तुलसीपुर : पछिल्लो समय प्रविधिको प्रयोगसँगै परम्परागत बाजा मादलको प्रयोग घट्दै गएको छ। यसले केवल सांस्कृतिक मूल्य होइन, यो पेशासँग जीवन बिताइरहेका बादी समुदायको पहिचानमा पनि असर पार्न थालेको छ। कच्चा पदार्थको अभाव र बजार नपाउँदा यो पेशा लोप हुने अवस्थामा पुगेको उनीहरूको गुनासो छ। जिल्लाका विभिन्न ठाउँमा अहिले पनि बादी समुदायले मादल बनाउने परम्परा जोगाइरहेका छन्।
घोराही– १७ पचुर्काका चित्रे बादी १२ वर्षको उमेरदेखि मादल बनाउँदै आएका छन्। विगतमा मादल बनाएर राम्रो आम्दानी भए पनि अहिले दैनिकी चलाउन कठिन भएको उनले बताए। बाउबाजेले यही पेशा गरेको र उनीहरूसँग नै आफूले सिकेर यही काम गर्दै आएको उनले बताए। यसैगरी उनले आफू रहँदासम्म मात्र यो पेशामा रहेन समेत बताए।
उनले भने, ‘छोराहरूले यो सीप सिक्न चाहेनन्, एउटाले कपडा सिलाउने काम गर्छ, अर्को विदेशमा गाडी चलाउँछ। उनीहरू त्यसै पेशामा रमाएका छन्। फेरि पछिल्लो समय मादलको पनि खासै माग हुँदैन। जसले गर्दा पनि यो सीप सिकेर जीवन चलाउन सकिन्न, त्यो भएर पनि मैले उनीहरूलाई यो सीप सिक्न बल गरिनँ।’
पछिल्लो समय नयाँ मादल किन्नभन्दा पनि पुराना मादल बनाउन आउने गरेको उनको भनाइ छ। कुनै समय लाखसम्म आम्दानी हुने गरेको अवस्थामा अहिले एक सिजनमा ३०-४० हजार मात्र आम्दानी हुने गरेको उनले बताए। यस्तै उनले मादलको बिक्रीमा कमी मात्र नभई बनाउने कच्चा पदार्थ काठ, छाला, खरी जस्ताको समस्या हुने गरेको बताए। उनले भने, ‘पहिला जङ्गलबाट प्रशस्त रूख ल्याएर बनाउन सकिन्थ्यो, अहिले रूख काट्न पाइँदैन। फेरि मादलका लागि छाला आवश्यक पर्छ, पछिल्लो समय मानिसहरूलेले पशुचौपाया पाल्न छाडेका छन्। यसले गर्दा सहज रूपमा पाइँदैन।’
उनका अनुसार कुनै समय गाउँघरमा पूजापाठ, विवाह जस्तामा रातभर नाचगान हुन्थे। त्यो बेला मादल प्रयोग हुन्थ्यो। अहिले त्यो पनि कम हुँदै गएको छ भने तिज, तिहार लगायत पर्वमा पनि मादलको बढी प्रयोग हुन्थ्यो, सबै अहिले डेक (साउण्ड सिस्टम) मा नाच्न थाल्छन् अनि कसरी मादलको माग हुन्छ। यस्तै उनले आफूले अहिलेसम्म संरक्षण गर्दै आएको सीपको बचाउन जरुरी रहेको भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने बताए।
उनका अनुसार मादलमा प्रयोग हुने काठ खोल्नका लागि आधुनिक मेसिन, छाला लगायत कच्चा पदार्थको व्यवस्था र नयाँ पुस्तालाई यो सीप सिकाएर यसैबाट आत्मनिर्भर बनाउन ध्यान दिनुपर्छ, नत्र भने यो पेशा नै हराउनेछ।
तुलसीपुर–७ नयाँ बस्तीमा करिब ३०-४० घर बादी समुदाय बस्छन्। अहिले मुस्किलले ४ देखि ५ घरमा मात्र मादल बनाउँछन्। यही बस्तीकी पवित्रा नेपालीले करिब तीन वर्ष सिकेर १६ वर्षदेखि मादल बनाउँदै आएकी छन्। उनका अनुसार अन्य काम गर्नुभन्दा यो सीप सिकेर आफ्नो जिविकोपार्जन गर्न सकिन्छ भनेर लागेको र करिब ढेड लाख लगानी गरेर अहिले आफूले मादलको पसल नै खोलेको बताइन्।
उनले भनिन्, ‘घरमा ३ जना मात्र छौँ, एकजनाले घरमा काम गर्ने। छोरा पढ्दै छ। छोरालाई यो सीप सिकाउनुभन्दा पढाएपछि केही बनोस् भनेर मैले मात्र सिकेकी हुँ ! उनका अनुसार अहिले तीन हजारदेखि पच्चीस हजार रुपैयाँसम्मका मादल बनाउँछिन्। उनले भनिन्, ‘मेरो परिवारमा अरू कसैलाई मादल बनाउन आउँदैन, मैले मात्र यो सीप सिकेकी छु। यो काम एकदमै गाह्रो काम हो।’
एउटा ३ हजारको मादल बेच्दा त्यसमा आफ्नो मेहनत बाहेक १ हजार पाँच जतिको सामान लाग्ने उनको भनाइ छ। एउटा मादल तयार गर्न कम्तिमा २ दिन समय लाग्ने उनले बताइन्। उनका अनुसार विगतमा भन्दा पछिल्लो समय मादलको माग कम हुँदै गएको छ। उनले मादल बनाउन कच्चा पदार्थको समस्या रहेको बताइन्। उनका अनुसार प्रदेश सरकारले मादल बनाउनको लागि मेसिन उपलब्ध गराएको छ।
पछिल्लो समय लोकसंस्कृति नै लोप हुँदै गएको अवस्थामा लोकसङ्गीतसँग सम्बन्धित परम्परागत सामग्री हराउँदै गइरहेको संस्कृतिविद् डा. गोविन्द आचार्यले बताए। यस्तो हुनुको मुख्य कारण भनेको हामीकहाँ विदेशी वा पश्चिमा बाजाहरू प्रयोग हुन थालेपछि र मौलिक गीत हराउन थालेपछि हो। यस्तै उनले पछिल्लो समय मादल बजाउने काम बढेको भन्दै मादल बनाउनेहरूले निकै समस्या भोगेका कारण पनि युवापुस्ताले यो सीप नसिक्दा पेशा नै हराउने अवस्था भएको बताए।
उनले भने, ‘अहिले पनि मादल बनाउने व्यक्तिहरूले सहजै काठ, छाला जस्ता कच्चा पदार्थ पाउँदैनन्। युवापुस्ताहरू अरू काममा लागेका छन्। पुराना पुस्ताले मात्र अहिले यो सीप बचाउँदै आएका छन्। नेपालमा यो सीप हराउने अवस्था रहेको छ।’
यस्तै उनले नेपालमा बनेका मादलभन्दा भारतबाट आउने मादल नै सस्तोमा बेच्दा पनि यहाँ मादलको माग कमी भएको बताए। यस्तै उनले नेपाली बाजाको संरक्षण र प्रवर्धनका लागि सरकारी तहबाट प्रभावकारी नीति ल्याउनुपर्ने समेत बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया