चितवन : नेकपा (माले) को आठौँ महाधिवेशनले महासचिवमा पुनः सीपी मैनालीलाई चयन गरेको छ । महाधिवेशनको बन्द शत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेसँगै आज बसेको पहिलो बैठकले महासचिवमा मैनालीलाई चयन गरेको हो ।
कात्तिक २७ देखि आजसम्म सञ्चालन भएको महाधिवेशनले विधान संशोधन गरी हाल रहेको केन्द्रीय समितिको सङ्ख्या थप गरी ८१ पुर्याएको छ । पुसमा बस्ने मालेको केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागीय जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको मालेका केन्द्रीय सदस्य दीननाथ घिमिरेले जानकारी दिए। महाधिवेशनमा नेपाली क्रान्तिको कार्यक्रमः नयाँ जनवाद् र राजनैतिक प्रतिवेदन महासचिव मैनालीलले प्रस्तुत गरेका थिए।
स्थायी कमिटी सदस्य एनपी आचार्यद्वारा सङ्गठनका सिद्धान्त, डम्बर श्रेष्ठद्वारा पार्टी विधान संशोधन, पार्टी प्रवक्ता कुमार बेलबासेद्वारा पार्टीको तात्कालीन कार्यनीति र दिननाथ घिमिरेद्वारा सङ्गठनात्मक प्रतिवेदन पेश गरेका थिए। पेश गरिएका प्रतिवेदन सुझावसहित पारित गर्ने निर्णय भएको घिमिरेले बताए। महाधिवेशनले अहिलेको बेलायती शैलीको संसदीय प्रणाली नेपालमा असफल भई सकेकाले यसको खारेज गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रप्रमुख बनाउनुपर्ने निर्णय गरेको छ। विधान संशोधन गरी सानो आकारको मन्त्री परिषद्को व्यवस्था हुनुपर्ने भनेको छ।
मालेले विधानमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र विज्ञमन्त्री परिषद् १५ सदस्यीय हुनुपर्ने माग गरेको घिमिरेले जानकारी दिए। संसदीय निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने मालेले विधानमा उल्लेख गरेको छ। विधिको आधारमा दल चल्नुपर्ने, नेपाली मोडलको सङ्घीयता कायम गरी प्रदेश खारेज गर्नुपर्ने मालेको मुख्य माग रहने गरी महाधिवेशन सम्पन्न भएको हो। महाधिवेशनले सात सदस्यीय वरिष्ठ कम्युनिष्ट सदस्य कमिटी गठन गर्ने निर्णयसमेत गरेको छ।
महाधिवेशनपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै महासचिव मैनालीले मालेलाई जनताको पार्टी बनाउने बताए। अहिलेको बाटो सबै कम्युनिष्टको माक्सवादी बाटो रहेको भन्दै उनले गलत सोच लिएर हिँड्नेले देशका लागि काम नसक्ने बताए। नयाँ शक्तिलाई लिएर देश, जनताको आवश्यकताअनुसार देश र जनताले मागेअनुसार परिवर्तन दिने पार्टीको रुपमा मालेलाई अघि बढाउने उनले प्रतिबद्धता व्यक्त गरे।
अहिलेको संसदीय व्यवस्था खारेज गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउन मालेको योजना रहेको उनको भनाइ थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया