श्याम राई
काठमाडौं : कालिकोटको रूपादेवी माध्यमिक विद्यालयले शिक्षक नपाएर १९ औँ पटक विज्ञापन गरेपछि सामाजिक सञ्जालमा सिर्जना गोले लेख्छिन्,‘शिक्षक नपाएपछि एक विद्यालयले गर्याे १९ औँ पटक विज्ञापन, गाउँमा शिक्षक अभाव, शहरमा जागिर छैन। जहाँ आवश्यकता छ, त्यहाँ पुग्न कोही तयार छैनन्, जहाँ सुविधा छ, त्यहाँ अवसर छैन।’
उनले भनेजस्तै यतिखेर गाउँमा शिक्षकहरूको अभाव छ। पटक पटक विज्ञापन गर्दा पनि विद्यालयहरूले शिक्षक पाउन सकेका छैनन्। तर,गाउँका युवाहरू अवसर खोज्दै शहर छिर्ने गर्छन्,जागिर भने पाइरहेका छैनन्। पढाउँछु भन्दा पनि पढाउने विद्यालय पाइरहेका छैनन्। त्यसो त अधिकांश युवाहरू विदेश पलायन भइरहेका छन्। यो क्रम जारी नै छ।
कालिकोट नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रूपादेवी माविमा गणित विषय शिक्षकको पद गत चैतमै खाली भयो। विद्यालयले उक्त विषयको पदपूर्तिका लागि १८ पटकसम्म विज्ञापन गर्याे। मावि तह संघीय अनुदान गणित विषय शिक्षक कोटाको लागि दिइएको अनुमति अनुसार १८ पटकसम्म विज्ञापन हुँदा पनि एक जना शिक्षक नपाएपछि कात्तिक ३० गते १९ औँ पटक विद्यालयले विज्ञापन गर्याे।
उक्त विज्ञापनपछि बल्ल केही दिनअघि शिक्षक नियुक्ति गरियो। रूपादेवी माविका प्रधानाध्यापक दानबहादुर बुढा पटक पटकको विज्ञापनपछि बल्ल गणित शिक्षक नियुक्ति गरिएको बताउँछन्।
‘गाउँमा गणित शिक्षक पाउँनै मुस्किल पर्यो, १९ पटकसम्म विज्ञापन गर्दा बल्ल नियुक्ति गर्न सफल भयौँ,अध्ययन अनुमतिपत्र(लाइसेन्स) पाएको व्यक्ति नै भेटिएन,’उनी थाहाखबरसँग भन्छन्,‘केही समयअघि माविको अध्ययन अनुमति पत्रको रिजल्ट आयो अनि त्यो पास गरेकाहरूबाट नियुक्त गर्याैँ,लाइसेन्स वला शिक्षक नै आवश्यक प्रकृया पूरा गरेर नियुक्ति गरेका छौँ।’
शिक्षक नपाउँदासम्म पठनपाठनमा निकै समस्या परेको उनले सुनाए। उनका अनुसार हाल उक्त विद्यालयमा ४ सय २५ जना विद्यार्थीहरू अध्ययनरत छन्।
कैलालीको श्री जनजागृति माध्यमिक विद्यालयले मावि तहको गणित विषयको लागि शिक्षक नपाएपछि मंसिर ७ गते पाचौँ पटक विज्ञापन गरेको छ। सूचना प्रकाशित भएको ७ दिनभित्र योग्यता पुगेका व्यक्तिहरूलाई दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ।
दोलखाको ढुङ्गेश्वरी माध्यमिक विद्यालय शिक्षक नपाएपछि चौथो पटक मंसिर ११ गते मावि तहको सामाजिक विषय शिक्षकको विज्ञापन जारी गरेको छ। विज्ञापनमा भनिएको छ,‘यस विद्यालयलाई प्रदेश शिक्षण सहयोग अनुदान अन्तर्गत माविकोटामा शिक्षक नियुक्तिको लागि अनुमति प्राप्त भए बमोजिम कम्तिमा बिएड उत्तीर्ण गरि शिक्षण अनुमति पत्र प्राप्त १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका इच्छुक नेपाली नागरिकहरूका लागि पुन चौथो पटक दरखास्त आह्वान गरिएको छ।’ दरखास्त दिने अन्तिम मिति मंसिर १७ गतेसम्म छ।
त्यस्तै,डोटीको महाकाली माध्यमिक विद्यालयले पनि माध्यमिक तहको अंग्रेजी विषयको शिक्षक नपाएपछि मंसिर ३ गते चौथौँ पटक विज्ञापन प्रकाशित गरेको छ। तलब ३८ हजार तोकिएको छ। तर,शिक्षक नहुँदा अझै उक्त विज्ञापनमा शिक्षक नियुक्त हुन सकेको छैन।
उक्त विद्यालयका प्रधानाध्यापक यादवराज भट्टका अनुसार उक्त विज्ञापनपछि बल्ल आवेदन परेको छ। उनले अब छिटो नै आवश्यक प्रकृया पर्याएर शिक्षक नियुक्ति गर्ने जानकारी दिए। ‘चार जनाको आवेदन परेको छ,अब परीक्षा सञ्चालन लगायत आवश्यक प्रकृया पुर्याएर छिटो नै नियुक्ति गर्छौ,’उनले भने।
लाइसेन्स निकालेकाहरू पनि आकर्षित भएनन्
यता,शिक्षक सेवा आयोगले भने अध्ययन अनुमतिपत्रको लागि बेला बेला परीक्षा लिइरहेको छ नै। माध्यमिक तहको शिक्षक लाइसेन्स परीक्षा सञ्चालन गरेर मंसिर २८ गते नै नतिजा प्रकाशित भइसक्यो।
शिक्षक सेवा आयोगका अनुसार कुल ४२ हजार ३ सय २३ जनाले माध्यमिक तहको शिक्षक लाइसेन्सको आवेदन भरे। तर,३५ हजार ४ सय ४६ जनाले परीक्षा दिएकोमा २३ हजार ५ सय ८९ जना उत्तीर्ण भएका छन्। तर,पनि शिक्षक अभाव छ। लाइसेन्स निकाले पनि शिक्षण पेसाप्रति त्यति आकर्षण नदिएको यसले देखाउँछ।
फेरी यही मंसिर २० गते निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदैछ। यसको लागि १ लाख एक हजार ७ सय ८३ जना परीक्षामा सहभागी हुँदै छन्।
किन शिक्षक पाउनै गाह्रो ?
रूपादेवी माविका प्रधानाध्यापक बुढा पछिल्लो समय बढी विकट जिल्लाहरूमा शिक्षक पाउन मुस्किल परेको बताउँछन्। उनले यसका धेरै कारणहरू रहेको जानकारी दिए।
उनले भने, ‘मुख्य त आजभोलि गाउँघरमा शिक्षक लाइसेन्स वाला मान्छे नै हुँदैन,भएकाहरू पनि कोही विदेश जान्छन्,कोही शहरी क्षेत्रमै बस्छन्,सुगमका मान्छेहरू पढाउन दुर्गममा आउनै मान्दैनन्।’ सेवासुविधा थपिएमात्रै पढाउन आउन खाज्ने गरेको पाइएको पनि उनले सुनाए।
‘पहिला पढाएका,लाइसेन्स भएका शिक्षकहरूले मलाई सम्पर्क गर्दा तोकिएको तलब बाहेक थप १०,१५ हजार सेवासुविधा थप्नसक्नुहुन्छ भने म आउँछु भन्छन्,भनेको त सेवा सुविधा भएमात्रै पढाउन आउने रहेछन्,’उनले भने। शिक्षक लाइसेन्स भएकालाई मात्रै पढाउन पाउने जुन व्यवस्था छ,त्यो व्यवस्था परिवर्तन गर्नुपर्ने पनि उनको तर्क छ।
‘शिक्षक लाइसेन्स भएकालाई मात्रै शिक्षक नियुक्त गर्न पाइने,आवेदन दिन पाइने भन्ने जुन कानुनी व्यवस्था छ,’उनले भने,‘त्यसलाई सच्याएर विकल्प दिनुपर्छ,त्यसमा लाइसेन्स भएकालाई ‘विशेष प्राथमिकता’ दिइने भनेर राख्नुपर्छ,यसो भएमा लाइसेन्सवाला भएमा उसैलाई शिक्षक नियुक्ति हुन्छ,यदि त्यस्तो व्यक्ति नभएमा लाइसेन्स नभएका योग्यलाई नियुक्ति गर्न सकिन्छ,यसो भएमा त्यसरी १९ पटक नै विज्ञापन गर्नै पर्दैन,पठनपाठन पनि प्रभावित हुँदैन।’
यसमा केन्द्रदेखि स्थानीय तहसम्मको सरकारले व्यवस्थापन गर्नुपर्ने उनको माग छ। महाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक भट्ट पनि सेवासुविधा कम हुने भएकाले शिक्षण पेसातर्फ आकर्षण घटेको र त्यही कारण शिक्षक पाउन गाह्रो पर्दै गएको बताए।
उनले भने,‘सेवा सुविधा कम छ,त्यही भएर झन विकट जिल्लामा शिक्षक आउनै मान्दैनन्,भएका केही दक्ष जनशक्ति पनि विदेश पलायन भइरहेको छ,त्यही भएर यसरी पटक पटक विज्ञापन गर्नुपरिरहेको छ,’उनले भने।
सामुदायिक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष गुणराज मोक्तानले सेवा सुविधा नभएकै कारण गाउँमा अनुदान र राहत कोटामा शिक्षक पाउँन गाह्रो परेको बताए। उनले भने,‘अहिले शहरमा भन्दा गाउँघरमा अनुदान र करार कोटाको गणित,विज्ञान र अंग्रेजी शिक्षक पाउन निकै गाह्रो छ,योग्य व्यक्तिहरूले कम सेवासुविधा भएकाले यसमा आकर्षण नै देखाउँदैनन्।’
शिक्षाविद् प्राडा विद्यानाथ कोइराला शिक्षकलाई अरू देशको जस्तै बहुविषयक बनाउनुपर्ने सुझाव दिन्छन्। यस्तो व्यवस्था गरिएमा शिक्षक अभाव नहुने उनको भनाइ छ। ‘अरू देशमा जस्तै एक शिक्षकलाई अरू विषय पनि पढाउन दिनुपर्छ’‚ उनले भने,‘यसो गरे शिक्षक अभाव हुन्न, केही शिक्षक कमजोर पनि छन्, केही ठाउँमा राम्रो गरौँ भन्ने शिक्षक पनि छन्, त्यसलाई परिचालन गर्न सरकारले जानेको छैन।’
अनुदान थपेर दिन माग
सामुदायिक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष मोक्तानले यो समस्या समाधान गर्ने हो भने अनुदान थपेर दिनुपर्ने सरकारसँग माग गरे।
‘यो कोटा करार हो,त्यही भएर यसप्रति खास चासो राख्दैनन्,’उनले भने,‘योग्य मान्छेहरूले मासिक ३०,४० हजार तलब भएपनि नमान्ने रहेछ,किन भने शहरमा त्यो व्यक्तिले त ट्युसन पढाउने लगायत काम गरेर मासिक एक लाख कमाउने रहेछ,त्यही भएर संघीय सरकारले अनुदान थपेर दियो भने सेवासुविधा पाउँछ,अनि पढाउँछ पनि।’
उनका अनुसार अहिले माध्यमिक तहमा स्थायी दरबन्दी कम छ। त्यही भएर पनि करारमा शिक्षक राख्नुपर्ने बाध्यता छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया