काठमाडौँ : बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण तत्काल मौसम नखुल्ने सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने बताएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने विभागले जनाएको छ।
अहिले पनि काठमाडौं लगायतका ठाउँमा पानी परिरहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ। तत्कालै यसको प्रभाव घट्ने सम्भावना नदेखिएकाले सचेत रहन मौसमविद्ले सुझाव दिएका छन्।
कसरी दिइयो मोन्था नाम ?
बंगालको खाडीको पश्चिम–मध्यमा बनेको चक्रवात आँधी मोन्थाले उत्तर–पश्चिम दिशामा बढ्दै मंगलबार बिहानसम्ममा भीषण रूप लिएको थियो।
उत्तरी हिन्द महासागर क्षेत्रमा आउने चक्रवातहरूलाई त्यस क्षेत्रको देशहरूका तर्फबाट दिइएको पहिलेदेखि नै तय लिस्टबाट नाम दिइन्छ। मोन्थाको सुझाव थाइल्याण्डले दिएको थियो।
थाइल्याण्ड उत्तरी हिन्द महासागर क्षेत्रमा चक्रवातहरूको नाम राख्न सहयोग गर्ने १३ सदस्य देशमध्ये एक हो। थाई भाषामा मोन्थाको अर्थ सुगन्धित/सुन्दर फूल हो।
चक्रवातको नाम राख्ने प्रचलन
एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघको आर्थिक र सामाजिक आयोग (इएससीएपी) र विश्व मौसम संगठन (डब्ल्यूएमओ) ले सन् २००० मा बंगालको खाडी र अरब सागरबाट आउने चक्रवातहरूको नाम राख्ने पद्धति सुरु गरेको थियो।
डब्ल्यूएमओमा नेपाल सामेल भए पनि नेपालमा समुद्र नभएको र चक्रवातको प्रत्यक्ष असर नपर्ने भएकाले नेपालले चक्रवातको नाम राख्ने अवसर पाएको छैन।
यसअन्तर्गत, बंगलादेश, भारत, माल्दिभ्स, म्यान्मा, ओमान, पाकिस्तान, श्रीलंका र थाइल्याण्ड जस्ता देशहरूको एउटा समूहले बंगालको खाडी र अरब सागरमा उठ्ने चक्रवातहरूका लागि १३ वटा नामको सूची बुझाएको थियो।
सन् २०१८ मा ती देशहरूको प्यानलमा इरान, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स र यमनको नाम पनि सामेल भयो। यो प्यानलले चक्रवातहरूको नाम तय गर्छ।
संलग्न देशहरूले सुझाएका नाम सम्बन्धित देशको वर्णमालाअनुसार सूचीबद्ध गरिन्छ। उक्त सूचीको सुरुवात बंगलादेशबाट हुन्छ। त्यसपछि भारत, इरान, माल्दिभ्स, ओमान, पाकिस्तानको नाम आउँछ। यही क्रमअनुसार चक्रवातहरूको नाम राख्ने गरिन्छ।
सन् २०२० मा आएको निवारपछि आउने चक्रवातहरूको नाम यसअघि नै बुरैबी (माल्दिभ्स), तौकते (म्यान्मा), यास (ओमान) र गुलाब (पाकिस्तान) तय भइसकेको छ। २०२० अप्रिलमै ती नाम भएका नयाँ सूची सदस्य देशहरूका तर्फबाट स्वीकृत भइसकेको छ।
चक्रवातको नाम राख्ने प्रक्रिया कस्तो हुन्छ ?
विश्वभर ६ वटा क्षेत्रीय रुपमा तोकिएका विशेष मौसम स्टेशनहरु र पाँचवटा चक्रवात चेतावनी केन्द्रहरू छन्। ती केन्द्रहरुले चक्रवात चेतावनी दिशा निर्देशनहरू जारी गर्ने र तिनीहरूको नाम तोक्ने जिम्मेवारी लिएका छन्।
नयाँदिल्लीस्थित भारतीय मौसम विभागले चक्रवात र आँधीलाई लिएर सुझाव दिनुका साथै उत्तर हिन्द महासागरमा उठ्ने चक्रवातको नामकरण समेत गर्छ।
भिन्न भिन्न महासागरीय क्षेत्रमा आउने चक्रवातको नामकरण त्यस क्षेत्रमा विद्यमान विशेष मौसम केन्द्र या चक्रवात चेतावनी केन्द्रले गर्छ ।
प्रस्तावित नाम कुनै पनि राजनीतिक पार्टी, व्यक्ति, धर्म, संस्कृति र लिंगको आधारमा नभएको हुनुपर्छ। यसैगरी कुनै पनि समूह र वर्गको भावनामा ठेस नपुग्ने, धेरै क्रूर र रुखो नसुनिने, कम शब्दको सजिलै नाम लिन सकिने र कुनै पनि सदस्य देशका लागि आपत्तिजनक हुनुहुँदैन।
चक्रवातको नाम राख्दा अंग्रेजीको मात्र ८ अक्षरको हुनुपर्छ भने मापदण्ड पूरा नभएको प्रस्तावित नामलाई प्यानलले खारेज गरिदिन्छ। एकपटक दिइएको चक्रवात आँधीको नाम अर्को पटक दिन पाइँदैन जसका कारण हरेक पटक नयाँ नाम चाहिन्छ।
आठ देशले सन् २००४ मा तयार गरेको सूचीमा अटेको अम्फन आँधी भने आउनुअघि नै समाप्त भएको थियो।
भारतीय मौसम विभागका निर्देशक जनरलका अनुसार उत्तर हिन्द महासागरको क्षेत्रमा हरेक वर्ष सामान्यतया पाँचवटा चक्रवात आउँछन्, त्यसअनुसार आगामी २५ वर्षसम्म जुन नयाँ सूची तयार भएको छ, त्यही उल्लिखित नामबाटै राख्नुपर्नेछ।
नयाँ सूचीमा प्रत्येक देशले १३ नाम दिएका छन्। अर्णव (बंगलादेश), शाहीन र बहार (कतार), लुलु (पाकिस्तान) र पिंकु (म्यान्मा) लगायतका नाम नयाँ सूचीमा छन्। भारतले प्रस्ताव गरेका आँधीको नामहरूमा गति, तेज, मुरासु (तमिलको एक वाद्ययन्त्र), आग, नीर, प्रभञ्जन, घुरनी, अम्बुद, जलधि र भेगा रहेको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया