२० माघ, काठमाडौँ : नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले खेलकुदको विकासका लागि सरकारले आवश्यक बजेट छुट्याउन नसकेको बताएका छन्।
शनिवार ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट छुट्याउन आवश्यक रहेको बताए।
उनले खेलाडीलाई घोषणा गरिएको रकम सरकारले चाँडै उपलब्ध गराउनुपर्ने बताए। उनले कुनै पनि देशलाई विकास गर्नका लागि खेल क्षेत्रको विकास अपरिहार्य रहेको बताए। उनले खेलकुदको विकास गर्नसके मात्रै युवाहरू आकर्षित हुने र अनुशासित हुने बताए। खेलकुदलाई सबै राजनीतिकर्मीले महत्त्वपूर्ण विधाको रूपमा लिएर अघि बढ्नुपर्ने बताए।
उनले भने, ‘नेपालमा खेलकुदको विकास जति हुनुपर्ने हो त्यो देखिँदैन। खेलकुदको निम्ति बजेट छुट्याएको देखिँदैन। करातेका साथीहरूले गोल्डमेडल पाउनुभएको रहेछ। अरू साथीहरूले पनि पाउनुभएको रहेछ। क्रिकेटका साथीहरू थिए। सरकारले पुरस्कार दिने घोषणा गर्छ तर दिन सक्दैन, त्यस्तो अवस्थाबाट देश अघि बढिरहेको छ। खेलकुदलाई हामी सबै राजनीतिकर्मीले महत्वपूर्ण विधाको रूपमा लिएर अघि जानसक्यौँ भनेमात्रै देशले गौरव गर्ने ठाउँ भेट्छ।’
नेता कोइरालाले अध्ययन जत्तिकै खेलकुद पनि महत्त्वपूर्ण रहेको बताए। अनुशासित भएर खेल्ने हो भने खेलबाटै देशको नाम चम्किने बताए। उनले आगामी आर्थिक वर्षको बजेटमा खेल क्षेत्रको बजेट बढाउने गरी आफूहरूले पहल गर्ने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया