Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

‘चैतमै सुक्न थाले पानीका मुहान, वैशाख/जेठमा के हालत हुने हाे ?’

महोत्तरी – देशमा स्थानीय तह चुनावको राप बढिरहेकै बेला महोत्तरीको उत्तरी क्षेत्रमा भने सर्वसाधारण खानेपानी नपाइने चिन्तामा छन् ।  चैत सकिँदै गर्दा नै जिल्लाको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । पानीका मुहान धमाधम सुक्न थालेपछि जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको सङ्कट बढेको हो ।

नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि चैतमै खानेपानीको सङ्कट बढेको यहाँका बासिन्दाले बताएका हुन् । सामान्यतयाः अत्यन्त राप बढ्ने वैशाख र जेठमा खानेपानीको समस्या भोगिँदै आए पनि यसपालि भने मध्य चैतपछि नै पानीका मुहान सुक्दै गएका हुन् । अब असारमा राम्रो वर्षा नहउञ्जेल खानेपानीको हाहाकार बढ्दै जाने यस भेगका बासिन्दा बताउँछन् । 

‘देशमा ठूलाबडालाई चुनावी रन्को छ, हामीलाई पानी खान नपाइने हो कि भन्ने चिन्ता छ’, भङ्गाहा नगरपालिका ४ टोका बस्तीका राजकुमार दासले भन्नुभयो, ‘इनारको पानी रसातलमा पुगिसक्यो, राम्ररी डोल (बाल्टिन) डुब्न खोज्दैन, चापाकलले त मध्य चैतअघि नै जवाफ दिइसके ।’ चैत नबित्दै पानीको यो हाहाकारले वैशाख÷जेठ कसरी टर्ने हो, सम्झेरै अत्यास लाग्ने उहाँले बताउनुभयो । भङ्गाहा नगर क्षेत्रका ४ र  ५ नम्बर वडा बस्तीमा बर्सेनि गर्मीयाममा खानेपानीको सङ्कट पर्दै आएको छ । ‘हामीले थाहा पाउँदै १५ हातभन्दा बढी इनार खन्न सकिदैँनथ्यो, पानीको मूल भेटिन्थ्यो, अब त ती पुराना इनार सबै सुके’, भङ्गाहा ४ कै ६० वर्षीय हरिदेव साहले प्रश्न तेर्स्याउँदै भन्नुभयो, ‘किन होला पानीका मुहान गहिरिएका ?’   
    
चुरे पहाडी काछका बस्तीमा पनि खानेपानीको समस्या बढेको छ । जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या बढेको काछवासी बताउँछन् । चुरे पहाडी काछमा बर्दिबास नगरपालिका ३, ४, ५, १० र ११ नम्बर वडामा ३० भन्दा बढी बस्ती छन् । पाखाबस्तीका सबैको गर्मीयाममा खानेपानी सङ्कट झेल्नु समान पीडा बनेको छ । ‘एक दशकअघिसम्म यहाँका जरुवा कहिल्यै सुक्दैन थिए, पछिल्ला केही वर्षयता नदी, पाखा र बगरपर्ति जग्गामा बालुवा ढुङ्गा झिक्न ठूला–ठूला यन्त्र चल्न थालेपछि मुहान सुक्दै गएका हुन्’, बर्दिबास १० खयरमाराका सामाजिक, राजनीतिक कार्यकर्ता प्रेमध्वज लामाले पानीका मुहान सुक्दै जानुको कारणबारे भन्नुभयो, ‘वन उजाडिँदै जानु र अवैध उत्खनन नियन्त्रण हुन नसक्दा पानीका मुहान चाँडै सुक्ने गरेका हुन् ।’ 

बर्दिवास १, २, ३ र १४ का सघन सहरी बस्तीमा धाराबाट पनि खानेपानी झर्न निकै कम भएको बर्दिबास २ बुद्धचोककी गायत्री आचार्यले बताउनुभयो । ‘हाम्रो यताका धारामा पानी कहिल्यै सुक्दैनथ्यो’, केही वर्ष पहिलेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘पछिल्ला तीन/चार वर्षदेखि गर्मीयाममा पानी झर्न कम भएको छ ।’ त्यसैगरी खानेपानीको स्रोत इनारमात्र भएका बर्दिवास नगरपालिका ८ को हाथीलेटमा पर्ने विजयबस्तीमा पनि इनारको पानी सुक्दै गएपछि त्यहाँका बासिन्दा समस्यामा परेका छन् । 

यसबाहेक हाथीलेट बस्तीमा पनि खानेपानीका धारामा पानी निकै कम झर्न थालेको स्थानीयवासी होमबहादुर श्रेष्ठले बताउनुभयो । बर्दिवासकै किसाननगर, विजलपुरा, मनहरिपुर, प्रेमनगर र पशुपतिनगरसहितका बस्तीमा धमाधम चैतमध्यमै इनार सुक्न थालेपछि वैशाख, जेठमा के हालत हुने हो भन्दै त्यहाँका बासिन्दामा पिरोलो बढेको छ ।

यस्तै गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिया र रामनगर एवम् भङ्गाहा नगरपालिकाका प्रेमनगर, भूचक्रपुर, धतियाटोल र रामनगरसहितका बस्तीमा धमाधम इनार र चापाकल सुक्न थालेपछि चैत अन्तिम नहुँदै खानेपानीको सङ्कट बढेको हो । बर्दिवास ८ हाथीलेटको विजयबस्तीमा ५५ घरकाबीच रहेको एउटा इनार पनि चैतको दोस्रो हप्तामै सुक्न थालेपछि अब खानेपानीका लागि के गर्ने भन्ने चिन्ताले त्यहाँका बासिन्दा पिरोलिएका छन् । ‘पहिले/पहिले पनि इनार त सुक्थे’, विजयबस्तीकी मनमायाले भन्नुभयो, ‘जेठसम्म पानी नपर्दा इनार सुक्ने त बेहोरिएको थियो, पछिल्ला दुई/तीन वर्षदेखि त चैतमै इनार सुक्न थालेका छन् ।’  

बस्तीका ५५ घरका बासिन्दा पानी भर्न इनारमा पुग्दा इनारभित्र पानीका लागि झारिएका डोल (बाल्टिन) पानीमा डुब्न छाडेको यो बस्तीका बासिन्दा बताउँछन् । ‘बाल्टिनभरि पानी आउँदैन, बाल्टिनमा तानिएको आधाउधी पानी पनि एकै पटक इनारभित्र झारिएका १५/१६ वटा डोल ठोक्किँदा अलिकति पानीमाथि आइपुग्छ’, बस्तीकै अर्की बासिन्दा सुभग्यादेवीले भन्नुभयो, ‘चैतमै यो हालत छ, जेठसम्म के होला ?’  

पछिल्ला पाँच वर्षयता इनार सुक्ने क्रम बाक्लिएको यी तीन वटै नगरपालिका (बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिका) बस्तीका बासिन्दाको भनाइ छ । त्यसअघि लामो खडेरी पर्दा २०५४ सालको जेठमा केही इनार सुकेका सम्झँदै बर्दिवास ६ कृष्णपुरका सामाजिक कार्यकर्ता राजु महतोले पाँच वर्षयता भने इनार चैतमै सुक्न थालेको बताउनुभयो । आफ्ना वरिपरिका इनारहरू धमाधम सुकेपछि यस क्षेत्रका बासिन्दा खानेपानीको जोहो गर्न टाढा–टाढा पुग्नुपरेको छ । सरदर ५० फिट गहिराइका ५० प्रतिशत इनारको पानी तल्लो गोल (इनार बनाउँदा लगाइने सिमेन्ट, छड लगाएर बनाइएको रिङ) मा पुगी सकेको बर्दिवास–९ पशुपतिनगरका सामाजिक, राजनीतिक कार्यकर्ता सुरजसिंह कुशवाहाले बताउनुभयो । 

बस्तीका इनार र चापाकल धमाधम सुकेपछि खानमात्र नभइ नुहाउन र वस्तुभाउलाई पानी खुवाउनसमेत निक्कै सकस परेको भङ्गाहा ४ का बासिन्दाको गुनासो छ । भङ्गाहाको झन्डै पाँच सय घरधुरी बसोबास रहेका रामनगर बस्तीका २५ प्रतिशतभन्दा बढी इनार र चापाकल सुकी सकेका यो बस्तीका भरत यादवले  बताउनुभयो । इनारहरू धमाधम सुकेपछि सिचाइँको अर्को विकल्प नभएका आफूहरूको बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको रामनगर बस्तीकै अर्का किसान नारायण दाहालको दुखेसो छ । 

यसपालि राम्ररी हिउँदे वर्षा नभएको, नदी क्षेत्रमा बालुवा, ढुङ्गा उत्खनन गर्नेहरूले ठूला–ठूला गहिरा खाल्डा बनाएका र चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिँदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिँदै गएर चैत मध्यमै खानेपानीको हाहाकार मच्चिन लागेको विज्ञहरू बताउँछन् । ‘हामी प्राकृतिक सम्पदाको उपयोग र संरक्षणको कुरामा धेरै लापरबाही भयौँ’, महोत्तरीमा वर्षौँदेखि जलाधार क्षेत्र र चुरे संरक्षण अभियानमा जोडिँदै आउनुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादवले भन्नुभयो, ‘नदीहरूको अनियन्त्रित दोहन, चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण गर्न नसक्ने हो भने दिनदिनै यो सङ्कट बढ्दै जानेछ ।’

स्थानीय तहको चुनाव सम्पन्न भएर २०७४ यता जनप्रतिनिधिले काम गर्न थालेपछि खानेपानीका थुप्रै योजना बनेर धमाधम इनार खनिए पनि खानेपानीको समस्या भने झन्झन् बढ्दै गएको छ । इनार धमाधम खनिए पनि खानेपानीका स्रोत र मुहानको संरक्षण हुन नसक्दा नयाँ खनिएका इनार पनि चैत मध्यमै सुक्दै गएका विज्ञ बताउँछन् । चुरे क्षेत्रका खोल्साखोल्सी, वनक्षेत्र , नदी, सिमसार क्षेत्र र पोखरी (तलाउ) पानीका मुख्य स्रोत भएका र खनिने इनारमा पनि यिनै स्रोतको प्रभाव हुने भएकाले यिनको संरक्षण एवम् उपयोग नीति नबनेसम्म पानीको हाहाकार नटुङ्गिने भङ्गाहा–७ का बासिन्दा वन, वातावरण र चुरे विज्ञ डा. विजयकुमार सिंहले बताउनुभयो । 

विगतमा राष्ट्रपति चुरे संरक्षण अभियानमा संलग्न रहनुभएका डा. सिंहले यस भेगका सबै स्थानीय तहको नेतृत्वलाई प्राकृतिक सम्पदाको उपयोग र संरक्षण नीति स्पष्ट बनाउन अपिल पनि गर्नुभयो । यसपालि हुन लागेको स्थानीय तह चुनावमा मुख्य मुद्दा यो बन्नुपर्नेमा उहाँको जोड छ । पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट बालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनाश बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खोपानीका मुहान चाँडै सुक्न थालेका विज्ञहरूको भनाइलाई स्थानीय तहले भने वास्ता नगरेका सर्वसाधारणको गुनासो छ । 

यता स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षण र उपयोग नीतिको स्पष्ट खाका बनाउन बेखबर नभएको बताएका छन् । ‘हामी प्राकृतिक सम्पदाको संरक्षण र यसको दीर्घकालीन उपयोग कसरी गर्न सकिन्छ भन्ने कुरामा गम्भीर भएका छौँ’, बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले भन्नुभयो, ‘विकास र पूर्वाधार निर्माणका योजनामा प्राकृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।’  

स्थानीय तहले खानेपानीका समस्या समाधान हुने बताउँदै आए पनि प्राकृतिक सम्पदाको उपयोग नीति स्पष्ट नपारेसम्म समस्या समाधान हुन नसक्ने विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP