काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको हरियो धनियाँ र काँक्रो खानका लागि अयोग्य देखिएको छ।
आज बिहान केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइबाट परीक्षण गर्दा हरियो धनियाँ र काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको हो।
केन्द्रले जारी गरेको विषादी अवशेष विश्लेषण नतिजाअनुसार, हरियो धनियाँमा अर्गानोफस्फेट नामको विषादी ५५.२९२ प्रतिशत र काँक्रोमा ४६.५०० प्रतिशत भेटिएको कालिमाटी बजार समितिले जनाएको छ।
खान नहुनेगरी विषादी प्रयोग भएको पाइएको धनियाँ भक्तपुर र काँक्रो नवलपरासीबाट व्यापारीले कालिमाटी बजारमा ल्याइ पुर्याएका थिए। प्रयोगशाला कालिमाटी एकाइमा आज भक्तपुर, धादिङ, काठमाडौं, नवलपरासी, काभ्रेपलाञ्चोकबाट ल्याइएका हरियो धनियाँ, ब्रोकाउली, रायो साग, गान्टे मुला, पालुङ्गोको साग, काँक्रो, तोरीको साग, च्याउ, आलुमा कार्वामेट र अर्गानोफस्फेट समूहको कीटनाशक विषादीहरूको परीक्षण गरिएको थियो।
कार्वामेट र अर्गानोफस्फेटको दर ३५ प्रतिशतभन्दा कम रहेको तरकारी उपभोग योग्य मानिएको छ। यस्तैगरी ३५ देखि ४५ प्रतिशतको केही दिन राख्ने र पर्खेर खान सकिनेछ भनिएको छ।
तर ४५ प्रतिशत भन्दा बढी विषादी भेटिए खानका लागि अयोग्य हुने भएकाले त्यसलाई विसर्जन गर्ने भनिएको छ। पछिल्लो समय तरकारी, अन्न, फलफूल लगायतका उपभोग्य वस्तुहरूमा विषादीको बढ्दो प्रयोगले उपभोक्ताको स्वास्थ्य नै जोखिममा परेको छ।
विज्ञहरुले मानव स्वास्थ्य र पर्यावरणका लागि समेत जोखिम निम्त्याइरहेको रासायनिक विषादीको विकल्पमा जैविक विषादीको प्रयोगमा जोड दिँदै आएका छन्।
तर, धेरै उत्पादन गर्ने र उपजलाई आकर्षक देखाउने होडमा किसानहरूले करेसा देखि खेतबारीसम्म विषादीको जथाभावी र अत्यधिक प्रयोग गर्दै आएका छन्।
केही तरकारीहरू काँचै पनि खाने गरिन्छ जसले गर्दा विषादीको प्रयोगले जोखिम बढाएको छ। आयातको तथ्यांक हेर्ने हो भने प्रत्येक बर्ष बढेको देखिन्छ, जसले नेपालमा विषादीको खपत बढेको स्पष्ट हुन्छ।
देशका ठूला सहरहरूमा १२ वटा विषादी परीक्षण केन्द्रहरूबाट विषादीको परीक्षण हुने गरेको छ तर केन्द्रीय राजधानीमा रहेको देशकै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिने तरकारीहरूमा विषादी भेटिने गरेको छ।
यसअघि कालीमाटीमा भित्रिएका काँक्रो, रायो साग, घिउसिमी, घिरौँला, हरियो फर्सी, अकबरे खुर्सानीमा अत्यधिक विषादी हालेको भेटिएको थियो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया