन २२ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय सुभाष पौडेल र रेखा थापाले सदर गरेका छन् ।

तर स्थानीयका अनुसार अदालतले स्थलगत तथ्यभन्दा नापीको कागजी नक्शांकनलाई बढी प्राथमिकता दिएको छ । अबु हरेराका छोरा अबु कलाम भन्छन्, “साबिकको सडकलाई बेवास्ता गरेर गलत नक्शांकनलाई आधार मान्दा हामी अन्यायमा परेका छौं ।” अदालतको टोली घर भत्काउन आउने खबरले अबु हरेरा स्तब्ध छन् ।

“नापीको एउटा गलत धर्काले हाम्रो वर्षौँको बास उठाउन खोज्दै छ,“ उनले दुखेसो पोखे, “सम्मानित अदालतले भुइँको तथ्य नहेरी फैसला गर्दा हामी गरिबमाथि अन्याय भयो ।“

रोचक पक्ष के छ भने, सडक डिभिजन कार्यालय शिवपुरका प्राविधिकहरूले तयार पारेको प्रतिवेदनले भने हरेराको घर सडक मापदण्डभन्दा १५ मिटर बाहिर रहेको देखाएको छ ।

साथै अदालतबाट खटिएको अमिन टोलीको स्थलगत नापजाँच प्रतिवेदनले पनि साबिकको सडक कित्ता नम्बर ७२० मै रहेको पुष्टि गरेको बताइन्छ । गाउँपालिकाको सिफारिसमा समेत उक्त घर सडक मापदण्ड बाहिर रहेको उल्लेख छ ।

यद्यपि, यी प्रतिवेदनहरूलाई बेवास्ता गर्दै अदालतले नापी कार्यालयको नक्शांकनलाई आधार बनाएको आरोप स्थानीयको छ । फैसलाको असर अबु हरेरा परिवारमा मात्र सीमित छैन ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–४, महुवरीका श्रीराम तेली भन्छन्, “हाम्रो दुई कट्ठा जग्गा अहिले एक धुर पनि नबच्ने अवस्था आएको छ ।” त्यस्तै स्थानीय सिताराम कुर्मीका अनुसार तीन कट्ठा जग्गामध्ये करिब ६ धुर सडक मापदण्डभित्र पर्ने जोखिम बढेको छ ।

स्थानीय मोहम्मद हनिफले पनि अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै भने, “स्थलगत प्रतिवेदनलाई बेवास्ता गरेर गरिएको निर्णयले हामीलाई उठीबास लगाउने स्थिति सिर्जना गरेको छ ।”

यस विषयमा शुद्धोधन गाउँपालिका–३ का वडा अध्यक्ष मैनुद्दिन मुसलमानले पनि अदालतको फैसलाले वास्तविकता नझल्काएको बताए । उनका अनुसार, “हालको कालोपत्रे हुलाकी सडकको मध्यबिन्दु नै २७ मिटर उत्तर सारिएको जस्तो देखिन्छ, जुन व्यवहारिक र तथ्यगत रूपमा मिल्दैन ।”

अध्यक्ष मुसलमानले यो फैसलाले विकास र जनजीवन दुवैमा असर पारेको बताए । “फैसला कार्यान्वयन गर्ने हो भने हुलाकी सडक नै २७ मिटर उत्तर मोड्नुपर्छ वा एउटै ठाउँमा दुईवटा सडक बनाउनुपर्छ,“ उनले भने, “सडक डिभिजन, वडा कार्यालय र अदालतको आफ्नै प्राविधिक टोलीको रिपोर्टलाई बेवास्ता गरेर नापीको गलत नक्सालाई आधार मानिनु दुःखद छ ।“

नापीको प्राविधिक त्रुटिका कारण सुरु भएको यो कानुनी लडाइँले अन्ततः विकासको मेरुदण्ड मानिने हुलाकी राजमार्गको संरचना नै बिथोल्ने र दर्जनौँ नागरिकलाई सुकुम्बासी बनाउने खतरा बढाएको छ । पीडितहरूले अहिले यो ’अन्यायपूर्ण’ फैसलामाथि पुनर्विचार गरी न्यायका लागि अपिल गरिरहेका छन् ।

स्थानीयको गुनासो अनुसार, यदि यो निर्णय कार्यान्वयन भएमा एउटै क्षेत्रमा दुईवटा फरक–फरक सडकजस्तो अवस्था बन्नेछ । एक वास्तविक रूपमा प्रयोगमा रहेको र अर्को कागजमा आधारित । यसले न केवल स्थानीयको जग्गा र घरमा असर पार्नेछ, हुलाकी राजमार्गकै संरचनामा अन्योल सिर्जना गर्ने देखिन्छ ।

स्थानीयले नापी कार्यालयको कथित त्रुटिपूर्ण नक्शांकन सच्याई वास्तविक स्थलगत अवस्थाका आधारमा न्याय हुनुपर्ने माग गरेका छन् । अन्यथा, एउटा कागजी निर्णयले दर्जनौं परिवार विस्थापित हुने जोखिम बढेको उनीहरूको चेतावनी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP