Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

पृथ्वीको सन्तुलन कायम राख्ने नौ ग्रहका सीमामध्ये सात मान्छेले पार

 

एजेन्सी : पृथ्वीको सन्तुलन कायम राख्ने नौ ग्रहका सीमामध्ये सात मान्छेले पार गरिसकेको छ।

जर्मनीको पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पीआइके) ले प्रकाशित गरेको ‘प्लानेट हेल्थ चेक २०२५’ नामक रिपोर्टमा “यदि हाम्रो ग्रह अस्पतालको एउटा बिरामी हुन्थ्यो भने त्यो अहिले आइसियू (इन्टेन्सिभ केयर युनिट) मा भर्ना हुन पुग्थ्यो” भनिएको छ।

‘धेरै प्यारामिटरहरू अहिले सामान्य दायराभन्दा बाहिर छन् अर्थात् खराब परिस्थितिमा पुगेको छ र पृथ्वी नामको बिरामी खतरामा छ’ पीआईकेका वैज्ञानिक एवं रिपोर्टका प्रमुख लेखक बोरिस साक्साचेभ्स्की भन्छन्। बिरामीमा एकै समयमा धेरै गम्भीर समस्या भएजस्तै पृथ्वीले झेलिरहेको प्रत्येक समस्या आफैंमा खतरनाक अवस्थामा रहेका उनी बताउँछन्।

अनुसन्धानकर्ताहरूले “प्लानेटरी हेल्थ चेक” मानक सन् २००९ मा विकास गरेका थिए। यो प्लानेटरी बाउन्ड्री (पृथ्वीको सुरक्षित प्राकृतिक सीमाहरू) को अवधारणामा आधारित छ। यसले मान्छेले कसरी पृथ्वीमा आवश्यकता भन्दा बढी बोझ राख्नबाट जोगिनुपर्छ भनेर वर्णन गर्दछ।

अनुसन्धानकर्ताहरूले यस्ता नौ सीमाहरू पहिचान गरेका छन्, जुन पार गर्दा पृथ्वीको जीवन–समर्थन प्रणालीलाई खतरामा पार्न सक्छ। यसका साथै मानव जीवनको जगलाई पनि क्षति पुर्‍याउन सक्छ।

सन् २००९ सम्म नौमध्ये तीन सीमा पार भइसकेका थिए। त्यसपछि २०१५ सम्म र सन् २०२३ मा यो संख्या बढेर ६ पुगेको थियो । अहिले पीआईकेले जनाएअनुसार नौ सीमामध्ये सात पार भइसकेको छ।

जीव मण्डल : कोड रेड

बायोस्फियरमा पृथ्वीको सम्पूर्ण सतह समावेश छन्, जहाँ जमिन र पानी दुवैमा जीव–जन्तु र बोटबिरुवाहरू बस्छन्।

वैज्ञानिकहरूले पृथ्वीको स्वास्थ्यलाई दुई सूचकद्वारा मापन गरेका छन्। यसको उत्पादकत्व कति छ ? र मानव शोषणपछि कति प्राकृतिक भाग बाँकी छ? भनेर मापन गरिन्छ।

यो अवस्था जलवायु परिवर्तनभन्दा पनि खराब भइसकेको छ। जीवनलाई बचाइराख्ने प्रजातिहरू विलुप्त हुनु र प्राकृतिक पारिस्थितिकीय प्रणालीको विनाश हुनुले सुरक्षित दायराभन्दा धेरै पर पुर्‍याइदिएका छ र तत्काल यसमा सुधारको कुनै संकेत पनि देखिंदैन।

बिग्रिएको जैविक–भू–रासायनिक चक्र

पछिल्लो, १०० वर्षमा मान्छेले भारी मात्रामा पशुपालन, रासायनिक मल, र उद्योग र यातायातमा दोहनको मात्रा बढाएर प्रकृतिमा नाइट्रोजनको मात्रा लगभग दोब्बर बनाइदिएका छन्।

नाइट्रोजन सबै जीवको वृद्धि र अस्तित्वको लागि आवश्यक छ तर आवश्यकताभन्दा धेरै (अत्यधिक) प्रयोगले धेरै नकारात्मक प्रभाव पार्छ। प्रायः बोट बिरुवाहरूले धेरै नाइट्रोजन सोस्न सक्दैनन्। यो जमिनको पानीमा चुहिन्छ र नदी र तालहरूमा बग्छ अनि समुद्री तटलाई प्रदूषित गरिदिन्छ।

त्यहाँ यसले केही प्रकारका लेउको वृद्धिलाई बढावा दिन्छ, जसले पानीमा अक्सिजनको अभाव निम्त्याउनुका साथै त्यहाँको सम्पूर्ण जीवन नष्ट हुन सक्छ। जमिनमा पनि द्रुत गतिमा बढिरहेका बोटबिरुवाहरूले कम पोषक तत्त्व भएको परिस्थितिमा बाँच्नका लागि अनुकूलित हुने प्रजातिलाई पछाडि पार्छन्।

यसैगरी फस्फोरस पनि मलको रूपमा प्रयोग गरिन्छ। आवश्यकताभन्दा धेरै पोषक तत्वले जैविक विविधतालाई घटाउँछन् र सम्पूर्ण पारिस्थितिकीय प्रणालीलाई अस्थिर बनाउँछन्। यो सीमा खतराको स्तरभन्दा बाहिर गइसकेको छ, अर्थात्, यस ‘ग्रह स्वास्थ्य सूचक’ को स्थिति हो : कोड रेड।

नयाँ रासायनिक पदार्थको बोझ

मानवताले आज लगभग ३ लाख ५० हजार नयाँ पदार्थ सिर्जना गर्दै फैलाइरहेको छ। तिनीहरूले प्राकृतिक प्रक्रिया परिवर्तन गर्छन् र जैविक जीवन जस्ता प्राकृतिक वासस्थानलाई खतरामा पुर्‍याउँछ।

नीलो ह्वेल होस् वा ब्याक्टेरिया, मुख्य गरी मात्र ६ तत्व ( हाइड्रोजन, कार्बन, नाइट्रोजन, अक्सिजन, फस्फोरस र सल्फर) ले नै बनेको हुन्छ। मान्छेले थपेका नयाँ रसायन हरू पृथ्वीको प्रत्येक तहमा घुसेका छन् र यसको अप्रत्यासित प्रभाव देखिएको छ।

पिउने पानीमा माइक्रो प्लास्टिक भेटिरहेका छन् । माछामा डिडिटी नामक कीटनाशक पाइने गरेको छ।

फरएभर केमिकल्स भनिने पिउफएएस अर्थात् यस्तो रसायन जुन कहिल्यै टुट्दैनन्। यसले मानिस र जनावरको हर्मोन प्रणालीलाई प्रभावित गरेको छ। यो जर्मनीको उत्तरी र बाल्टिक सागरको तट रेखामा रहेको समुद्री फोममा पनि फेला परेको छ।

एउटा मात्रै अतिरिक्त रसायनले पनि विश्वव्यापी स्तरमा गम्भीर परिस्थिति निम्त्याउन सक्ने साक्साचेभ्स्की बताउँछन्। ‘हरेक वर्ष हजारौं नयाँ रसायन परीक्षणबिना नै वातावरणमा छोडिँदै छन्’, उनले भने ‘वातावरण संरक्षणका लागि तत्काल कदम उठाउन र अन्ताराष्ट्रिय नियम बनाउन अत्यन्त आवश्यक छ।’

जलवायु परिवर्तन : बढ्दो तापक्रम
जलवायुको अवस्था पनि अहिले खतरामा छ। हरितगृह (ग्रीन हाउस) ग्यासको स्तर उच्च तहमा पुगेको छ। विश्वव्यापी तापक्रम द्रुत गतिमा बढ्नु सबैभन्दा चिन्ताजनक र चुनौतीपूर्ण बनेको छ।

विश्वव्यापी तापक्रम पनि मानव निर्मित हरितगृह ग्यासहरू, जस्तै कार्बनडाइअक्साइडको कारणले बढ्छ।

ताजा पानी स्रोत : कोड ओरेन्ज

​जल स्रोतहरू र माटोको आर्द्रतामा मानवीय कृयाकलापको प्रभाव द्रुत गतिमा बढ्दै छ। यसको मुख्य कारण कृषिमा सिँचाइ, उद्योगमा पानीको प्रयोग, घरेलु खपत र मानिस द्वारा प्रेरित जलवायु परिवर्तन हो।

यसबाट पानीको उपलब्धता अस्थिर बन्दै गइरहेको छ। लामो र नियमित रूपमा हुने खडेरी र आकस्मिक बाढीको जोखिम पनि बढ्दै गइरहेको छ। अहिले कुल जमिनको पाँच भागभन्दा बढी भागले खडेरी, पानीको बहाव र माटोको ओसिलोपनमा ठूला परिवर्तनको सामना गरिरहेको छ।

भूमि प्रयोगको अवस्था

पृथ्वीमा बढ्दो बोझ (भार) को असर जमिनमा अझ बढी छ। मान्छेले प्राकृतिक प्रणालीहरूमा वृहत् हस्तक्षेप गरिरहेका छन्।

उदाहरणका लागि खेतिपातीका लागि जमिन तयार गर्ने, चरन क्षेत्र बढाउने र रूखहरूको कटान तीव्र बढेको छ। यसका अलावा, जलवायु परिवर्तनले ताजा पानीको उपलब्धतामा परिवर्तन ल्याइरहेको छ र जैविक क्षेत्रको क्षयले पनि यसमा गम्भीर प्रभाव पारिरहेको छ।

यद्यपि वन फँडानीको दर सुस्त भएको छ, तर विश्व भरको कुल वन क्षेत्र अझै पनि द्रुत गतिमा घटिरहेको तथ्याङ्कहरूले देखाउँछन्। हाल विश्वव्यापी वन क्षेत्र ६० प्रतिशतभन्दा कम छ।

यो ७५ प्रतिशतको सुरक्षित न्यूनतम स्तरभन्दा धेरै तल छ। यस अवस्थामा यदि अवस्थित वन क्षेत्र ५४ प्रतिशतभन्दा तल गयो भने, ‘हामी उच्च जोखिमको स्थितिमा पुग्नेछौँ।’

​महासागरहरूको अवस्था

विश्वभरका महासागरले मान्छेले छाडेका कार्बनडाइअक्साइडको एक चौथाइभन्दा बढी सोस्छन्। यसले गर्दा कार्बनले प्रत्यक्ष रूपमा जलवायुलाई तातो बनाउँदैन तर यो कार्बोनिक एसिडमा परिणत हुन्छ।

यसले प्राकृतिक पिएच स्तर घट्छ र महासागर अम्लीकरणको सिकार हुन्छन्। पानी जति अम्लीय हुन्छ, कोरल र शंखधारी जीवलाई आफ्नो क्याल्सियम खोल बनाउन त्यति नै गाह्रो हुन्छ।​साक्साचेभ्स्कीका अनुसार महासागरहरूले विभिन्न ग्रह सीमाहरू कति अन्तरसम्बन्धित छन् भनेर देखाउँछन्।

दुई सीमा अझै सुरक्षित

नौमध्ये सात सीमा पार भइसके पनि सबै कुरा नकारात्मक भइसकेको भन्ने होइन। वैज्ञानिकहरूका अनुसार दुई ग्रह सीमाहरू अझै पनि सुरक्षित स्तरमा छन्। वायु प्रदूषण निरन्तर घट्दै गइरहेको छ र हानिकारक अन्तरिक्ष विकिरणबाट हामीलाई बचाउने ओजोन तह पनि निरन्तर सुधार हुँदै छ।

ओजोन तहको पुनः प्राप्तिले, नकारात्मक प्रवृत्तिहरूलाई समयमै सही कदम चालेर उल्टाउन सकिन्छ भनेर देखाउँछ। जब क्लोरोफ्लोरोकार्बनले ओजोन तहलाई क्षति पुर्‍याउँदैछ भनेर थाहा भयो, समयमै मोन्ट्रियल प्रोटोकल अन्तर्गत यसको प्रयोगलाई विश्वव्यापी रूपमा प्रतिबन्ध लगाइएको थियो।

तर त्यो अवस्थामा केवल एउटा रसायन संलग्न थियो र छिट्टै त्यसको विकल्प पनि फेला परेको थियो । हालका खतरा भने त्यो अवस्थाको भन्दा धेरै जटिल रहेको सक्साचेभ्स्की बताउँछन्। यद्यपि, प्लानेटरी बाउन्ड्रीबीचको गहिरो सम्बन्धले हामीलाई अवसर पनि दिन्छ।

‘यदि तपाईंले कार्बन सिंकको जस्ता वर्षा वन जोगाउन सफल हुनुभयो भने, माटोको ओसिलोपन, ताजा पानी प्रणाली, जलवायु र बायोस्फीयरलाई पनि जोगाउन सक्नुहुन्छ। यसका लागि पृथ्वीको नेटवर्क प्रणाली बुझ्नु आवश्यक छ’‚ साक्साचेभ्स्की भन्छन्।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP