सुजता लिम्बू
विराटनगर :मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १२ वर्षीया बालिका अंशु गौतमको रहस्यमय मृत्युको घटना साढे दुई महिनापछि सुल्झिएको छ। प्रहरीले लामो र गहन अनुसन्धानपछि बालिकाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकाल्दै ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।
अंशुको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका अधिकारीविरुद्ध जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरी प्रहरीले ‘जबरजस्ती करणी’ र ‘कर्तव्य ज्यान’ मुद्दामा विस्तृत अनुसन्धान अघि बढाएको छ।
यो घटनाको अनुसन्धान नेपाल प्रहरीका लागि निकै चुनौतीपूर्ण बनेको थियो। गत असोज २१ गते घरबाटै हराएकी बालिकाको शव १८ दिनपछि (कात्तिक ७ गते) घरभन्दा करिब ४ किलोमिटर टाढा चारकोशे झाडीमा क्षतविक्षत अवस्थामा फेला परेको थियो।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र कोशी प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा विशेष अनुसन्धान टोली गठन गरेको थियो। प्रहरीले यस अभियानलाई ‘अपरेसन जेएजी’ अर्थात् ‘अपरेसन जग’ नामकरण गरेको थियो।
अनुसन्धानका क्रममा सीआईबीका दक्ष अधिकृतहरू लामो समयसम्म मोरङमै मुकाम खडा गरेर खटिएका थिए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवाले भने ‘यो घटना हाम्रो लागि अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण थियो। हामीले घटनास्थलको सूक्ष्म विश्लेषण, तीन सय भन्दा बढी शंकास्पद व्यक्तिहरूको ‘प्रोफाइलिङ’, प्राविधिक विश्लेषण र फरेन्सिक जाँचपछि मात्र अभियुक्तसम्म पुग्न सफल भयौं।’ अभियुक्त पहिचानका लागि केही व्यक्तिहरूको पोलिग्राफ परीक्षणसमेत गरिएको उनको भनाइ थियो ।
पाँच रुपैयाँ दिएर साथी धपाए, अंशुलाई जंगल लगे
प्रहरीका अनुसार घटना भएको दिन (असोज २१ गते) अंशु आफ्नी एक साथीसँग खेलिरहेकी थिइन्। अभियुक्त अधिकारीले ती साथीलाई ५ रुपैयाँ दिएर ‘दिदीलाई खोजेर ल्याऊ’ भन्दै त्यहाँबाट पठाएका थिए। साथी गएपछि उनले अंशुलाई ‘घाँस काट्न सहयोग गर’ भन्दै फकाएर जंगलको मुखमा बोलाए।
त्यहाँबाट पदमले अंशुलाई साइकलको पछाडि राखेर जंगलभित्र लगेका थिए। एसपी कटुवालका अनुसार अभियुक्तले बालिकालाई घरबाट करिब साढे ४ किलोमिटर भित्र घना जंगलमा पुर्याएर जबरजस्ती करणी गरेको र पोल खुल्ने डरले घाँटी थिचेर तथा साथमा रहेको खुर्पाले रेटेर हत्या गरेको देखिन्छ।
शंका छल्न खोजीमा सहभागी, पछि मेघालय भागे
हत्यापछि आफूमाथि शंका नहोस् भनेर अभियुक्त अधिकारी केही दिन गाउँमै सामान्य रूपमा बसेका थिए। उनी अंशुको खोजी कार्यमा समेत सक्रिय देखिएका थिए। तर, प्रहरीले अनुसन्धानको घेरा साँघुरो बनाउँदै लगेपछि र शव फेला परेपछि उनी कात्तिक १९ गते घरमा कसैलाई नभनी भारतको मेघालयतिर भागेका थिए। त्यहाँ उनी गाई दुहुने (गोठालो) काम गरेर लुकिछिपी बसेको अनुसन्धानबाट खुलेको छ।
‘हामीले शंकास्पद व्यक्तिहरूको निरन्तर निगरानी गरिरहेका थियौं। उनी भारत भागे पनि हाम्रो संयन्त्रले ट्रयाक गरिरहेको थियो,’एसपी कटुवालले भने’ त्यसपछि उनी हाम्रो पञ्जामा परे।’
उनको अनुसार मुलुकी अपराध संहिता अनुसार १२ वर्ष मुनिका वा बालबालिकामाथि हुने जबरजस्ती करणी र हत्याको घटनामा आजीवन कारावासको सजाय हुने व्यवस्था छ। प्रहरीले सोही कानुनी प्रावधान अनुसार अभियुक्त अधिकारीमाथि अधिकतम सजायको मागदाबी गर्दै सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा लैजाने तयारी गरेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया