काठमाडौँ : राष्ट्रियसभामा सवारी दुर्घटनालाई न्यूनीकरण गर्नेसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ।
नेकपा एमालेकी सांसद दिलकुमारी रावल प्रस्तावक रहेको प्रस्तावमा नेपाली कांग्रेसकी अनिता देवकोटा, एमालेकै भैरव सुन्दर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामी, नेकपा एकीकृत समाजवादीका मदनकुमारी शाह (गरीमा), जनता समाजवादी पार्टीका मोहम्मद खालिद, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा, स्वतन्त्रका डा. खिमलाल देवकोटा र मनोनीत डा. विमला राई पौडेलको समर्थक रहेका छन्।
जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा १० औँ पटक संशोधन भएर पनि समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई पुनरावलोकन गर्न माग गरिएको छ।
‘१० औँ पटक संशोधन भएर पनि समस्या सम्बोधन गर्न नसकेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई पुनरावलोकन गरी सडक सुरक्षा र सवारी साधन सञ्चालन, यातायात सूचनासम्बन्धी प्रभावकारी व्यवस्थासहित सङ्घीय संरचनाअनुरूप वर्तमान समस्या र चुनौती सम्बोधन गर्ने विधेयक तत्काल संसदमा पेश गर्न’ प्रस्तावमा माग गरिएको छ।
यसैगरी, सवारीचालक अनुमतिपत्र लिनुअघि अनिवार्य रुपमा सवारी सञ्चालनसम्बन्धी पर्याप्त जानकारी उपलब्ध गराउनुका साथै चालक र सहचालकलाई समय समयमा सचेतनामूलक कार्यक्रम र पुनर्ताजगी कार्यक्रम गर्न र सडक सुरक्षा सावधानीसहित सडक निर्माणसम्बन्धी स्पष्ट मापदण्ड तय गरी तीनै तहका निकायबाट निर्माण गरिने सडकको न्यूनतम मापदण्डमा एकरूपता कायम गर्न पनि प्रस्तावमा माग गरिएको छ।
यातायातमैत्री सडक पूर्वाधार, सुरक्षा सतर्कता, सवारी तथा यातायातसम्बन्धी कानुनको पालनाजस्ता विषयमा आम नागरिकलाई सचेतना अभिवृद्धि गर्दै अनुशासित र जिम्मेवार बन्न प्रेरित गर्न, सडक दुर्घटनाका घाइतेको उपचारलाई स्वास्थ्य बिमाको अंगका रूपमा व्यवस्था मिलाउन र सडक दुर्घटनामा अपांग भएकाको जीवन निर्वाहका लागि रोजगारीमा प्राथमिकता तथा आर्थिक वृत्तिको प्रबन्ध गर्न पनि माग गरिएको छ।
सवारीसाधनमा सडक सुरक्षाका आवश्यक उपकरण र प्रविधि जडान गर्ने व्यवस्था मिलाउनुका साथै अन्तरराष्ट्रिय जगतमा नेपालको यातायात सुरक्षामैत्री छ भन्ने सन्देश प्रवाह गर्न जरुरी सार्वजनिक महत्त्वको पेश गरेको उल्लेख छ।
प्रस्ताव राष्ट्रियसभाबाट पारित भए यसैअनुसार सरकारले संसदमा विधेयक ल्याउनुपर्ने हुन्छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया