काठमाडौं : प्रतिनिधिसभाबाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना (एमसिसी) को विरोधमा आठ राजनीतिक दलले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा नरहे पनि उपत्यकाबाहिर आंशिक परेको छ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार उपत्यकाको अवस्था सामान्य छ। सवारीसाधानको सञ्चालन भइरहेको छ। उपत्याकाम सडक अवरोध गर्न निस्किएका ६ जनालाई सोमबार बिहान नियन्त्रणमा लिइएको राठौरले बताए। उनीहरुमध्ये नयाँबसपार्कबाट चार, चाबहिल चोक र स्वयम्भुबाट एक/एकजनालाई नियन्त्रणमा लिइएको हो।
कञ्चनपुरमा बिहानैदेखि यातायात सेवा ठप्प छ। महेन्द्रनगर बस पार्कबाट छुट्ने लामो र छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन्। बन्दकर्ताहरूले महेन्द्रनगरस्थित पूर्वपश्चिम राजमार्गको संविधान चोक, भासी, मदनचोकलगायत विभिन्न ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेको प्रहरीले बताएको छ।
बन्दलाई मध्यजनगर गर्दै सुरक्षा व्यवस्था कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ। ठाउँठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। बजार क्षेत्र भने आंशिक रुपमा खुल्न थालेको छ।
यस्तै‚ पर्वतमा पनि बन्दको प्रभाव आंशिक परेको छ। बाग्लुङ र म्याग्दीबाट पर्वत हुँदै पोखरा र देशका अन्य ठाउँका लागि छुट्ने सवारीसाधन सञ्चालनमा आएका छैनन्। बजारका अधिकांश पसल बन्द छन्। प्रहरी उपस्थित हुने ठाउँमा साना तथा छोटा दूरीका सवारीसाधन फाटफुट रूपमा सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार पर्वत जिल्लाभित्र सञ्चालनमा रहेका साना सवारीसाधन बिनाअवरोध सञ्चालन भएका छन्। बजारमा पनि आंशिक प्रभाव परेको उनले बताए।
प्रदेश १ मा बन्दको प्रभाव खासै नपरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।
एमसिसीको विरोधमा नेत्रविक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य किरण नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी), मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेकपा‚ आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले आज नेपाल बन्दको घोषणा गरेका हुन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया