घनश्याम भर
(विजयनगर) कपिलवस्तु, २४ बैशाख ।
नेपाल-भारत विकास सहयोग अन्तर्गत कपिलवस्तुको विजयनगर गाउँपालिका-३ मा पत्थरदेइया स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगर र नेपालका लागि भारतीय दूतावासकी द्वितीय सचिव गरिमा नौटियालले बिहीबार संयुक्त रूपमा स्वास्थ्य चाैकी भवनको शिलान्यास गरेका हुन् ।
२ करोड ११ लाख ५३ हजार ७ सय ३३ रुपैयाँको लागतमा स्वास्थ्य चौकी भवन निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले जानकारी दिए । उनका अनुसार भवन निर्माणको कुल लागतमध्ये ९५ प्रतिशत खर्च भारतीय दूतावासले र बाँकी ५ प्रतिशत खर्च विजयनगर गाउँपालिकाले व्यहोर्नेछ ।
प्राविधिक अधिकृत हेमन्त कुमार चौधरीका अनुसार स्वास्थ्य चौकी भवन दुई तल्ले हुनेछ । भवनसँगै एक चमेना गृह, एक शौचालय तथा ल्यान्डिङ डेभलपमेन्ट विकाससहित सुविधा सम्पन्न स्वास्थ्य संस्था निर्माण गरिनेछ ।
कार्यक्रममा बोल्दै द्वितीय सचिव नौटियालले भारतीय दूतावासले वर्षौंदेखि नेपालमा स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा विकास परियोजनामा निरन्तर सहयोग गर्दै आएको बताइन् । उनले नेपाल-भारत सहकार्य अन्तर्गत विजयनगर गाउँपालिकामा निर्माण हुन लागेको स्वास्थ्य चौकी भवन दुई देशबीचको सुदृढ विकास साझेदारीको उदाहरण भएको उल्लेख गरिन् । उनका अनुसार नेपालभर सञ्चालनमा रहेका ६ सयभन्दा बढी विकास योजनामध्ये लुम्बिनी प्रदेशमा ६६ ओटा तथा कपिलवस्तु जिल्लामा ६ ओटा योजना सञ्चालनमा रहेका छन् ।
भारतीय सहयोग अन्तर्गत एम्बुलेन्स तथा विद्यालय बस वितरण, विद्यालय र स्वास्थ्य चौकी भवन निर्माण, खानेपानी तथा सामुदायिक परियोजना, सडक तथा पुल निर्माण, विद्युत् तथा प्रसारण लाइन विस्तार, छात्रवृत्ति, विपद् तथा आपतकालीन राहत सामग्री वितरण, साँस्कृतिक सम्पदा पुनर्निर्माण तथा स्वास्थ्य सामग्री एवं औषधि सहयोगलगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । भारतीय दूतावासले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै हरेक वर्ष नेपालका विद्यालय, अस्पताल तथा सामाजिक संस्थालाई एम्बुलेन्स र स्कुल बस उपहार स्वरूप प्रदान गर्दै आएको पनि नौटियालले जानकारी दिइन् ।
गाउँपालिका अध्यक्ष थापाले नेपाल-भारतबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध कायम रहँदै आएको बताए । उनले विजयनगर गाउँपालिका भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले दुबै देशका नागरिकबीच पारिवारिक तथा सामाजिक सम्बन्धसमेत घनिष्ठ रहेको उल्लेख गरे ।
उनले नेपालको विकास र हितका लागि भारतले पूर्वाधार विकाससँगै विभिन्न विपद्का समयमा आर्थिक तथा बहुपक्षीय सहयोग गर्दै आएको बताए । स्वास्थ्य चौकी भवन केवल संरचना निर्माण मात्र नभई नेपाल-भारत सम्बन्धको प्रतीकका रूपमा रहने अध्यक्ष थापाको भनाई छ ।
यसैैगरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले स्वागत गर्दै भवन अभावले सेवा प्रवाह लगायत व्यवस्थापनमा हुँदै आएकाे चुनाैती र समस्या भवन निर्माण पश्चात् समाधान भई नागरिकलाई गुणस्तरीयतामा महत्त्वपूर्ण टेवा पुग्ने आशा व्यक्त गरिन् ।
भवन सञ्चालनमा आएपछि स्थानीय नागरिकले गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया