धनकुटा : धनकुटा नगरपालिका–८ सान्ताङस्थित देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर बस्नेतमाथि विद्यालयमै कुटपिट भएको छ।
अपाङ्गता भएका बस्नेत राष्ट्रिय अपाङ्ग महासंघका पूर्व केन्द्रीय सदस्यसमेत हुन्। प्रधानाध्यापक बस्नेतलाई सोही विद्यालयका शिक्षक चन्द्रकुमार राईले विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपका विषयमा विद्यालयमा छलफल भइरहेका बेला कुटपिट भएको हो।
उनलाई धनकुटा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रसबहादुर राईसहित नेकपा एमाले निकट युवा संघका जिल्ला उपाध्यक्ष सन्देश आठपहरिया लगायतको समूहले कुटपिट गरेको बस्नेतले बताएका छन्। कुटपिटबाट प्रधानाध्यापक बस्नेतको दाहिने खुट्टा भाँचिएको छ। उनको आँखा र शरीरका अन्य भागहरुमा समेत चोट लागेको छ।
उनलाई धनकुटा जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुनसरीको इटहरीस्थित बेदान्त अस्पताल लगी धनकुटा ल्याइएको छ। चन्द्रकुमार राईले विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपका विषयमा विद्यालयमा भएको छलफलका क्रममा आक्रोशित भीडले प्रधानाध्यापक बस्नेतमाथि कुटपिट गरेको हो।
सो विषयमा गत आइतबार दिउँसो पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा शिक्षक राईविरुद्ध किटानी जाहेरी दिएको थियो। ‘विद्यालयमा छलफल भइरहेका बेला सन्देश आठपहरियाले कुर्सीबाट लछारपछार गर्दै बाहिर निकाले। त्यसपछि सिँढीमा झारेर ५/७ जनाको समूहले मलाई कुटे’, घाइते बस्नेतले भने, ‘त्यो समूहमा वडाअध्यक्ष राई, २ जना वडासदस्य, एमालेका नेता कार्यकर्ता पनि थिए। म त्यसै पनि अपाङ्ग व्यक्ति हूँ। ममाथि अन्याय गरियो। यसले मलाई मानसिक रुपमा कमजोर बनाएको छ।’
प्रधानाध्यापक बस्नेतले विद्यालयको विषयलाई लिएर राजनीतिक प्रतिशोध साँध्न खोजिएको बताएका छन्। ‘जसले गल्ती गरेको भए पनि कारबाहीको भागीदार बनाइनुपर्छ’ उनले भने ‘तर, शान्ति क्षेत्र भनिएको विद्यालय क्षेत्रमा आएर जनप्रतिनिधिले गुण्डागर्दीको शैलीमा कुटपिट गर्नुले विद्यालयको मर्यादामा आँच पुगेको छ।’
सहिदभूमि गाउँपालिका–३ घर भएका ४० वर्षीय शिक्षक राईले सो विद्यालयका छात्रालाई पटकपटक यौन दुर्व्यवहार गरेको आरोप छ। उनले छात्राहरुको संवेदनशील अंगमा छुने, चिमोट्ने, ‘ब्रा’को इलास्टिक तन्काइदिने जस्ता व्यवहार पटकपटक गर्दै आएको आरोप लगाए पनि छलफलका क्रममा विद्यार्थीहरुले सधैँ विद्यालय नआउने, नम्बर कम दिने भन्दै आक्रोश व्यक्त गरेका थिए।
मेरो संलग्नता छैन : वडा अध्यक्ष
यता धनकुटा नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष रसबहादुर राईले उक्त घटनामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्। उनले एक विज्ञप्ति जारी गर्दै उक्त घटना हुँदा वडा सदस्य चौतिसलाल राई सहित पुगेको भएपनि संलग्नता नभएको बताएका छन्। उनले राति नौ बजेको भएको घटना आफू किन पुगेको भन्ने बताएका छैनन्।
हाम्राे संलग्नता छैन : युवा संघ
एमाले निकट युवा संघले उक्त शिक्षक कुटपिटको घटनामा आफ्नो उपाध्यक्ष आठपहरियाको संलग्नता नभएको जनाएको छ। युवा संघ धनकुटा अध्यक्ष प्रवीण पोखरेलले जारी गरेको विज्ञप्तिमा उपाध्यक्षको कुनै संलग्नता नरहेको दाबी गरिएको छ।
यो घटनालाई राजनीतिकरण गरिएको भन्दै उसले आपत्ति जनाएको छ। तर, राति भएको घटनामा युवा संघका जिल्ला उपाध्यक्ष आठपहरियाको संलग्नता रहेको पीडित शिक्षक बस्नेतले दाबी गरिरहँदा युवा संघका अध्यक्ष भने संलग्नता नभएको दाबी गर्छन्।
प्रहरीले उजुरी दर्ता गरेन
शिक्षकलाई कार्यकक्षमा कुटपिट गरेको विषयमा पीडित पक्षले दिएको उजुरीको जिल्ला प्रहरी कार्यालय धनकुटाले दर्ता गरेको छैन्। शिक्षक बस्नेतका अनुसार कार्यकक्षमा कुटेको विषयमा उजुरी लिएर जाँदा प्रहरीले दर्ता नगर्ने बताएको छ। यस विषयमा धनकुटाका डिएसपी चिरञ्जीवी दाहालले उजुरी लिनु नलिनु प्रहरीको आन्तरिक विषय भएको बताएका छन्। उनले प्रहरीले अनुसन्धान गरिरहेको तर उजुरी दर्ता गरेको नगरेको आन्तरिक विषय भएको बताएका छन्। धनकुटामा यसअघि धेरै विषयमा उजुरी नपरेको भनेर प्रहरीले अनुसन्धान गर्न नसकेको बताउँदै आएको थियो। तर, यसपटक भने उजुरी दर्ता नगरी अनुसन्धान गरिरहेको बताएको छ। प्रहरीले उजुरी दर्ता नगरेपछि शिक्षक बस्नेतले न्याय पाउने आश मर्दै गएको गुनासो गरेका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया