Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

राजनीतिमा कलाकार : युक्रेनदेखि नेपालसम्म

काठमाडाैं : युक्रेनमा मुख्य समस्या रहेको भ्रष्टाचारलाई नै विषयवस्तु बनाएर कमेडियन भोलोदोमिर जेलेन्स्कीले एउटा पोलिटिकल सटायर टिभी सिरिज ‘सर्भेन्ट अफ द पिपुल’ तयार पारे। सन् २०१५ देखि प्रशारण शुरु भएको उक्त सिरिजको मुख्य पात्र वेसिली पेट्रोविकको भूमिकामा पनि जेलेन्स्की नै देखिए‚ जो कुनै कारणवश रातारात युक्रेनको राष्ट्रपति बन्छ।

‘सर्भेन्ट अफ द पिपुल’को लोकप्रियता युक्रेनमा मात्रै रहेन। अष्ट्रेलिया, ब्राजिल, स्पेन, अमेरिका, इटली, जर्मनी, बेलायत, स्विडेन, बेलारुस, फ्रान्सलगायत विश्वका तीन दर्जनभन्दा बढी देशमा यसको प्रतिलिपि अधिकार खरिद गरी प्रशारण गरियो। ३ सिजन गरी ५१ एपिसोड रहेको उक्त सिरिजले जेलिन्स्कीलगायत यसका अन्य कलाकारलाई स्थापित त गर्‍यो नै साथै देशको राजनीतिमा समेत ठूलो परिवर्तन ल्यायो।

जेलिन्स्कीले नै साथीहरूसँग मिलेर सन् २०१७ डिसेम्बर २ मा ‘सर्भेन्ट अफ द पिपुल’ नामको राजनीतिक पार्टी बनाउने घोषणा गरे। सन् २०१८ मार्च १७ मा उक्त पार्टी औपचारिक रुपमा दर्ता भयो। सर्भेन्ट अफ द पिपुलले २०१९ को संसदीय चुनावमा भाग मात्र लिएन ४३ प्रतिशत मत प्राप्त गर्दै देशको सबैभन्दा ठूलो दल पनि बन्यो। त्यसै वर्ष मे २० मा कमेडियन कलाकार भोलोदोमिर जेलिन्स्की युक्रेनको छैटौँ राष्ट्रपति बने। 

पोल्याण्डका जुम्ल्याहा दाजुभाइ लेक कासिन्की र जारोस्ल कासिन्की, जो दुवै जना कानुनका विद्यार्थी र कलाकार थिए‚ उनीहरू मिलेर सन् २००१ मा ल एण्ड जस्टिस नामको पार्टी खोले। लेक सन् २००२ मा पोल्याण्डको राजधानी वार्साको मेयर निर्वाचित भए। २००५ सम्म मेयर पद सम्हालेका उनी सन् २००५ देखि १० सम्म पोल्याण्डका राष्ट्रपति बने। अर्का भाइ जारोस्ल सन् २००६ देखि २००७ सम्म पोल्याण्डका प्रधानमन्त्री बने। ल एण्ड जस्टिस पार्टी आज पनि पोल्याण्डको सबैभन्दा ठूलो राजनीतिक दलको रुपमा चिनिन्छ। 

चर्चित हलिउड अभिनेता, लेखक तथा सञ्चारकर्मी रोनाल्ड रेगन सन् १९८१ मा अमेरिकाको ४० औँ राष्ट्रपतिको रुपमा चुनिए। रिपब्लिकन पार्टीबाट उम्मेदवारी दिएका उनले राष्ट्रपतिका रुपमा दुई कार्यकाल काम गरे। त्यसअघि सन्  १९६७ देखि १९७५ सम्म उनले क्यालिफोर्निया राज्यको प्रमुखको रुपमा काम गरिसकेका थिए। 

अभिनेता जिमी मोरल्स ग्वाटेमालाका ५० औँ राष्ट्रपति बने। भारतका चर्चित अभिनेता एनटी रामा राव आन्ध्र प्रदेशका मुख्यमन्त्री बने। चेन्नईको मेयर हुँदै तामिलनाडुको मुख्य मन्त्री बनेका एमके स्टालिन पनि फिल्मबाट राजनीतिमा प्रवेश गरेका हुन्। 

कलाकारिता पृष्ठभूमिबाट आएर सफल राजनीतिक जीवन बिताएका कलाकारको सूची लामो छ तर असफल हुने कलाकारको सूची त्यसभन्दा पनि लामो छ। कोही पहिले नै अस्तित्वमा रहेका पार्टीसँग आबद्ध भइ राजनीतिमा प्रवेश गरेका छन्, कसैले स्वतन्त्र रुपमै आफ्नो राजनीतिक यात्राको शुरुवात गरेका छन् भने केहीले आफ्नै पार्टीसमेत बनाएका छन्। 

कुनै पनि ठाउँ अथवा देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्था कस्तो थियो, कस्तो छ र कता जाँदैछ भन्ने कुरामा त्यहाँको नेतृत्व र नीतिको प्रमुख भूमिका रहन्छ। त्यहाँको विकासमा राजनीतिले प्रत्यक्ष भूमिका खेलेको हुन्छ। 

हाम्रो देशमा स्थानीय तहको चुनाव नजिकिँदै गर्दा नेपाली कला क्षेत्रमा पनि राजनीतिक तरंगबाट अछुतो रहेन। केही कलाकारले विभिन्न पदमा उम्मेदवारी दिएका छन्, केही नयाँ पार्टीमा प्रवेश गरेका छन् भने केहीले यो चुनावमा आफूले समर्थन गर्ने उम्मेदवारको खुलेर प्रचार गरिरहेका छन्। 

काठमाडौंको मेयरका लागि उम्मेदवारी दिएका र्‍यापर बालेन शाहको चर्चा अहिले सबैभन्दा धेरै छ। स्वतन्त्र रुपमा उम्मेदवारी दिएका बालेन पेशाले स्ट्रक्चरल इन्जिनियर हुन्। मूलधार राजनीतिमा यो उनको पहिलो कदम हो। मेयरमा उनले नेकपा एमालेका केशव स्थापित, नेपाली कांग्रेसकी सिर्जना सिंह, राप्रपाका मदनदास श्रेष्ठ, विवेकशील साझाकी समीक्षा बास्कोटासँग प्रतिस्पर्धा गर्नेछन्। 

सामाजिक सञ्जालमा बालेनको चर्चा व्यापक छ भने स्वस्तिमा खड्का, प्रियंका कार्की, विजय लामा, माधव वाग्लेजस्ता फिल्म क्षेत्रका चर्चित व्यक्तिहरूले पनि खुलेरै आफ्नो समर्थन बालेनलाई रहेको बताएका छन्। 

राप्रपाबाट उम्मेदवारी दिएका मदनदास पनि कलाकार हुन्। झण्डै ५० वर्ष रेडियो, टेलिभिजन तथा फिल्ममा बिताएका उनले पहिलो पटक राप्रपाबाट मेयर पदको लागि उम्मेदवारी दिएका हुन्।

मिस नेवाः २०११ सुुनिता डंगोलले नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन्। संगीतकार, गीतकार तथा लोक गायक टंक तिमल्सेनाले अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

विभिन्न पार्टीसँग आबद्ध गायक गायिकालाई पनि यतिवेला चुनाव प्रचारको गीत बनाउने, गाउने र प्रचारप्रसारमा हिँड्ने चटारो छ।

अभिनेता भुवन केसी, अभिनेत्री स्वेता खड्का र चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। यसअघि एमालेमा रहेका भुवन कांग्रेस प्रवेश गर्नुअघि राप्रपामा जाने चर्चा थियो।

त्यसपछि अधिवक्ता स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिन लागेकोसमेत चर्चा भएको थियो। स्थानीय तहको निर्वाचनमा एमालेबाट काभ्रेको पनौती नगरपालिकामा मेयरका लागि लड्ने तयारीमा रहेका रविन्द्र टिकटमा कुरा नमिलेपछि कांग्रेस प्रवेश गरेको बुझिएको छ। 

यीबाहेक केही साताअगाडि मात्रै अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी थिइन्। पार्टी प्रवेश गरेपछि पार्टीको विभिन्न सभा सम्मेलनमा सहभागी जनाउँदै आएकी करिश्माले एमाले अध्यक्ष केपी शर्मा ओलीको गुणगान पनि गाउँदै आएकी छन् र सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि सूर्यकुमारी थपेकी छन्।

उनका अनुसार सूर्यकुमारी उनको न्वारनको नाम हो। त्यसअघि उनी नयाँ शक्ति पार्टीमा पनि खुलेर लागेकी थिइन्। कुनै समय माओवादीमा प्रवेश गरेकी अभिनेत्री रेखा थापा राप्रपा प्रवेश गरेकी छन्। 

पार्टीको सिद्धान्त मन परेर प्रवेश गरेको पार्टी अपेक्षा गरिएअनुसार नहुँदा विचार मिल्ने अर्को कुनै पार्टीमा प्रवेश गर्नुलाई सामान्य कुरा मान्न सकिन्छ। पार्टी परिवर्तनपछि कलाकारहरूले दिएका अभिव्यक्ति र पार्टी प्रवेश अघिको परिदृश्यले कलाकारहरू आफ्नो विचारधारालाई पछ्याइरहेका छन् या अवसरको खोजीमा भौंतारिइरहेका छन् भन्ने प्रश्न उब्जाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP