काठमाडौँ : विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ।
बुधवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले सो विधेयक संशोधनसहित पारित गरेको हो।
सो विधेयकसम्बन्धी समितिको प्रतिवेदनको मस्यौदालाई आवश्यक संशोधनसहित पारित गरिएको समितिकी सभापति विमला सुवेदीले जानकारी दिइन्।
समितिको बैठकले सो विधेयक प्रतिनिधिसभाको आगामी बैठकमा पेश गर्नका लागि सभामुख देवराज घिमिरेलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
‘समितिको आजको बैठकमा पेश भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदनको मस्यौदा आवश्यक संशोधनसहित पारित भएको घोषणा गर्दछु‚’ समितिकी सभापति सुवेदीले भनिन्, ‘माननीय सदस्यहरु समितिको आजको बैठकबाट पारित भएको समितिको प्रतिवेदनलाई प्रतिनिधिसभाको आगामी बैठकमा पेश गर्ने व्यवस्था मिलाई दिनका लागि सम्माननीय सभामुखसमक्ष पत्रसाथ अनुरोध गरिने व्यहोरा माननीय सदस्यहरुलाई अवगत गराउँदछु।’
बैठकमा समितिका सदस्यहरुले सरकारले दिएको कार्यतालिकाअनुसार कानून निर्माणलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले सरकारले तय गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न पनि सरकारले समयमै कानून निर्माण गर्नुपर्ने भएकाले ती विषयलाई पनि कानूनमा समेटेर अघि बढ्न आवश्यक रहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले तत्काल कुनै विधेयक तर्जुमा गर्नुपरे बाधा नआउने गरी कानूनी व्यवस्था गर्नुपर्ने बताइन्। उनले सरकारले ल्याएको कानून निर्माणसम्बन्धी कार्यतालिका तलमाथि गर्न नहुने पनि बताइन्।
सांसदहरुले कानून निर्माण प्रक्रिया पारदर्शी र गुणस्तरीय बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया