काठमाडौं : सहकारीको बचत रकम अपचलन प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फोटो सामाजिक संजालमा ‘भाइरल’ बनेको छ।
उनी सुतिरहेको अवस्थामा सिसिटिभी फुटेजबाट खिचिएको फोटो केही दिनअघि बाहिरिएपछि यतिबेला भाइरल बनेको हो।
प्रहरी हिरासत संवेदनशील स्थान भएकाले त्यहाँ असम्बन्धित व्यक्ति जान पाउँदैनन्, तस्बिर खिच्नु त परको कुरा। परिवारका सदस्य, पार्टीका नेता र मानव अधिकारकर्मीले समेत भेटका लागि छुट्ट्याइएको निश्चित ठाउँ र समयमा मात्र भेट्न पाउँछन्, त्यो पनि मोबाइल, क्यामेरा लगायतका उपकरण प्रहरीलाई जिम्मा लगाएर मात्र प्रवेश गर्न पाउँछन्। तर, त्यस्तो संवेदनशील स्थानमा सुतेका लामिछानेको फोटो कसरी खिचेर बाहिर ल्याइयो?
प्रहरीले तस्बिरबारे बोल्न नपाउँदै रास्वपा नेताहरूले उक्त तस्बिर सभापति लामिछानेकै भएको दाबी गर्दै सुरुमा एकोहोरो प्रहरीमाथि रोष प्रकट गरे। उनीहरूले सुरुमा प्रहरीले गलत नियतका साथ लामिछानेको फोटो गोपनीयता समेतको ख्याल नगरी बाहिर ल्याइएको भन्दै त्यसको चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए।
तर, बिहीबार उक्त तस्बिरको जिम्मा आफूलाई चिकित्सक एवं अभियान्ता दाबी गर्ने निकोलस भुसालले लिएका छन्। सुरुमा उनले फेसबुकमा स्टाटसमार्फत तस्बिरको पुष्टि गर्नुका साथै त्यो आफूले खिचेको बताउँदै माफी मागेका थिए।
बिहीबार नै फेसबुक लाइभ आएर भुसालले घटनाबारे थप स्पष्ट पारेसँगै यसमा प्रहरीको लापरबाही देखिन्छ। राम्रोसँग चेकिङसमेत नगरी लामिछानेलाई भेट्न कास्की प्रहरीले सहज पहुँच दिएको उनकै भनाइबाट पुष्टि हुन्छ।
भुसालले मंसिर २९ गते बिहान लामिछानेलाई भेट्न जाँदा उक्त तस्बिर खिचेको बताएका छन्। उनले प्रहरीकै अगाडि सिसिटिभी फुटेजमा देखिएका लामिछानेको तस्बिर खिचेको स्पष्ट पारेका छन्।
‘शनिबार बिहान कुराकानी भयो। त्यसरी भेटेर फर्किने क्रममा सिसिटिभीको रुममा बस्दा पुलिसकै अगाडि खिचेको हो। पहिला पहिला पनि हिरासतमा अरूको फोटोहरू देखिरहेकै हुन्थेँ। त्यसकारण खिचेँ। नरामो हिसाबले खिचेको होइन। पुलिस प्रशासनलाई नराम्रो गरौँ भनेर खिचेको पनि होइन’, उनले भनेका छन्, ‘आफैँले गल्ती महसुस गरेर सरी भनेको छु। नखिच्नुपर्ने, खिचियो ! म त्यहाँ जाँदा मोबाइल छोडेर जानुपर्ने हो। तर खासै उहाँहारू (प्रहरी)ले पनि वास्ता गर्नुभएन।’
यो विषय कानुनी सल्लाह र प्रहरीसँग स्वयंले कुरा गरिरहेका भुसालले स्पष्ट पारेका छन्। कानुनअनुसार सजाय बेहोर्नसमेत आफू तयार रहेको उनले बताएका छन्।
आफूलाई हिरासतमा प्रवेश गर्दा कडाइका साथ चेकिङ नगरिएको र मोबाइल लिएर गएको खुलाएका छन्। यससँगै भुसालसहित कास्की प्रहरीमाथि पनि प्रश्न उठेको छ।
प्रहरी हिरासतमा रहेका व्यक्तिमाथि सिसिटिभीबाट निगरानी भइरहने भए पनि यसरी तस्बिर बाहिरिनु र त्यहाँसम्म कसैले पहुँच पाउनु अस्वाभाविक मानिन्छ।
भुसालमाथि कडाइ नगरी सहज प्रवेश पाएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक विश्व अधिकारीले बताए।
उक्त तस्बिर लामिछानेकै भएको पुष्टि गर्दै प्रवक्ता अधिकारीले यसमा सम्लग्न सबैमाथि छानविन गरेर कारबाही हुने बताए।
‘प्रहरी हिरासतमा रहेका व्यक्तिमाथि सिसिटिभीबाट निगरानी हुन्छ नै। तर, त्यसरी अनधिकृत ढंगले फोटो खिच्ने व्यक्ति को हो? घटना किन र कसरी भयो? अनधिकृत व्यक्तिको पहुँच त्यहाँसम्म कसरी पुग्यो? भन्नेबारे पनि अनुसन्धान हुँदै छ। त्यसरी पहुँच दिनेमाथि पनि अनुसन्धान हुन्छ’, उनले थाहाखबरसँग भने, ‘निकोलस भुसालले मैले खिचेको भन्नुभएको छ। उहाँको मात्रै विषय भएन, यसमा संलग्न अरू कोही छ भने पनि त्यसलाई पनि हामीले अनुसन्धानको दायरामा ल्याउँछौँ।’
हिरासतमा कडाइ नगरी निकोलस भुसाललाई प्रवेश दिएपछि अनुसन्धानको सुई भने कास्की प्रहरीतिर सोझिएको छ। कास्की प्रहरी प्रवक्ता एवं डिएसपी वसन्त शर्मा कहाँ कसरी त्यस्तो हुन गयो? भनेर आफूहरू पनि अनुसन्धानकै क्रममा रहेको बताउँछन्।
‘प्रहरीमाथि प्रश्न आएकोले हामीले त्यसमाथि छानविन गर्दैछौँ’, थाहाखबरसँग उनले भने, ‘के कसरी त्यस्तो भयो? त्यस समयमा ड्युटी कसको थियो? कसरी त्यहाँबाट व्यक्तिले प्रवेश पाए? सबै कुरामा हामीले अनुसन्धान गरिरहेका छौँ। त्यसपछि सबै कुरा थाहा हुन्छ। त्यसपछि सबै कुरा थाहा हुन्छ।’
कास्की प्रहरीले हिरासतमा रहेका लामिछानेको फोटो सार्वजनिक गर्ने भुसाललाई कारबाही गर्ने स्पष्ट पारिसकेको छ। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानलाई नकरात्मक प्रभाव पार्ने गरी फोटो प्रकाशित भएको भन्दै संलग्न जोकोहीलाई कारबाही गर्ने उल्लेख छ।
‘प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुनबमोजिम अनुसन्धान तथा कारबाही गरिने र नेपालको संविधान एवं प्रचलित ऐन कानुनबमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिबद्ध रहेको व्यहोरा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
रास्वपामाथि नै आरोप!
सभापति लामिछानेविरुद्ध मुद्दा दायर हुन लाग्दा आमरूपमा दबाब बढाउन रास्वपाकै योजनामा तस्बिर सार्वजनिक भएको आशंका पनि सामाजिक सञ्जालमा व्यक्त भइरहेका छन्।
सत्तारूढ नेकपा एमालेकै महासचिव शंकर पोखरेलले रास्वपाले सामाजिक सञ्जालको स्टन्ट गरेको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालको स्टन्टबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाटै विस्थापित हुने बाटोमा अग्रसर भएको टिप्पणी गरेका छन्।
‘सोसल मिडियाको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएइकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिन्छन्’ उनले भनेका छन्, ‘अति सर्वत्र वर्जयेत्।’
तर, रास्वपा नेताहरू भने यसलाई अस्वीकार गर्छन्। निकोलस भुसाल स्वयंले पनि आफू कसैको आग्रहमा लामिछाने भेट्न नगएको जिकिर गरेका छन्। ‘कसैले भनेर म गएको पनि होइन। कसैप्रति नराम्रो सोचेर त्यसो गरेको पनि होइन’, उनको भनाइ छ, ‘तर गृहमन्त्री भइसकेको मान्छे यस्तो हालतमा बस्नुपरेको छ भन्ने लागेर नराम्रो लाग्यो। यो विषय मैले यसरी बाहिर ल्याउँछु, भाइरल बनाउँछु भनेर खिचेको होइन।’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया