सत्रौँ गणतन्त्र दिवसको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको सन्देशमा उत्पीडित वर्ग र जातिको सङ्घर्षबाट वंशवादी सामन्ती निरंकुशतन्त्र परास्त गरी नेपालमा गणतन्त्र स्थापना गरेको कथा सुनाए।
अब मुलुकमा नयाँ संविधानले परिकल्पना गरेअनुसार समाजवाद उन्मुख दिशा अवलम्बन गरेर सुशासन, सामाजिक न्याय र समृद्धि ल्याउने परिकल्पना पनि सुनाए। उनलाई प्रतिनिधि पात्रको रूपमा यहाँ उद्धृत गरिएको हो। यस्तो भनाइ नेपालका प्रायः सबै राष्ट्रिय स्तरका नेता, बुद्धिजीवी, तथा पत्रकारहरूबाट सुनिन्छ। यी शब्दहरू कर्णप्रिय लागे तापनि गणतन्त्र स्थापना भएपछि दल र तिनीहरूका नेता कार्यकर्ताहरूको कार्यशैली त्यस अनुरूप देखिएको छैन। प्रायः सबै नेताको ‘जसरी भए पनि’ सत्तामा पुग्ने र राज्यका स्रोतदोहन गर्ने सोच देखिएको छ।
यहीँको कच्चा पदार्थमा आधारित उद्योगहरू बन्द भएका छन्, युवाहरू विदेश पलायन भएका छन्, कृषि क्षेत्र घर कुर्ने बुढाबुढीले धानेका छन्, जताततै भ्रष्टाचार व्याप्त छ। तर मुलुकमा समाजवाद, सामाजिक न्याय, सुशासन र समृद्धि ल्याउँछु भन्ने नेताहरूले मुलुकको यो अवस्था देखेका छैनन्। उनीहरू आफ्नै तालमा मस्त छन्।
नेपालको इतिहास अध्ययन गर्दा विभिन्न कालखण्डमा ससाना राज्यहरूलाई एकीकरण गरेर शाह राजाहरूले यो देश बनाएको देखिन्छ। तिब्बत, चीन र भारतका विभिन्न समयका शासकसँग सम्बन्ध तथा सम्पर्क राख्दै विगत ३०० वर्षदेखि यो देशलाई अक्षुण्ण राख्न उनीहरूको महत्त्वपूर्ण भूमिका छ। अझै यो संस्थाले नेपालको स्वतन्त्र सार्वभौम अस्तित्व र पहिचान कायम गर्न महत्त्वपूर्ण रक्षा कवचको रूपमा काम गर्नसक्छ।
नेपालको हितमा समर्पित राजसंस्थाको देनलाई बुझ्नै नखोजेर प्रायः सबै नेता, बुद्धिजीवी, पत्रकारहरूले राजा र उनका परिवारका सदस्यहरूलाई व्यक्तिगत रूपमा तल्लो स्तरका गालीगलौज र टिका टिप्पणी गरेको सुनिन्छ। तर गणतन्त्रका नायकहरू स्वयंले सादगी जननेता बन्नुभन्दा पनि राजाकै नक्कल गरेर अगुवा-पछुवा गाडीको लर्को लिएर हिँड्ने रहर गरेको देखिरहिएको छ।
अहिलेका प्रायः सबै नेता, बुद्धिजीवी तथा पत्रकारहरूले राज्यलाई नितान्त प्राविधिक रूपमा बुझेको जस्तो देखिन्छ। राज्यको निरन्तरतामा यसको ऐतिहासिक पृष्ठभूमि, परम्परागत सम्बन्ध, मौलिकता झल्काउने रीतिरिवाजलाई असान्दर्भिक ठानेको जस्तो देखिन्छ। हुन त राजा स्वयंले पनि नेपालको आफ्नै मौलिक परम्परा, इतिहास तथा पहिचानलाई अथवा भनौँ वर्तमान विश्व परिवेशमा नेपालको छुट्टै पहिचानलाई बुझाउन पर्याप्त पहल गरे जस्तो लाग्दैन।
हुन त बेलाबखत राजाले दिने सन्देश तथा भ्रमणहरूबाट जनतामा उत्साह जागेको भने देखिन्छ। तर त्यो उत्साहलाई कसरी कार्यरूपमा बदल्ने र राजाले भनेको ‘पृथ्वीपथ’ लाई राज्य प्रणालीमा कसरी रूपान्तरित गर्ने भन्ने कुरा स्पष्ट रूपले बुझाउने प्रयास गरेको देखिँदैन। राजाले देखाएको सपना पनि क्रान्तिकारी दलहरूले हिजो भन्ने गरेको ‘जनताको मुक्ति’ जस्तै हुने त होइन भन्ने अन्योलता जनस्तरमा छ।
वास्तवमा भन्ने हो भने नेपालले आफ्नो छुट्टै पहिचान र सान्दर्भिकता विस्तारै गुमाउँदै गएजस्तो लाग्छ। विश्वको एक मात्र ‘हिन्दु अधिराज्य’ले आफ्नो छुट्टै पहिचान दर्शाउने ऐतिहासिक परम्पराहरू, बिम्बहरू तथा संस्थाहरू हटाएर सिमावर्ती भारतीय राज्यहरू जस्तै देखिन थालेको छ। त्यसैले पनि होला केही महिनाअघि भारतका पूर्व राजदूत रन्जित रेले भारतीय मिडियामा ‘नेपाल छुट्टै देश हुनुपर्ने सान्दर्भिकता छैन’ भने। हुन त हाम्रै संसदमा सांसद अमरेश सिंहले राज्यको स्रोत साधनको वितरणमा केही जिल्लाका नेताहरूको हाली मुहालीप्रति व्यङ्ग्य गर्दै चार पाँचवटा जिल्ला बाहेक अरु जिल्लाहरूलाई लिजमा दिए हुन्छ भनिदिए। तर त्यो व्यङ्ग्यले संसदमा गालीगलौज बाहेक राजनीतिक बहसमा कुनै तरङ्ग ल्याएन।
नेपालको वर्तमान तस्वीर यस्तो छ भने उता समकालीन विश्व खतरनाक मोडमा आइपुगेको छ। रसिया-युक्रेन, इजरायल-इरान, भारत-पाकिस्तान हुँदै थाइल्याण्ड-कम्बोडियामा युद्ध शुरु भएको छ। यस्तो अवस्था अध्ययन गर्दा कुनै पनि बेलामा विश्वयुद्धको रूप लिन सक्ने सम्भावना देखिँदैछ। यो अवस्थामा सबै राष्ट्रहरू, विशेष गरेर साना राष्ट्रहरू आफूलाई युद्धको विभिषिकाबाट कसरी जोगाउने भन्नेतर्फ लागेका छन्।
यता नेपालमा भने पार्टीका महाधिवेशन, क्रियाशील सदस्यता वितरण तथा अध्यक्ष पदमा कसरी जित्ने भन्ने तिगडमवाजीमा राष्ट्रिय नेतृत्व अलमलिएको छ। त्यसैले यस्ता विश्व घटनाक्रममा चासो राख्ने फुर्सद उनीहरूसँग छैन।
यही परिप्रेक्षमा भर्खरै सतहमा देखिन लागेको रसिया, चीन र भारतको क्षेत्रीय गठबन्धनको कसरतले नेपाललाई पनि प्रभाव पार्न सक्छ। दोस्रो विश्वयुद्धले तय गरेको विश्व शक्ति संरचनाबाट पश्चिमी देशहरूलाई मात्र फाइदा पुर्यायो भनेर उदियमान शक्ति राष्ट्रहरू (ब्राजिल, रसिया, इण्डिया, चाइना, साउथ अफ्रिका) ले नयाँ BRICSगठबन्धनको परिकल्पना गरे। यसले मुख्यतया वर्तमान विश्वशक्तिलाई प्रतिबिम्बित हुने गरी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को पुनर्गठन गर्ने, वैकल्पिक विश्व वाणिज्य संरचना बनाउने तथा सोको मुद्राको समेत परिकल्पना गरेको छ।
तर युक्रेन युद्धताका पश्चिमा शक्ति राष्ट्रहरूले गरेको नाकाबन्दीबाट जोगिन एसियाका उदियमान शक्ति राष्ट्रहरू रसिया, चीन र भारतले १९९० ताका गठन गरेको र त्यसबीचमा बिभिन्न कारणले सेलाएको क्षेत्रीय रणनीतिक गठबन्धनलाई पुनः ब्युँझाउनुपर्ने आवश्यकता महसुस गरेका छन्। त्यही अनुरूप उनीहरूको शिखर बैठक चीनमा यही भदौ १४ र १५ गते (अगष्ट ३१-सेप्टेम्बर १) मा हुँदैछ। त्यसको तयारीको लागि भारतका परराष्ट्रमन्त्री यस जयशंकर चीनको भ्रमणमा गइसकेका छन्।
यो शिखर बैठकमा नेपालको विषयमा छलफल होला कि नहोला? चीन र भारतको बीचमा रहेको सार्वभौम मुलुक भएकोले यसको रणनीतिक महत्त्व दुवै देशहरूलाई छ। अमेरिकाले एमसीसी मार्फत आफ्नो रणनीतिक जालोमा नेपाललाई पनि फसाउने कसरत गरिरहेको पृष्ठभूमि छ। देशभित्रको अस्थिर राजनीति, कमजोर राज्य संरचना र भ्रष्टाचारको जालोमा फसेको अर्थतन्त्र भएको देशले उदियमान शक्तिराष्ट्रहरूलाई आफू तटस्थ रहने विश्वसनीय सन्देश दिन सक्दैन
त्यसैले यहाँको अस्तव्यस्ततालाई सीमावर्ती इलाकाहरूमा पोखिन नदिन कुनै लगाम लगाउने सोच पो होला कि? अझ भनौँ, यो बैठकको पूर्वसन्ध्यामा यहाँको वस्तुस्थिति आँकलन गर्न नेपालमा राजदूत रहिसकेका रञ्जित रेलाई भारतले काठमाडौँ पठाएको हो र उनले दिएको प्रतिवेदनको आधारमा त्यो बैठकमा छलफल हुने हो भने त्यो नेपाल अनुकूल नहुन सक्छ। किनभने रन्जित रेले सार्वजनिक गरेका अभिव्यक्तिहरू नेपाल अनुकुल छैनन्।
मुख्य कुरा, दुवै छिमेकी मुलुकहरूलाई संलग्न गराएर आफ्नो उन्नति गर्ने रणनीति नेपालसँग भएन। यस्तो रणनीति कसरी बनाउने भन्ने कुरा पाकिस्तानबाट पनि सिक्न सकिन्छ। शीत युद्धताका पश्चिमी रणनीतिक खेमामा आबद्ध पाकिस्तानले १९९० पछि बिस्तारै चीनतिर ढल्किन थाल्यो। चीनको पश्चिमी क्षेत्रमा इन्धन तथा उपभोग्य वस्तुहरूको आपूर्ति गर्ने उद्देश्यले चीन पाकिस्तान आर्थिक करिडोर निर्माण गरी पाकिस्तानको ग्वाँदर बन्दरगाहलाई बहुउद्देश्यीय व्यापार केन्द्रको रूपमा विकास गर्न चीनसँग साझेदारी गर्यो। यसमा चीनले करिब ४० अर्ब डलरको लगानी गरेको छ। युक्रेन र मध्यपूर्वको लडाइँपछि पश्चिमी देशहरूले लगाएको नाकाबन्दीबाट बच्ने वैकल्पिक मार्गको रूपमा रसिया तथा मध्य एसियाका राष्ट्रहरूले यो मार्गलाई उपयोग गर्न उत्सुकता देखाएका छन्।
हुनत पाकिस्तानले इस्लामिक उग्रपन्थीहरूलाई पालेर भारतविरुद्ध आतंकवादी आक्रमण गर्ने छद्म नीति नलिएको भए त्यो देश अरु समृद्ध हुन सक्थ्यो। तथापि अब बन्ने क्षेत्रीय गठबन्धनमा पाकिस्तानले यो वैकल्पिक मार्गलाई भरपुर उपयोग गर्ने सम्भावना छ।
त्यस्तै नेपालसँग पनि अपार सम्भावनाहरू छन्। एक्काइसौं शताब्दीमा स्वच्छ पानीको भण्डारण र आपूर्तिलाई महत्त्वपूर्ण व्यापार मानिन्छ। नेपालले पनि हिमालय क्षेत्रबाट बग्ने नदीहरूमा ठूलाठूला जलाशय बनाएर भारतीय बजारमा स्वच्छ पानी र स्वच्छ उर्जा बेच्न सक्छ। सन् २०१२ मा भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामसँग भेटवार्ता हुँदा उहाँले नेपालले हिमालयको स्वच्छताको जगेर्ना गर्दै आफ्नो उन्नति गर्ने सोच बनाउनुपर्छ भन्थे। उनले भनेका थिए, ‘तीन अर्ब जनसङ्ख्याको वासस्थान भएको एशिया क्षेत्रलाई हिमालयको स्वच्छ जलवायु, स्वच्छ पानी र स्वच्छ उर्जा अति आवश्यक पर्छ। तर ती सित्तैँमा पाइने वस्तु होइनन्। तिनीहरूको जगेर्ना गर्न सकिएन भने पर्यावरण सन्तुलन खलबलिएर खडेरी र बाडी लगायतका प्रकोपहरूबाट जनधनको क्षति हुन्छ। त्यसैले हिमालय क्षेत्रको दिगो विकासमा लगानी गर्न भारत, चीन लगायतका मुलुकहरूलाई बुझाउन नेपालले पहल गर्नुपर्छ।’
तर त्यस्तो बृहत् साझेदारीको लागि गृहकार्य भएन। हुन त चीनले पनि नेपाललाई Landlockedबाट Land linkedहुने प्रस्ताव दिएकै हो। तर त्यसको अन्तर्यमा रहेको हिमालय क्षेत्रको दिगो विकास गरेर भारत र चीन दुवैलाई फाइदा हुने बृहत् सोच बनाउनु भन्दा उटपट्याङ परियोजनाहरू अगाडि सार्दा कसैले पत्याएनन्।
सुन्नमा आए अनुसार भारतले नेपालका प्रधानमन्त्रीलाई भदौको अन्तिम साता भारत भ्रमणको निम्तो दिएको छ। त्यो भनेको त्रिदेशीय शिखर बैठक पछिको समय तालिका हो। अब त्यो समयमा त्रिदेशीय शिखर बैठकको निर्णयको जानकारी नेपाललाई दिने मात्र होला भन्ने अनुमान अहिले नै नगरौँ।
बरु यो अवसरलाई नेपालले भारतसँग साझेदारी गरेर हिमालय क्षेत्रको जलसम्पदाको बहुउपयोग गर्दै जलवायु परिवर्तनको प्रभावबाट हिमालय क्षेत्रलाई जोगाउनेदेखि लिएर समग्र गङ्गातटीय क्षेत्रको आर्थिक उन्नति गर्नेसम्मका विषयमा छलफल गर्न सकियो भने नेपाललाई फाइदा हुनसक्छ। त्यस्तो साझेदारीबाट भारतको २०४७ सालमा विकसित राष्ट्र हुने सपनामा मद्दत पुग्न सक्छ भन्ने कुरा बुझाउन सक्नुपर्छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया