Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

‘दिवा खाजा’मा रकम वृद्धि : प्रतिविद्यार्थी अब २० रुपैयाँ!

श्याम राई

काठमाडौं : सरकारले लामो समयपछि ‘दिवा खाजा’मा रकम वृद्धि गरेको छ। यसअघिसम्म प्रतिदिन प्रतिविद्यार्थीका लागि १५ रूपैयाँ तोकिएकोमा अबदेखि भने पाँच रूपैयाँ बढाएर २० रूपैयाँ पुर्‍याइएकाे छ। दिवा खाजा रकम कम भएकाे भन्दै बढाउनुपर्ने बारम्बार माग उठेकाे थियाे।

सरकारले यस वर्ष भने दिवा खाजा कार्यक्रमको लागि रकम नै वृद्धि गरेको छ। अघिल्लो वर्षको तुलनामा झण्डै २ अर्ब बजेट वृद्धि भएको छ। जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै कक्षा-५ सम्मको दिवा खाजा कार्यक्रमको लागि १० अर्ब १९ करोड विनियोजन गरेको घोषणा गरे।

यसबाट १८ लाख विद्यार्थीहरू लाभान्वित हुने उनले बताए। गत वर्ष सरकारले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड मात्रै विनियोजन गरेको थियो। उक्त बजेटमार्फत वृद्धि भएर आएको रकम अनुसार नै दिवा खाजामा पाँच रूपैयाँ रकम बढाएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले जानकारी दिए।

उनले भने,‘हामीले कक्षा-६ सम्म नै दिवा खाजाको लागि बजेट विनियोजन हुनुपर्ने भनेर माग गर्दै आएका थियौँ,पहल गरौँ,तर कक्षा हिसाबले विस्तार भएन,बजेट चाही गत वर्ष तुलनामा वृद्धि भयो,त्यही भएर पहिला दिइँदै आएको १५ रूपैयाँमा पाँच रूपैयाँ थपेर प्रतिदिन प्रतिविद्यार्थीलाई २० रूपैयाँ पुर्‍याएका छौँ।’

उनका अनुसार कर्णालीका विद्यार्थीहरूका लागि भने दिवा खाजा रकम वृद्धि गरिएको छैन। सरकारले पहिलादेखि नै ती क्षेत्रका विद्यार्थीका लागि प्रति दिन प्रतिविद्यार्थीलाई २० रूपैयाँ तोकेको छ। स्थानीय तहले थप रकम दिएर २५ रूपैयाँसम्म पुर्‍याइएकाे छ।

अनिवार्य स्थानीय उत्पादित खाजा प्रयोग

सरकारले ‘जङ्क फुड’ (पत्रू खाना)लाई निषेध गर्दै स्थानीय उत्पादनमा आधारित पोषणयुक्त खाजा अनिवार्य गर्नुपर्ने नीति ल्याएसँगै हाल सबै विद्यालयहरूमा अनिवार्य दिवा खाजामा स्थानीय तहमा उत्पादित परिकारसँगै फलफूल खुवाउने गरिएकाे छ।

सरकारले २०७७ सालबाटै जङ्क फुड निषेध गर्दै अनिवार्य पकाएरै खुवाउनुपर्ने निर्णय गरेको थियो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको मेनुमा पोषिलो जाउलो, खीर, हलुवा, चिउरामासु लगायत खुवाउनुपर्ने मापदण्ड तोकिएको छ। स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१ स्वीकृत भएर कार्यान्वयनमा पनि आएको छ।

पछिल्लो समय स्थानीय उत्पादित खाद्यवस्तुुहरू दिवा खाजाको रूपमा प्रयोग गरिँदै आएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक काप्रीले बताए। ‘अहिले विद्यालयहरूमा स्थानीय कृषि उपजमा आधारित खाद्यान्न, तरकारी, दूध, दही, माछा‚ मासु, फलफूललगायत सामग्रीबाट ताजा र पोषिलो दिवा खाजा खुवाउने गरिएको छ,’उनले भने,‘यसबाट विद्यार्थीहरूको स्वास्थ्य राम्रो हुन्छ भने कृषकहरूलाई फाइदा पनि पुगेको छ।’

उनका अनुसार कतिपय विद्यालयहरू आफैले दिवा खाजाका लागि आवश्यक पर्ने खाद्य वस्तुहरूको उत्पादन गर्न थालेका छन्। तरकारी खेती गर्न थालेका छन्।

के-कस्तो तोकिएको छ दिवा खाजा मापदण्ड ?

शिक्षा मन्त्रालयले विद्यालय तहमा स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजाको प्रबन्धलाई व्यवस्थित गर्न मार्गदर्शन गर्ने, विद्यालयका बालबालिकालाई स्थानीय उत्पादनमा आधारित स्वस्थकर तथा पौष्टिक खाजाको सुनिश्चितताका लागि थप नीतिगत आधार तय गर्नेलगायतका उद्देश्य लिएर स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप ल्याएकाे छ।

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूपमा दिवा खाजाको व्यवस्थापन गर्दा हरेक खाजामा अन्न समूहबाट ५०-६० ग्राम, गेडागुडी समूहबाट ४०-५० ग्राम, फलफूल तथा हरियो सागसब्जीबाट ३०-५० ग्राम र पशुजन्य उत्पादनबाट २०-३० ग्राम गरी कुल १५० देखि २०० ग्रामसम्म हुने गरी तोकिएको छ।

चारै समूहको औसत प्रतिविद्यार्थी १७५ ग्राम हुने गरी तोकिएको छ। दिवा खाजाको मेनुको हकमा विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका २०७७ मा तोकिएको मेनु सान्दर्भिक रहेको भन्दै उक्त अनुसार खाजा व्यवस्थापन गर्न सकिने शिक्षा मन्त्रालयले जनाएको छ।

सरकारी (सामुदायिक) विद्यालयमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका, २०७६ अनुसार दिवा खाजा कार्यक्रमको सुरूवात विसं १९६४ देखि भएको हो। त्यस बेला ३७ जिल्लामा सुरू भएको थियो। हाल ७७ वटा जिल्लामै दिवा खाजा कार्यक्रम सञ्चालन भएको छ।

कम्तीमा ३० प्रतिशत पोषण परिपूरक हुने विविधतामूलक आहार उपलब्ध गराएर विद्यालयमा बालबालिकाको स्वास्थ्य र पोषण स्थिति सुधार गर्ने, शिक्षण सिकाइमा बालबालिकाको सहभागिता वृद्धि र सिकाइ सुधार गर्न यो कार्यक्रम सुरू भएको हो।   

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP