कीर्तिपुर : मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारहरू मतदाता रिझाउन व्यस्त छन्।
कीर्तिपुर नगरपालिकामा नगरप्रमुखसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि समेत उपनिर्वाचन हुँदै छ। मङ्सिर १३ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ। त्यसैले यहाँ सबै उम्मेदवार मतदाता रिझाउने अन्तिम प्रयासमा जुटेका छन्। कीर्तिपुर नगरपालिकामा कुल ३१ हजार ११२ मतदाता रहेका छन्।
कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र र विभिन्न दलका गरी जम्मा २० उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ। त्यसमध्ये नौ उम्मेदवार विभिन्न राजनीतिक दल, एक यौनिक अल्पसङ्ख्यक तथा ११ स्वतन्त्र उम्मेदवार छन्। कीर्तिपुर नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार सङ्घीय राजधानीमै रहेको र सबैभन्दा बढी प्रतिनिधि छान्ने स्थानीय तह भएकाले यहाँ सबैको चासो र ध्यान केन्द्रित भएको देखिन्छ।
कीर्तिपुरमा चुनावी माहोल सौहार्द्र रूपमा अघि बढिरेको छ। मुख्य प्रतिस्पर्धा प्रमुख तीन दलबीच मतदातासँगको छलफल र कुराकानीका आधारमा प्रमुख दलबीच नै बढी प्रतिस्पर्धा हुने अनुमान छ। स्वतन्त्र उम्मेदवारको पक्षमा पनि मतदाताको अभिमत जान सक्ने अवस्थालाई नकार्न भने सकिन्न।
नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार कृष्णमान डङ्गोलले बेथिति र विकृति अन्त्य गरी विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए। नेकपा (एमाले)बाट नगरप्रमुखका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले आफू निर्वाचित भएको खण्डमा शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, भौतिकपूर्वाधार, कला, संस्कृति, सङ्गीत, खेलकुद, फोहरमैला व्यवस्थापन, खानेपानी, ज्येष्ठ नागरिक, प्रशासनिक सुधार गर्ने जनता समक्ष प्रतिबद्धता गर्दै मतदाताको घरदैलो गरिरहेको बताए।
यस्तै माओवादी केन्द्रबाट नगरप्रमुखका उम्मेदवार शिवशरण महर्जनले भ्रष्टाचारको अन्त्य र सुशासनलाई मुख्य एजेण्डा बनाउँदै नगरमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायत समस्या समाधान गर्न लागिपर्ने प्रतिबद्धता जनाए। नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का उम्मेदवार दिलकुमार महर्जनले स्वच्छ, सुन्दर र समृद्ध कीर्तिपुर बनाउन तथा नगरक्षेत्रका यावत् समस्या सम्बोधन गर्न आफूले उम्मेदवारी दिएको बताए।
चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा रहनुभएका नेमकिपाका उम्मेदवार श्रीकृष्ण महर्जन देशको स्वाधीनताको रक्षा र जनतालाई माया गर्ने दल भएकाले आफूले सद्भाव पाएको बताए।
स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीले आफूले दलका उम्मेदवारभन्दा राम्रो काम गरेर देखाउने भन्दै मतदाता रिझाउने प्रयासमा रहेको प्रतिक्रिया दिए। बाक्लो बस्ती रहेको कीर्तिपुर क्षेत्रका सडकमा सबैजसो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले सडकमै सभा र र्याली गरी मतदातालाई आफूप्रति आकर्षित गरिरहेका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया