नमीन ढकाल
इलाम : नोबेल पुरस्कार विजेता पूर्वअमेरिकी राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियामा रहेको आफ्नै घरमा निधन भएको हो। कार्टरले १९७७ देखि १९८१ सम्म ३९औँ राष्ट्रपतिको रूपमा सेवा गरेका थिए।
कार्टरलाई अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपतिका रूपमा लिने गरिएको छ। अमेरिकी राष्ट्रपति कार्टर नेपालको सम्बन्ध गहिरो छ। १० वर्षे सशस्त्र युद्ध जारी रहँदा र त्यसपछि शान्ति प्रक्रियामा सघाउन उनको योगदानलाई सदैव स्मरण गरिनेछ। सन् २००४ मा उनको कार्टर सेन्टरले शान्ति प्रक्रियालाई सघाउन गतिविधि गरेको थियो।
अमेरिकालाई माओवादीलाई आतंककारी घोषणा गरेको समयमा कार्टरले शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन निरन्तर सम्वाद गरेका थिए। शान्ति प्रक्रियापछि पहिलो संविधानसभाको निर्वाचन र त्यसपछिको अन्योलतालाई सहजीकरण गर्न एक वर्षको अवधिमा तीनपटक नेपाल भ्रमण गरे।
नेपालले सफलतापूर्वक संविधानसभाको निर्वाचन र संविधानको प्रक्रिया थालनीपछि कार्टरले भनेका थिए ‘राजाको सक्रिय शासन समाप्त भएपछि मैले भ्रमण गर्दा नेपालमा ठूलो उथलपुथल भइरहेको थियो। अन्ततः नेपालमा निर्वाचन सम्पन्न भएपछि जित हासिल गरेका नेताहरूसँग काम गर्न सहज बन्यो।’
कार्टर सेन्टर निर्वाचन ताका नेपालको ७५ वटै जिल्लाका सदरमुकाम मात्र नभएर गाउँगाउँसम्म पुगेको थियो। अमेरिकी सरकारले माओवादी नेतृत्वलाई आतंककारीको दृष्टिकोण हेर्दा कार्टर भने नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुग्नेमा विश्वस्त थिए।
नेपालको शान्ति प्रकियालाई समर्थन गर्न विभिन्न समयमा गरेका काठमाण्डौं भ्रमणका उनका प्रतिवेदन कार्टर सेन्टरको वेबसाइटमा राखिएका छन्।
सन् २००७ को जुनमा गरेको नेपाल भ्रमणको प्रतिवेदनमा कार्टरले माओवादीलाई आतंकवादीको सूचीमा राख्ने एउटा मात्रै मुलुक अमेरिका भएको र त्यसले अमेरिकी कूटनीतिज्ञहरूलाई शान्ति प्रकियामा उपयोगी भूमिका खेल्न बन्देज लगाइरहेको जिकिर गरेका थिए। भ्रमणका क्रममा माओवादीहरूलाई भविष्यमा सरकारमा भूमिका नदिने प्रयासमा अमेरिकी सरकारले राजावादीसहित विभिन्न समूहलाई सहयोग गरिरहेको गुनासो आफूले सुनेको उनले उल्लेख गरेका छन्।
माओवादीहरूलाई सार्वजनिक रूपमा नै कटु आलोचना गर्ने तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले ती आरोप अस्वीकार गरेको उनको भ्रमण प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा लेखिएको छ
‘माओवादीहरूलाई आतङ्ककारीको रूपमा वर्गीकरण गर्ने संयुक्त राज्य अमेरिका मात्र एक राष्ट्र हो र हाम्रा कूटनीतिक प्रतिनिधिहरूलाई शान्ति प्रवर्द्धनमा रचनात्मक भूमिकाबाट वञ्चित गरिएको छ।
हाम्रो सरकारले माओवादीलाई भावी सरकारमा भूमिका खेल्न नदिनका लागि राजाप्रति बफादार रहेका केही असन्तुष्ट समूहलाई सहयोग गरिरहेको छ भन्ने मेरो भेटघाटमा धेरै आरोप लागेका थिए। राजदूत मोरियार्टी (जेम्स मोरियार्टी) ले यसलाई अस्वीकार गर्छन्, तर माओवादीहरू (जसलाई केही नेपालीहरूले स्वागत गरेका छन्) को सार्वजनिक निन्दामा निरन्तर छन्।’
कार्टरको टिप्पणीको करिब ५ वर्षपछि सन् २०१२ सेप्टेम्बरमा अमेरिकी सरकारले शान्ति र मेलमिलाप प्रक्रिया अघि बढाउने विश्वासका साथ माओवादीलाई आतंककारीको सूचीबाट हटाएको थियो।
सन् २००७ को नोभेम्बर २२ का लागि तोकिएको संविधान सभाको चुनाव स्थगित भएपछि कार्टर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माओवादी नेता प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालको संयुक्त निम्तोमा काठमाडौं आएका थिए। चुनावअघि नै राजतन्त्र अन्त्यको घोषणा गर्नुपर्ने र समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने विषयको विवाद चरमोत्कर्षमा थियो।
माओवादीको अडानलाई संसदमा अप्रत्याशित बहुमत आएपछि तत्कालीन प्रधानमन्त्री कोइराला असन्तुष्ट देखिए पनि सहमति प्रक्रिया भए पनि नभए पनि निर्वाचनको मिति तोक्ने अवस्थामा प्रधानमन्त्री रहेको कार्टरले उल्लेख गरेका थिए।
कार्टरले त्यसबेला पछि संविधान सभाको साधारण बहुमतले अनुमोदन गर्ने गरी अन्तरिम संसद्ले गणतन्त्र घोषणा गर्न सक्ने र संविधान सभाको कुल सिट संख्याको ७० प्रतिशत समानुपातिक र ३० प्रतिशत प्रत्यक्ष चुनिने निर्वाचन प्रणाली अवलम्बन गर्न सुझाव दिएका थिए।
त्यसबेला पहिलो संविधासभाको बैठकको साधारण बहुमतले राजतन्त्र अन्त्यको घोषणा गर्नेगरी ६० प्रतिशत समानुपातिक र ४० प्रतिशत प्रत्यक्ष अनि २६ जना मन्त्रिपरिषद्ले मनोनीत गर्नेगरी ६०१ जना सदस्य रहेको संविधानसभाको चुनाव गर्न दलहरूबीच सहमति भएको थियो। उक्त खाकामा सहमति भएपछि दुईपटक स्थगित भइसकेको संविधानसभाको चुनाव सम्भव भएको थियो।
चुनावको अनुगमन गर्ने उद्देश्यले कार्टरले सन् २००८ अप्रिल ६ देखि १४ सम्म काठमाडौं भ्रमण गरेका थिए। कार्टरलाई माओवादीले निर्वाचनमा पराजय भोगेको खण्डमा हतियार उठाउने चिन्ता समेत रहेको थियो। तर प्रारम्भिक नतिजाले माओवादी स्पष्ट मतका साथ निर्वाचन जित्ने संकेत देखिएको उनको भ्रमण प्रतिवेदनमा उल्लेख छ।
आफूहरूले माओवादीका शीर्ष नेतालाई चुनावी जितलाई लिएर दम्भ व्यक्त नगर्न, अरू दलहरूप्रति पनि फराकिलो दृष्टिकोण राख्न र गठबन्धन सरकार बनाउने विगतको प्रतिबद्धता पालना गर्न सुझाव दिएको कार्टरले उल्लेख गरेका छन्।
शान्ति प्रक्रियाको अनुगमन गर्न नेपालमा खटिएको राष्ट्रसंघीय मिसन (अनमिन) सन् २०११ को जनवरीमा फिर्ता भए पनि कार्टर सेन्टर अन्तराष्ट्रिय पर्यवेक्षण संस्थाका रूपमा नेपालमा खटिएकै थियो। सन् २०१३ को अप्रिलमा मा दोस्रो संविधान सभा चुनाव र करिब २ दशकसम्म हुन नसकेको स्थानीय चुनावको वातावरण तयार पार्न कार्टरले फेरि नेपालको भ्रमण गरेका थिए।
प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष रहेका बेलाको उक्त भ्रमणमा उनले निर्वाचन बहिष्कार गर्ने नेता मोहन वैद्यलाई समेत भेटेका थिए। त्यसक्रममा वैद्यले आफूहरूको विरोध शान्तिपूर्ण रहेको र अन्य नेताहरूसँग छलफल गर्ने एवम् हिंसात्मक गतिविधि नगर्ने प्रतिबद्धता जनाएको उनले उल्लेख गरेका छन्।
दोस्रो संविधानसभा चुनावको अनुगमन गर्न आएका कार्टरले त्यसबेला नेपालका धेरै नागरिकले सबै दलका नेताप्रति भरोसा गुमाएको र नेताहरूले आफ्नो जिम्मेवारी वहन गर्नुको सट्टा शक्ति र प्रभावमा ध्यान दिएको ठान्ने गरेको आफूले पाएको आफ्नो भ्रमण प्रतिवेदनमा लेखेका छन्।
दोस्रो संविधान सभाको चुनावमा कुल मतदातामध्ये करिब ७० प्रतिशत मत खसेको थियो। तर चुनावको प्रारम्भिक परिणामले आफ्नो पराजयतर्फ संकेत गरेपछि तत्कालीन एकीकृत माओवादीले मतगणना बहिष्कार गरेको थियो। त्यसबेला माओवादी नेता प्रचण्डले चुनावमा धाँधली भएको दाबी आफूसँग गरेको सम्झँदै कार्टरले प्रकियामा रहन र चुनावी तथा अदालती प्रकियाबाट आफ्ना असन्तोषको शान्तिपूर्ण समाधान खोज्न सुझाव दिएको उल्लेख गरेका छन्। दोस्रो चुनावबाट चुनिएको संविधान सभाले सन् २०१५ को सेप्टेम्बरमा नयाँ संविधान जारी गरेको थियो।
पूर्वराष्ट्रपति कार्टरले सार्वजनिक रूपमा नै नेपालप्रति आफ्नो गम्भीर रुचि र चासो रहेको उल्लेख गर्ने गरेका छन्। चिकित्सकहरूले मस्तिष्क र कलेजोमा देखिएको क्यान्सरको उपचार गरिरहँदा सन् २०१५ मा उनले झण्डै ८ हजार माइलको यात्रा तय गरी नेपालमा ह्याबिट्याट फर ह्युमानिटीका निम्ति घरहरू बनाउन चितवनको भ्रमण गर्ने घोषणा गरेका थिए। कार्टरले चितवनको रत्ननगर नगरपालिकामा झुपडीमा बस्दै आएका १०० दलित परिवारलाई स्थायी आवासको साथ प्रतिस्थापन गर्ने लक्ष्य राखेका थिए।
कार्टर सेन्टर एटलान्टामा पत्रकार सम्मेलन गर्दै उनले भनेका थिए ‘म अझै पनि (नेपाल जाने) आशा गर्छु। यसका लागि काठमाडौंबाट चितवन क्षेत्रमा हवाइजहाजको उडान हुनेछ र यदि मैले त्यसो गरेमा म मेरो तालिकाबाट बुझ्छु। मेरो अन्तिम उडान पाँच हप्तापछि सार्नुपर्छ। त्यसैले मैले विचार गर्नुपर्ने कुरा हो। यदि म गइन भने, मेरो बाँकी परिवार मेरो ठाउँ लिन जानेछन्।’
तर त्यसबेला संविधान जारी भएपछि सीमा क्षेत्रमा भएका अवरोधका कारण उत्पन्न मानवीय संकटलाई ध्यान दिएर उक्त भ्रमण रद्द गरिएको थियो। बाहालवाला राष्ट्रपतिको हैसियतमा दोस्रो कार्यकालका लागि चुनाव लड्दा पराजित हुने एकाध अमेरिकी नेतामा कार्टर पनि पर्छन्।
राष्ट्रपतिको पदबाट अलग भएपछि खासगरी विश्व शान्ति र स्वास्थ्यका क्षेत्रमा कार्टर तथा उनकी श्रीमती रोजालिनले गरिरहेको कामको धेरै अमेरिकीहरूले मुक्त कण्ठले प्रशंसा गर्ने गरेका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया