काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बैंकहरू मिटरब्याजी जस्तो हुन नहुने बताएका छन्।
आइतवार झुलाघाट–चिवाभञ्ज्याङ यात्राअन्तर्गत नुवाकोटमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले बैंकले निर्मम साहु, मिटरब्याजी तरिकाले नभएर विकासका लागि सहयोगी र अनुकूल संस्थाको रूपमा काम गर्न आवश्यक रहेको बताए।
उनले बैंकहरूले जुन शर्तमा व्यवसायीहरूलाई ऋण दिएको हो त्यो शर्त पालना गर्न आवश्यक रहेको बताए। उनले बैंक र ऋणहरूबीच ब्याजदर लगायतका विषयमा शर्त पालना नभएर दुवै पक्षबीचको सहमतिमा ब्याजदर घटबढ गर्नुपर्ने बताए। उनले पछिल्लो समय बैंक र ऋणीहरूबीचको सहमतिमा ब्याजदर घटबढ गर्ने नियमावलीमा लेखिए पनि घट्ने हुँदै नहुने तर बढ्ने मात्रै भइरहेको टिप्पणी गरे। उनले बैंकले एकलौटी ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरे।
अध्यक्ष ओलीले बैंकहरूले कर्जाको ब्याजदरलाई एक अंकमा ल्याउनुपर्ने बताए। उनले अप्ठ्यारोमा परेका व्यवसायीहरूलाई केही समयका लागि म्याद थप गरेर उद्यम व्यवसायहरू सहयोग गर्न आग्रह गरे। उनले बैंकहरूले व्यवसायीको व्यवसाय डुब्न लाग्यो भने सहायता गरेर त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने अवस्था सिर्जना गर्नुपर्ने बताए।
अध्यक्ष ओलीले अप्ठ्यारोमा परेको वेला ऋणीहरूको गजबको जग्गा रहेछ भन्दै लिलामीमा राख्ने तरिका उपयुक्त नभएको बताए। उनले निक्षेपकर्ताहरू र ऋण लिएर बैंक चलाइदिनेहरू नै बैंकका आधार भएको बताए। उनले बैंकमा ऋण लिनेहरू फालाफाल भएकाले अहिले बैंकहरूले ऋण लिनेहरूको महत्व बुझ्न नसकेको बताए। उनले ऋण लिनेहरूले नै बैंकहरू चलाइदिने, ब्याज तिरिदिने पैसा गतिशील बनाइदिने भएको भन्दै बैंक र ऋणीहरूको सम्बन्ध तनावको रूपमा नभएर सुमधुर हुन आवश्यक रहेको बताए।
उनले भने, ‘बैंकहरूबाट जुन शर्तमा ऋण दिएको छ त्यो शर्त पालना हुनुपर्छ। कुनै कारणवश त्यो शर्त पालना हुनै नसक्ने अवस्था आयो भने दुवै पक्षको सहमतिपछि मात्रै बैठकले घटबढ गर्नेछ भन्ने लेख्या हुन्छ तर घट भन्ने त लेख्या मात्रै हो कहिल्यै हुँदै हुँदैन। बढमात्रै हुने हो। त्यो बढ एकलौटी बढ्न नपाउने व्यवस्था हुनुपर्छ। अहिलेको अवस्थामा रहेको ऋणको ब्याज दरलाई एकल अंकमा ल्याउनुपर्छ।’
अध्यक्ष ओलीले वर्तमान सरकारले सार्वभौम सत्ताको सम्मान गर्न नसकेको टिप्पणी गरे। उनले आफू प्रधानमन्त्री भएका वेला बनाएको पोखरा विमानस्थलमा वर्तमान सरकारले उडान भर्न नसकेको भन्दै आपत्ति जनाए। उनले पोखरा विमानस्थलबाट जहाज उडान गर्न सरकारलाई कसले रोकेको भन्दै प्रश्न गरे।
उनले पोखरा मात्रै नभएर भैरहवा विमानस्थलमा समेत वर्तमान सरकारले जहाज उडाउन नसकेको बताए। उनले चिनियाँ ठेकेदारले विमानस्थल बनायो भन्दैमा उडान गर्न नदिने विषयलाई सरकारले मान्ने काम राम्रो नभएको बताए।
उनले भने, ‘हामीले आफैंले सार्वभौमसत्ताको सम्मान गर्न सकेनौं, अरू कसले गरिदिने? हाम्रो स्वाधीनता र स्वतन्त्रताको आफैँले सम्मान गर्न सकेनौं। त्यसमा आफैँ उभिन चाहेनौं भने को उभिने ? हामीले पोखरामा विमानस्थल बनायौं। हामीले भैरहवामा विमानस्थल बनायौं। अहिलेको लुते सरकारले त्यहाँबाट किन प्लेन उडाउँदैन?’
अध्यक्ष ओलीले नेपाल विकासको फड्को मार्न चाहेकाले जसले सस्तोमा बनाइदिन्छ उसैलाई बनाउन दिनुपर्ने बताए। उनले जसले सस्तोमा सामान दिन्छ, उसको किन्ने र महँगोमा जसले हाम्रो सामान किन्छ उसैलाई बेच्नुपर्ने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया