Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भक्तपुरमा आजदेखि बिस्का जात्रा सुरू हुँदै

भक्तपुर : भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरू हुँदैछ। नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पुर्‍याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ।

जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ। जात्रामा रौनकमा झुम्नेसँगै सुरक्षाको चिन्ता पनि उत्तिकै बढ्न थालेको छ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्रांगणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ। रथ तान्नुअघि भैरवनाथको विधिवत पूजा गरी रथमा खड्ग, तरबार, निशान राख्ने गरिन्छ। रथको अगाडि भागमा पाँच र पछाडि चारवटा लामो डोरी राखिएको हुन्छ। जात्रालुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने गर्दछन्। जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। रथलाई तानेर तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ।

जात्राको पहिलो दिन भैरवनाथको रथ तानेर क्वने (तल्लो) टोलको तमारी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने (माथिल्लो) टोलको क्वाछेँ, साकोठा, सुकुलढोका, गोमारी, सोङ्गलो, दत्तात्रयसम्म रथ तानेर पुनः गःहिटीमा पुर्‍याई जात्रा सम्पन्न गरिन्छ। रथ तानेर लैजाँदा दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिर र बेतालको मुख जुधाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ।

जात्राको दोस्रो दिन शून्य भनिन्छ। तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ। उक्त बलिपूजाको मासु प्रसादका रूपमा लाकुलाछेवासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ।

बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो लिङ्गो उभ्याइन्छ। लिङ्गो उभ्याउने जात्रा बिस्काको अर्को आकर्षण रहेको छ। पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्षे उभ्याउने गरिन्छ। भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्षभाग र हात नीलो कपडाले बेरिएको हुन्छ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ। एक जोडी ध्वजा फुकाएपछि एउटा सम्बत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न नमिल्ने धार्मिक मान्यता छ। लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ। लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छन् भन्ने मान्यता छ। लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको तान्त्रिक विधिपूर्वक पूजा गरी जात्रा गरिने परम्परा छ। त्यसपछि न्हेसटो (सात सय टोल)मा अवस्थित बाराहीको तिंप्वाः जात्रा र खौमाको इन्द्रायणी देवीको त्वारीवा जात्रा गरी शक्तिपीठमा लाने परम्परा छ।

बिस्का जात्रा हेर्नाले शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ। यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि लिङ्गो उभ्याउने स्थानमा पुर्‍याइन्छ। बिस्का जात्राको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिन्छ। लिङ्गो ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरिन्छ। ढालिसकेपछि भैरवनाथ र भद्रकालीको रथलाई गाहिटी पुर्‍याई एकापसमा जुधाइन्छ। जसलाई स्थानीय भाषामा खःल्वाकिगु जात्रा भनिन्छ। यसै दिन राति तलेजुमा तान्त्रिक विधिपूर्वक दुमाजु देवीको पूजा गरी जात्रा गरिन्छ।

बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौँ दिन ब्रह्मायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ। खलाँमा परदेशी भीमसेनको जात्रा गरिन्छ। यसै दिन बुलुचा टोलको बटुक भैरव र कुम्हाले टोलको ज्याठा गणेशको जात्रासमेत गरिन्छ। आठौँ दिनमा नगरका सबै देवीदेवतालाई बाहिर राखेर क्षमासहितको पूजा गरी सगुन जात्रा मनाइन्छ। जसलाई स्थानीय भाषामा द्यःस्वगं वियगु जात्रा भनिन्छ। यस दिन साँझ चोछेंमा छुमा गणेशको जात्रा गरिन्छ।

जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारीस्थित भैरवनाथको प्राङ्गणमा पुर्‍याई जात्रा सम्पन्न गरिन्छ।

सूर्यमासका आधारमा चल्ने बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमिमा प्राप्त नेपाल सम्बत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए।

‘भक्तपुर तमारीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलोपल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनी उल्लेख गरिएको छ। त्यसैगरी भक्तपुरको राजदरबारमा नेपाल सम्बत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख छ। तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ‚’ उनले भने, ‘यी प्रमाणका आधारमा विश्व केतु भनेको संस्कृत शब्द हो। पछिल्लो कालखण्डमा नेवारी नामाकरणअनुसार विसिक, बिस्क, बिस्का हुन पुगेको हो। त्यसैको अपभ्रंस भएर बिस्केट हुन पुगेको हो। नेवारीमा अहिले पनि बिस्का जात्रा भन्ने गरिन्छ।’

प्राडा श्रेष्ठले बिस्का जात्राको प्रचलित किंवदन्तीसमेत गलत भएको दाबीसमेत गरेका छन्। बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग मात्र सम्बन्धित रहेको र यसको प्रचलित सर्प मारेको र नाग–नागिनीसँग जोडिएको किंदन्ती भ्रम मात्र रहेको उनको जिकिर छ।

‘यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो। विश्व भैरवनाथको प्रतीक लिङ्गोमा फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकालीको हो। यसलाई जबर्जस्ती बि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र मानसिकता व्याप्त रहेको छ‚’ प्राडा श्रेष्ठले भने, ‘नाम, प्रमाण र भाषा विज्ञानकै साहारा लिएर भन्ने हो भन्ने बि को अर्थ हो पुरानो। नवदुर्गा गणलाई वि त्वंकेगु भन्दा तान्त्रिक विधि पुर्वक पुरानो रगत खुवाउने प्रचलन अहिलेसम्म चलिआएको छ। स्यातको अर्थ मारियो हो तर बिस्क, बिस्कामा कहाँ क हरायो त भन्ने मेरो प्रश्न हो? स्यातबाट कसरी स्का हुन गयो?’

उनले यस जात्राको विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालीन राजा जगत्प्रकाश मल्लदेखि शाहवंशीय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फेरेका हलिपतमा हेर्न हो भन्ने विश्व केतु, वीर ध्वजा लेखिएको बताए।

‘यस मानेमा विश्वनाथको ध्वजा विश्वध्वजा हो। वीर ध्वजा हो भन्ने कुरा स्पष्ट छ‚’ प्राडा श्रेष्ठले भने‚ ‘यसमा वीर भनेर भैरवको वाहन वीर बेताललाई भनिएको हो। त्यस मानेमा पनि यो ध्वाजा विश्व ध्वाजा र वीर ध्वाजा मान्न सकिन्छ। तर जनमानसमा यो नाग–नागिनी भनेर प्रचलित छ, यो गलत हो।’

जात्रामा पहिलो र अन्तिम दिन रथ तान्ने क्रममा र लिङ्गो उठाउने बेलामा झडप हुने गरेको छ। त्यसैले सम्भावित झडप रोक्न र जात्रालाई व्यवस्थितरूपमा सम्पन्न गर्न यस वर्ष दिउँसो नै भैरवको रथ तान्ने तयारी भएको छ। रातको समयमा जात्रा सञ्चालन हुँदा रथले किचेर मानिसको मृत्यु हुने र जात्रा सञ्चालन हुने स्थानका संरचनामा क्षति पुग्ने भएकाले दिउँसो जात्रा सुरु गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। उनले जात्रालाई मर्यादित र समयमै शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न चरणबद्धरूपमा सरोकारवालासँग छलफल गरेर रणनीति तयार गरेको बताइन्।

नौ दिनसम्म चल्ने जात्राका लागि आवश्यकताअनुसार सुरक्षाकर्मी परिचान गर्ने पूरा तयारी भइसकेको महानगरीय प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले बताए। उनका अनुसार जात्राका लागि ९५० नेपाल प्रहरी,  ४०० सशस्त्र प्रहरी परिचालन गरिने छ। आवश्यकता परे थप सुरक्षाकर्मी परिचालन गर्ने गरी तयारीसहित जात्रामा उच्श्रृंखल गतिविधि गर्ने र हुलदंगा मच्चाउन खोज्नेको पहिचान गर्न व्यापकरूपमा सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गर्ने उनको भनाइ छ।

रथमा अनियन्त्रित तरिकाले अत्यधिक मानिस चढ्ने र त्यसले गर्दा रथबाट खसेर घाइते हुनुका साथै रथले किचेर ज्यानसमेत जाने गरेकाले त्यसलाई नियन्त्रण गर्न रथमा भैरव नाइके, गुथी र आवश्यक पदाधिकारी मात्र चढ्ने व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताए।

जात्रामा हुलदंगा गर्नेको पहिचानका लागि चोक–चोकमा सिसी क्यामेरा जडान गरिएको जानकारी दिँदै उनले उक्त क्यामेराको फुटेजका आधारमा जात्रापछि पनि प्रमाणका आधारमा नियन्त्रणमा लिई कारबाही गरिने बताए। जात्रामा हुलदंगा गरी सुरक्षा व्यवस्थामा खलल पुर्‍याउनेलाई पक्राउ गरी कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP