काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिहरूलाई नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गरेका छन्।
कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रिजले विदेश मन्त्रालयसँगको सहकार्यमा भारतको नयाँदिल्लीमा आयोजना गरेको मन्त्रीस्तरीय बिम्स्टेकको व्यापार शिखर सम्मेलनलाई सम्बोधन गदै मन्त्री भण्डारीले क्षेत्रीय मूल्य शृंखला र व्यापारमा नेपालको एकीकरणलाई सहयोग पुर्याउन तथा सहयोग बढाउन आग्रह गरे।
मन्त्री भण्डारीले भने, “यो शिखर सम्मेलन सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाहरूबीचको बहुआयामिक साझेदारी, बलियो सहकार्य, पारस्परिक विश्वास र ऐक्यबद्धतामार्फत बङ्गालको खाडी क्षेत्रमा क्षेत्रीय शान्ति, स्थिरता र आर्थिक समृद्धि हासिल गर्ने हाम्रा अटल प्रतिबद्धता र साझा लक्ष्यहरूको वास्तविक पुनःस्थापना हो।”
यो फोरम क्षेत्रभित्र व्यापार, लगानी, पर्यटन र ‘कनेक्टिभिटी’जस्ता क्षेत्रमा नेटवर्किङ र व्यापार सहयोग सुधार गर्न सहायक हुने मन्त्री भण्डारीले बताए।
“हामीले व्यापार, लगानी, दिगो कृषि अभ्यास, कनेक्टिभिटी, ऊर्जा र वातावरणीय सुरक्षा तथा जलवायु परिवर्तनका लागि अनुकूलन र न्यूनीकरण रणनीतिमा सुधारिएको सहयोगलाई प्राथमिकता दिनुपर्छ, बिम्स्टेकभित्रका हाम्रा सामूहिक प्रयासहरूले विविध र जीवन्त क्षेत्रको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने र साझा वृद्धि तथा विकासका अवसरहरूलाई बढावा दिने शक्ति छ”, उनले भने।
सुदृढ क्षेत्रीय सहयोगले अर्थतन्त्रको पूर्ण क्षमतालाई केही सुधार गर्न, थोरै रोजगारी सिर्जना गर्न र जनताको जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्नसक्ने मन्त्री भण्डारीको भनाइ थियो।
उनले काठमाडौँमा सम्पन्न तेस्रो लगानी सम्मेलनअघि पछिल्ला वर्षहरूमा लगानी र व्यवसायसँग सम्बन्धित प्रक्रिया पनि सुव्यवस्थित र समग्र प्रक्रियालाई सरलीकृत गरिएको उल्लेख गरे।
मन्त्री भण्डारीले भने, “बिम्स्टेकले यस क्षेत्रको दिगो आर्थिक वृद्धिका लागि सहकार्य, आविष्कार र अनुकूल वातावरण सिर्जना गर्न हाम्रा लागि महत्वपूर्ण थलोका रूपमा काम गरिरहनेछ।”
नेपाल प्रचुर प्राकृतिक स्रोत, लाभदायक स्थान, विविध सांस्कृतिक सम्पदा, अनुकूल जलवायु र बढ्दो प्रतिस्पर्धात्मक मानव पुँजीले सम्पन्न रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले यी सबै कारणले नेपालमा लगानी र व्यापारका लागि अवसर रहेको बताए।
उनले नेपालले आफ्ना छिमेकी र बाहिरका मुलुकसँग व्यापार, लगानी र सम्पर्क प्रवर्द्धन गर्न निरन्तर नीतिगत सुधार गरेको जानकारी गराए।
यो बिम्स्टेक व्यापार शिखर सम्मेलनले बजार पहुँच, मूल्य शृङ्खला एकीकरण, निजी क्षेत्रको वृद्धि र सार्वजनिक–निजी साझेदारीमा वृद्धि गर्नका लागि ठोस नतिजा प्रदान गर्ने मन्त्री भण्डारीले उल्लेख गरे।
भूपरिवेष्टित देशका रूपमा नेपालले विभिन्न समस्याको सामना गरिरहेको उल्लेख गर्दै उनले भने, “मूलतः वैदेशिक व्यापारमा नेपालजस्तो भूपरिवेष्टित देशको पारवहन अधिकारका लागि हाम्रा छिमेकी तथा अन्य मित्र राष्ट्रहरूले निरन्तर सहयोग र ऐक्यबद्धता देखाएकामा हामी प्रशंसा गर्छौं, साना र भूपरिवेष्टित अर्थतन्त्रका लागि बिम्स्टेकले विशेष ध्यान दिनेछ भन्नेमा हामी आशावादी छौँ।”
बङ्गालको खाडी क्षेत्रमा दिगो विकास र समृद्धिका हाम्रा साझा लक्ष्य हासिल गर्न बिम्स्टेकभित्र उत्पादनशील, जनकेन्द्रित र कार्यमुखी सहकार्यका लागि नेपाल सरकारका तर्फबाट मन्त्री भण्डारीले प्रतिबद्धता जनाए। सम्मेलन मंगलवार शुरु भएको हो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया