हेटौंडा : बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनको भाडा अब विद्युतीय प्रणालीबाट भुक्तानी गर्न मिल्ने भएको छ।बागमती प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा विद्युतीय माध्यमबाट तिर्न मिल्ने व्यवस्था गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेशमा चल्ने सार्वजनिक सवारीलाई ‘क्यासलेस’ बनाउन सरकारले विभिन्न मापदण्ड बनाउने निर्णय गरेको जानकारी दिए।
उनले भने, ‘२२ रूपैयाँ भाडा तिर्न २५ रूपैयाँ दियो भने बाँकीको ३ रूपैयाँ फिर्ता आउँदैन। त्यसैले सार्वजनिक सवारीको भाडा पारदर्शी बनाउन ‘क्यासलेस’ विधि अपनाउन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेका हौं।’
खनालले विद्युतीय माध्यमबाट यात्रुले भाडा तिर्ने व्यवस्था गर्दा सहज, सरल र पारदर्शी हुने विश्वास व्यक्त गरे। उनले विद्युतीय माध्यममा पनि कसरी भाडा भुक्तानी गर्ने भन्ने विषयमा विभिन्न मापदण्ड बनाउने बताए।
त्यसैगरि प्रदेश सरकारले भरतपुर महानगरपालिकालाई प्रशासकीय भवन निर्माणका लागि ५० प्रतिशत लगानी गर्ने पनि निर्णय गरेको छ। खनालका अनुसार भरतपुर महानगरपालिकाले ९४ करोड रूपैयाँको लागतमा प्रशासनिक भवन निर्माण गर्न लागेको छ। यसका लागि महानगरले प्रदेश सरकारसँग स्रोत सुनिश्चित गर्न माग गरेको थियो।
सोहीअनुसार प्रदेश सरकारले महानगरको प्रशासनिक भवन निर्माण गर्न लाग्ने कुल खर्चको ५० प्रतिशत लगानी गर्ने निर्णय गरेको हो। प्रदेश सरकारले हरेक माघको २९ गते मनाउँदै आएको प्रदेश सरकार स्थापना दिवस यस वर्ष नमनाउने निर्णय गरेको पनि खनालको भनाइ छ।
‘केन्द्र सरकारले आफ्नो स्थापना दिवस कहिले पनि मनाउँदैन। हामीले मनाउनुपर्छ भन्ने छैन,’ उनले भने। खनालले दिवस नमनाए पनि स्थापना दिवसमा गर्दै आएका कार्यक्रम भने अन्य दिनमा गर्ने निर्णय गरेको बताए। प्रदेश सरकारले विभिन्न विभूषण तथा सम्मान अन्य कुनै दिन दिने व्यवस्था गर्ने निर्णय गरेको उनको भनाइ छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया