काठमाडौँ : भीभीआईपी र भीआईपीहरू मुछिएका दर्जनौँ ठूला भ्रष्टाचार र आपराधिक प्रकरणले जेलिएको देशलाई यति वेला फेरि अर्को त्यस्तै प्रकरणले थिचेको छ। नक्कली भुटानी शरणार्थी प्रकरण ताजा गराउने गरी अहिले बहालवाला गृहमन्त्री एवं संसद्कै ठूला दल नेपाली कांग्रेसका नेता रमेश लेखक जोडिएको प्रकरण बाहिरिएको हो।
त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसाको सेटिङमा करोडौं असुल्ने गरिएको र त्यसको सम्बन्ध गृह मन्त्रालयसम्म रहेको अख्तियारको प्रारम्भिक छानबिनमा खुलिसकेको छ। योसँगै गृहमन्त्री लेखकको चौतर्फी आलोचना मात्र होइन, उनको राजीनामा नै माग भइरहेको छ।
तर मन्त्री लेखकले राजीनामा दिएर छानबिनमा सघाउने छाँटकाँट देखाएका छैनन्। न कांग्रेसले फिर्ता बेलाएको छ, न त प्रधानमन्त्रीले बर्खास्त गर्ने आँट नै गरेका छन्। आफू नेतृत्वको सरकार नै धर्मराउने भएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली चुपचाप छन्।
गृहमन्त्री लेखक तिनै हुन् जसले कुनै वेला तत्कालीन गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा प्रश्न उठ्दा नैतिकताको पाठ पढाउँदै र संसद्को इतिहास सम्झाउँदै राजीनामा मागेका थिए।
अहिले मानव तस्करी जस्तो गम्भीर अपराधमा आफ्नो नाम जोडिँदा समेत लेखक पदमा टाँसिएर बसेका छन्। बरु उनी आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगबाट झूटो प्रचारबाजी भएको भन्दै संसद्मा जवाफ दिएर टार्ने प्रयासमा देखिन्छन्।
शनिबार (जेठ १० गते) साँझ सिंहदरबारमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लेखकले आफ्नो संलग्नता पुष्टि भएको अवस्थामा मात्र राजीनामा दिने बताए। उनले बरु कर्मचारीमाथि प्रश्न उठाइँदा मन्त्रीले राजीनामा दिने पद्धति बसाउने हो भन्दै प्रतिप्रश्न गरे।
‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढंगबाट झूटो प्रचारबाजी भइरहेको छ। म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु। १३ गते सम्मानित सदन प्रतिनिधिसभामा बोल्नका लागि मैले समय माग गरिसकेको छु, अरू विस्तृत कुरा म प्रतिनिधिसभामा भन्छु। गृह मन्त्रालय यत्रो ठूलो मन्त्रालय छ, लाखौँलाख कर्मचारी छन्। त्यसमा संवैधानिक निकाय अनुसन्धान गर्नका लागि सक्षम निकायले कुनै पनि वेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु गर्न सक्छ। कुनै पनि कर्मचारीका माथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो ? के त्यही पद्धति बसाउने हो ? त्यो सम्भव छ ? आजसम्म त्यस्तो भएको छ ?’
मन्त्री लेखकले शनिबार नै गृह मन्त्रालयलाई आफ्नो बचाउमा विज्ञप्ति जारी गराएका छन्। गृहले सार्वजनिक बिदाको दिन शनिबार विज्ञप्ति जारी गर्दै कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्री लेखकको संलग्नता नरहेको दाबी गरेकाे छ।
त्यसो त गृहमन्त्री लेखकको पार्टी कांग्रेस पनि उनको बचाउमै लागेको देखिन्छ। तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध संस्थागत रूपमै खनिएर राजीनामा र संसदीय छानबिन माग गर्ने कांग्रेस नेताहरू अहिले धेरैजसो लेखको मौन बचाउमा छन् भने मुख खोल्नेहरूले दायाँबायाँ नसोची उनको बचाउ गरेका छन्।
कांग्रेस नेता कृष्ण सिटौलाले कर्मचारीमाथि सारा दोष थोपर्दै गृहमन्त्री लेखक चोख्याउने प्रयास गरे। कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको उनी बताउँछन्।
आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताए। ‘विगतमा मन्त्रीहरूमाथि नै कुरो उठेकाले राजीनामा दिए पनि अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकाले केही समय पर्खिनुपर्छ’, उनको भनाइ छ।
यस मामिलामा बरु संस्थापन इतर समूहले कांग्रेसकाे इज्जत धान्ने काम गरेकाे छ। शनिबार विराटनगरमा नै संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाले भने गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने मत राखेका थिए। प्रश्न उठिसकेपछि राजीनामा दिएर छानबिनमा सघाउँदा गृहमन्त्रीकै नैतिकता उचो हुने उनको सुझाव छ।
‘रमेशजीको कुरा उठेपछि नैतिकताको आधार राजीनामा दिएर छानबिन गर्नुस् तपाईँहरू भने भइहाल्यो नि, गृह मन्त्रालय त उहाँकै मातहतमा त छ नि’, उनले भने, ‘उहाँले नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरेँ। छानबिन समिति बनाउनुस् गर्नुहोस् भने भइहाल्यो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ।’
इतर समूहकै सांसद राजेन्द्र बजगाईँले सभापति देउवालाई पत्र लेख्दै भ्रष्टाचारको आरोप लागेका मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । ‘पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धिकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गरियोस्’, उनले पत्रमार्फत भनेका छन्।
गृहमन्त्री लेखक मुछिएका यस प्रकरणमा कांग्रेस अन्य नेताहरूले भने मुख खोलेका छैनन्। अन्य दलका नेतामाथि प्रश्न उठ्दा सबैभन्दा पहिला अनुसन्धानको माग गर्ने कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने गृहमन्त्री लेखकका विषयमा हालसम्म मौन छन्। उनीहरूले सामाजिक सञ्जालमा पनि कुनै प्रतिक्रिया जनाएका छैनन् ।
गृहमन्त्री लेखक कांग्रेस-एमाले गठबन्धन निर्माणको सूत्रधारमध्ये एक हुन्। उनी पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन्।
गृहमन्त्री लेखक मुछिएका यो प्रकरणमा औपचारिक धारणा सार्वजनिक नगरेकाे कांग्रेसले पदाधिकारी बैठक भने बाेलाएकाे छ। सोमबार बिहान बस्ने गरी सभापति देउवाले बाेलाएका उक्त पदाधिकारी बैठकमा छलफल हुने बुझिएकाे छ।
विपक्षी दलहरू जोड– पदबाट राजीनामा
संगठित तथा संस्थागत असुलीमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा नै दिनुपर्नेमा विपक्षी दलहरूले जोड दिइरहेका छन्। आफ्नो पार्टी सभापति रवि लामिछाने गृहमन्त्री हुँदा चर्को विरोध गरेका लेखकविरुद्ध अहिले रास्वपाका लागि बदला लिने मौका बनेको छ।
रास्वपाले औपचारिक रूपमै धारणा सार्वजनिक गर्दै तत्काल राजीनामा दिएर छानबिनमा सघाउनुपर्नेमा जोड दिएको छ। रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाद्वारा जारी विज्ञप्तिमा राजनीतिप्रतिको घृणाको कारण नबन्नका लागि पनि राजीनामा दिनुपर्ने उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा प्रश्न उठिसकेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ भनेर विभिन्न दृष्टान्त सम्झाउनुभएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदमा राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं। साथै यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सुझाव दिन्छौं।’
प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही प्रकरणलाई जोडेर वर्तमान सरकार नै भ्रष्टाचारीको हित गर्नेतिर लागेको टिप्पणी गरेका छन्। पार्टीको जागरण अभियानअन्तर्गत बागलुङ बजारमा आयोजित कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले सरकार भ्रष्टाचारीहरूको संरक्षण र दलालहरूको हित गर्नेतिर लागेको टिप्पणी गरेका हुन्।
‘अहिले म सुन्दै छु विमानस्थल भन्सारमा लाखौँ–करोडौँको घोटाला हुने गरेको छ। म प्रधानमन्त्री र नारायणकाजी गृहमन्त्री भएका वेला हामीले एकपछि अर्को नीतिगत निर्णय गर्दै टाइट गर्दै लगेका थियौँ। अहिले एउटै रुटबाट सरकारको हातमा ५०औँ लाख गइरहेको छ भ्रष्टाचारको रूपमा’, उनले भने, ‘यो स्थिति भएपछि कसरी आर्थिक स्थितिमा सुधार हुन्छ ?थाहा खबर’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया