विजयनगर, १० बैशाख ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा तथा नेपाल पत्रकार महासंघको समन्वयमा आयोजित कार्यक्रममा स्थानीय नागरिक, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थानीय नागरिकहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, कृषि सेवा, सामाजिक सुरक्षा भत्ता, सरसफाइ तथा अन्य सार्वजनिक सेवा-सुविधासम्बन्धी विभिन्न प्रश्न, जिज्ञासा र गुनासा राखेका थिए । सहभागीहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य संस्थामा औषधी तथा जनशक्ति अभाव, सडक मर्मत, कृषि अनुदान वितरण प्रक्रिया तथा सेवा प्रवाहमा सहजता ल्याउनुपर्ने विषय उठाएका थिए ।
कार्यक्रममा उठाइएका प्रश्न तथा गुनासोमाथि गाउँपालिका अध्यक्ष गोपाल थापाले जवाफ दिए । उनले गाउँपालिकाले सीमित स्रोत-साधनका बाबजुद नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । साथै विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा योजनाबद्ध रूपमा काम भइरहेको जानकारी दिए ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा लगायत सम्बन्धित शाखाका प्रमुखहरूले आ-आफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा स्पष्टिकरण दिएका थिए । शाखा प्रमुखहरूले सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउन सुधारका प्रयास जारी रहेको बताएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरूले राखेका सुझावलाई आगामी नीति, योजना तथा कार्यक्रम निर्माणमा समेटिने जनाइएको छ । गाउँपालिकाले यस्ता कार्यक्रममार्फत जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद हुने, जनगुनासा सुन्ने तथा समाधानका उपाय खोज्ने अवसर मिल्ने जनाएको छ ।
स्थानीयवासीहरूले सार्वजनिक सुनुवाइलाई सकारात्मक कदमको रूपमा लिँदै यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरिनुपर्ने बताएका छन् । गाउँपालिकाले पनि पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धनका लागि आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया