Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

बर्दिबासका भूमिहीन भन्दछन्- लालपुर्जा पाएको दिन पर्वकै दिन हुनेछ

महोत्तरी : वर्षौंदेखि बसोबास गर्दै आएका बर्दिबास नगरपालिकाका भूमिहीन सुकुम्बासीमा आफ्नो घरजग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने आश जागेको छ। नगर क्षेत्रका एक हजार ८०० भन्दा बढी भूमिहीन सुकुम्बासी बसोबास गर्दै आएका घर जग्गाको लालपुर्जा प्राप्तिको प्रक्रिया अघि बढेपछि अहिले उनीहरुमा आश जागेको हो।

यसअघि पूर्ववर्ती सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेर अघि बढाएको कामलाई वर्तमान सरकारले स्वामित्व लिएपछि उक्त वातावरण बनेको बर्दिबास नगर कार्यपालिकाले जनाएको छ।

‘यसअघिको सरकारले गठन गरेको आयोग वर्तमान सरकारले खारेज गरे पनि त्यसबेला भएका कामको स्वामित्व लिएपछि अब लालपुर्जा वितरण गर्ने गरी काम बढेको छ‚’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले भने, ‘अब नगर क्षेत्रका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले चाँडै आफ्नो घरजग्गाको लालपुर्जा पाउनेछन्।’

यसअघि लगत संकलन र जग्गा नापको काम सम्पन्न भएको र अहिले लालपुर्जा र नक्सा बन्ने काम अघि बढेको हुँदा अब चाँडै वितरण गरिने उनको भनाइ छ।

‘२०७७ मंसिर २४ गते भूमिसम्बन्धी समस्या समाधान आयोग ताहचाल काठमाडौं र बर्दिबास नगर कार्यपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएलगत्तै काम अघि बढेको थियो,’ प्रमुख प्रशासकीय अधिकृत पराजुली भन्छन्, ‘यसलगत्तै हामीले भूमिसम्बन्धी स्थितिको आधारभूत अध्ययन गरेर सम्बन्धित प्लटप्लटमै पुगेर जग्गा नापजाँच गर्‍यौँ, ती कामलाई अहिलेको सरकारले स्वामित्व ग्रहण गरिदियो, अब काम बढ्यो।’

उनले चाँडै लालपुर्जा वितरण गरिने गरी काम अघि बढेको बताए। अहिले लालपुर्जा वितरण गरिने गरी काम बढेको सुनेपछि भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमामा नयाँ आशाको सञ्चार भएको छ।

‘हामी त गत असारमा सरकार फेरिएपछि अब लालपुर्जा पाउने काम फेरि अड्कियो भनेर निराश भएका थियौँ’, बर्दिबास–३ गौरीडाँडामा वर्षौँदेखि घर बनाएर बसेकी अव्यवस्थित बसोबासी गीता खतिवडाले भनिन्, ‘तर अहिलेको सरकारले पनि पहिले भएका कामलाई निरन्तरता दिएछ, हाम्रो नगर नेतृत्वले समन्वय गरेछ, अब लालपुर्जा पाइन्छ भन्ने सुनियो।’ लालपुर्जा पाएर अब घर भएको जग्गा मेरै नाममा छ भन्ने दिन नजिक आएको कुराले खुलदुली झन् बढाएको खतिवडा बताउँछिन्।

नगरपालिकाले नवगठित भूमि आयोग (केन्द्रीय)सँग भर्खरै गत पुस २४ गते फेरि सम्झौता गरेर पूर्वसरकारको पालामा भएका काम अघि बढाउन आवश्यक कार्यविधि स्वीकृत गराएपछि बल्ल लालपुर्जा वितरणको चरणमा  प्रवेश गरेको हो। बर्दिबास नगरप्रमुख विदुरकुमार कार्कीले भने‚ ‘अब चाँडै लालपुर्जा वितरण गरिन्छ।’

यसअघि पूर्ववर्ती सरकारले राजेन्द्र साह नेतृत्वमा जिल्लास्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोग बनाएर काम अघि बढाएको थियो। तत्कालीन समयमा भएका  कामलाई  वर्तमान भूमि आयोगले स्वामित्व ग्रहण गरेर निरन्तरता दिएपछि चाँडै लालपुर्जा वितरणको चरणमा प्रवेश गर्न सकेको हो।

‘हामीले आधारभूत काम सकेका थियौँ, लगत सङ्कलनदेखि जग्गा नापजाँचको काम सम्पन्न भएको थियो’, तत्कालीन भूमि आयोगका अध्यक्ष साहले भने, ‘सरकार फेरिएर आयोग खारेज भएसँगै गरेको काम के होला भन्ने अन्योल थियो, तर खुशीको कुरा वर्तमान सरकारले ती कामलाई अघि बढाएछ।’ अब बर्दिबास नगरभित्रका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले चाँडै जग्गाधनी प्रमाणपुर्जा पाउने कुराले खुशी र उत्साही बनाएको साहको भनाइ छ।

आफ्नै घर भएको जग्गा पनि आफ्नो भन्न नपाएका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी कौतूहलतापूर्वक लालपुर्जा पाउने दिनको प्रतिक्षामा छन्। ‘लालपुर्जा पाएको दिन कस्तो होला भन्ने छ?’ बर्दिबास–२ का भूमिहीन श्याम घले भन्छन्, ‘हामी गरिबलाई त त्यो खास पर्वकै दिन हुनेछ।’ लालपुर्जा पाएपछि त्यो आफ्नो सम्पत्ति हुने र यसका आधारमा स–साना व्यवसाय गर्न ऋण कर्जा पाइने भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP