Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बालबालिकाको पालनपोषण, संरक्षण, स्वास्थ्य र शिक्षा लगायतका आधारभूत आवश्यकताको व्यवस्था

 

सरस्वती अधिकारी

काठमाडौं : ‘जब सानो थिएँ, केही थाहा थिएन। न परिवार, न आफन्त, न आफ्नो वास्तविक पहिचान। बालगृह नै मेरो घर थियो, ठूलो भएपछि अचानक ‘तिम्रो परिवार यो हो’ भनेर बुझाइयो। जहाँ पुगेपछि मेरा लागि प्रश्न र कठिनाइहरू मात्र जन्मिए।’

उर्मिला विश्वकर्मा (नाम परिवर्तन) बालगृहमा आफ्नो हुर्काइ र भोगाइपछि परिवारमा पुनर्मिलनको अनुभव सुनाउँदै छिन्।

उर्मिला दुई वर्षकी मात्र थिइन्, जसको काखमा खेल्दै-हुर्किँदै रम्ने उमेर थियो, तिनै बुबाआमाले कमजोर आर्थिक अवस्थाका कारण मामाको सल्लाहमा अरु दुई दिदीसहित उनलाई काठमाडौँको एक बालगृहमा पठाइदिए। आशा थियो, राम्रो शिक्षा र हेरचाहको।

बालखामै बुबाआमा छाडेर काठमाडौँ ल्याइपुर्‍याइएकी उर्मिलाले पत्तै नपाई दिदीहरूको साथ पनि छाड्नुपर‍्‍यो। ​बालगृह पुगेको एक वर्षमा दुई दिदीलाई बालगृहले धर्मसन्तानको रूपमा फरक-फरक देशका नागरिकको साथमा पठाइदियो।

उनलाई भने केही समयपछि अर्को बालगृहमा सारियो। एउटा बालगृहबाट अर्कोमा पुग्दा उनले धेरै बाल सखाहरूसँग भेट्ने अवसर त पाइन् तर परिवारसँगको दूरी झन् बढ्दै गयो।

बालगृहमा उनले राम्रो शिक्षा, सेवा-सुविधा र हेरचाह पाइन् तर परिवारको माया र हेरचाह उनलाई सधैँ खड्किरह्यो। बाबुआमा र दिदीहरूको धेरै याद आइरहन्थ्यो।

कतिले उर्मिलालाई अनाथ ठान्थे तर उनलाई यसको अर्थ नै थाहा थिएन। परिवार थियो। आमाबुबा जीवित थिए। तर कोही नभएको जसरी संस्थागत हेरचाहमा हुर्किनुपर्यो।

उनलाई न बाबुआमाको नाम थाहा थियो, न अनुहार याद थियो। उनलाई लाग्थ्यो ‘यो संसारमा मेरो आफ्नो कोही छैन।’ परिवार, अभिभावकलाई लिएर प्रश्नै-प्रश्नहरूको घेरमा थिइन् उनी। जब प्रश्नको जवाफ भेटिइन् भावनात्मक रूपमा जवाफहरूबाट टाढा भइसकेकी थिइन्, उर्मिला।

​एकदिन नेपाल सरकारले उनी बसेको बालगृह मापदण्डअनुसार सञ्चालन नभएको कारण सबै बालिकाको उद्धार गर्‍यो। एउटा संस्थाको सहयोगमा उर्मिलाले २०७२ सालमा आफ्नो परिवार भेट्ने मौका पाइन्।

परिवारसँग मिलन तर, बढेन आत्मीयता

परिवारसँगको पुनर्मिलनसँगै उर्मिलालाई थाहा भयो, उनका तीन भाइ पनि रहेछन्। तर सानैदेखिको दूरीले भावनात्मक रूपमा नजिक हुन र आत्मीयता कायम गर्न उनलाई निकै गाह्रो भयो।

घर पुगेपछि नै उनले आफूसँगै बालगृहमा पठाइएका दिदीहरूलाई धर्मसन्तान बनाएर विदेशी नागरिकले लगेको र एउटी फ्रान्स र अर्कीलाई इटालीमा रहेको थाहा पाइन्। ती दिदीहरूसँग सम्पर्क भइसकेको छ, तर उर्मिलाको भावना र भाषा मिल्दैन।

‘एक्कासि ठूलो भएपछि भेट्दा गहिरो माया हुँदो रहेनछ। भाषा नमिल्दा छ, कुराकानी गर्न पनि गाह्रो, आफ्नै दिदीहरूसँग पनि घुलमिल गर्न सकिरहेकी छैन’ , यति भनिरहँदा उनका आँखा रसाइरहेका थिए।

नेपालमा पारिवारिक बिछोड र अनाथालय बेचबिखन रोक्न सरकारसँगको सहकार्यमा परिवारमा आधारित वैकल्पिक हेरचाहका लागि कार्यरत हिमाली नवीन समाजको कार्यक्रममा बोल्दै थिइन्, उर्मिला।

हेर्दा खाइलाग्दी देखिन्छिन् उर्मिला। उनको बोल्ने शैली र प्रदर्शनले लाग्थ्यो, उनको हुर्काइ शिक्षा राम्रो थियो तर यथार्थ भोगाइ नमीठो। उनका अनुभव र आग्रह सुन्दा ‘जुनसुकै परिस्थितिमा पनि बालबालिकाले आफ्ना आमाबाबु वा परिवारमै हुर्किन पाउनुपर्छ’ भन्ने लागिरह्यो।

उर्मिला अहिले संस्थागत हेरचाह अनुभवी युवाको सञ्जालमा रहेर बालबालिकाको पारिवारिक संरक्षण प्रवर्धनका लागि कार्यरत छिन्।

आफूजस्ता युवाका लागि राज्यले निःशुल्क मनोसामाजिक परामर्श, शिक्षा, सीपमूलक तालिम, परिवारका लागि आय–आर्जन सहयोग र हेरचाह अनुभवी बालबालिकाको यथोचित तथ्याङ्क सङ्कलन जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने आवाज उठाइरहेकी छिन्।

कलिला भावनाको ख्याल गरिएन

दुइवटा बालगृहमा बाल्यकाल बिताएको अनुभव बटुलेकी कल्पना रिजाल (नाम परिवर्तन) संस्थागत हेरचाहमा बस्ने सबैको अनुभव एउटै नरहेको बताउँछिन्।

‘कसैले राम्रो शिक्षा, दीक्षा, हेरचाह पाएका छन्, कसैले धेरै दुख भोग्नुपरेको छ’ उनले भनिन्। बालगृहहरूमा रहेका बालबालिकालाई भेट्न पुग्नेहरूप्रति पनि उनको गुनासो छ।

जन्मदिन लगायतका शुभ अवसरमा बालगृहमा गएर केक काट्ने र खानेकुरा बाँड्ने प्रवृत्ति पनि उनलाई चित्त बुझेको छैन।

‘एउटाको नाममा केक काटिदिन्छन्। खानेकुरा बाँड्छन्। तर त्यहीँ अर्को बच्चामा पर्ने मानसिक प्रभाव कस्तो हुन्छ भनेर ख्याल गरिन्न’, कल्पना भन्छिन्, ‘केक काटेर सीमित बच्चाको लागि पैसा खेर नफाल्नुस्। बरु उनीहरू जस्तै अरु बालखाले परिवार छाड्न नपरोस भनेर कमजोर अवस्था भएका परिवार अनि समुदायमै गएर सहयोग गर्नुस्।’

आर्थिक अवस्थाका कारण, प्रलोभनमा परेर बालगृहमा बालबालिकालाई पुर्‍याइने गरिएको भन्दै कमजोर परिवारलाई सहयोग र प्रेरित गरेर बालबालिकालाई शिक्षा-दीक्षा दिलाउने, परिवारमै हुर्कने वातावरण बनाउनुपर्नेमा उनको जोड छ।

‘यसका लागि सरकारसँगै हरेक नागरिकले पनि आफ्नो तर्फबाट सकेको भूमिका निभाउनुपर्छ’ कल्पनाले भन्छिन्।

‘मायाले लोभ्याउँछन् अनि नफर्कने गरी छाडेर जान्छन्’

कल्पनासँगै सहभागी जुना रावत (नाम परिवर्तन) लाई चित्त नबुझेको अर्को भोगाइ छ, बालगृहमा विदेशी नागरिक (जो पर्यटकका रूपमा आउँछन्) को प्रवेश।

केही दिन, केही महिनाका लागि पर्यटकका रूपमा आउने विदेशी नागरिकले बालगृहमा ‘भोलिन्टियर’ रूपमा सेवा गर्ने गरेको पाइन्छ।​ उनीहरूबाट त्यहाँ रहेका बालबालिकाले पाउने माया र हेरचाहसँगै आशा र अपेक्षा बढ्दै जान्छ।

‘एउटा विदेशी दिदी वा दाइको माया बढ्दै जाँदा ऊ आफ्नो देश फर्किदिन्छ र अर्को दाइदिदी फेरि आउँछन्। ती पनि केही दिन माया दिन्छन्, आफ्नोपन बाँड्छन् अनि जान्छन्, यसरी आइरहने, गइरहने दाइदिदीको क्षणिक मायाले हामीलाई छोडेर जाँदा खल्लो मात्र बनाउँदैन, हामीलाई कसैले सधैँभरि माया गरिराख्दैन र हामी एकनासको मायाको हकदार रहेनछौँ भन्ने भाव जन्मिन्छ’, जुनाले रुँदै भनिन्।

छाडी जानेको माया चाहिन्न

आमा बुबाको माया कस्तो हुन्छ भनेर अनुभव गर्न नपाएका संस्थागत हेरचाहमा रहेका बालबालिका जोकोहीले त्यहाँ पुगेर देखाउने मायाले लोभिइहाल्छन्। तर त्यो धेरै लामो समय टिक्दैन, अनि उनीहरू भावनात्मक रूपमा टुट्न पुग्छन्।

‘विदेशीले लैजान्छ। हेरचाह गर्छ। पढाउँछ भनेर लोभ देखाइन्छ। दुई चार महिनामै छाडेर जाने अनि कहिल्यै नफर्किने कोही नपुगुन्, बालगृहका बालबालिकालाई झुक्याउन’, उर्मिलाले झोक्किँदै भनिन्, ‘कलिलो मनस्थितिमा घोचिरहने प्रश्न उब्जाइदिन विदेशी नागरिक वा अरु कोही आफन्त, दिदीदाइ हामीलाई चाहिँदैन।’

खुशी बाँड्न आउनेले नै समस्यामा पारे

स्वदेशी तथा विदेशी नागरिकले बालगृहमा पुगेर विभिन्न सेलिब्रेसन, सहयोग गरेपछि फोटो खिच्ने, भिडियो बनाउने, सार्वजनिक गर्ने गर्छन्। जसले किशोरावस्थामा पुगि सकेपछि मानसिक रूपमा कमजोर बनाइदिएको अनुभव छ जुनाको।

वर्थडे मनाउन, सहयोग गर्न पुग्नेहरूले त्यहाँ रहेका बालबालिकाको गोपनीयतामा हस्तक्षेप गरेका छन्, भावना र भविष्यको ख्याल गरेका छैनन्, जुना भन्छिन्।

उनको आफ्नै अनुभव सुनाइन् २००९ मा म बसेको बाल होममा एउटा विदेशीले बनाएर ‘पब्लिस’ गरेको भ्लगमा म रहेछु। त्यो भिडियो मैले २०२३ मा देखेँ। यो बेलासम्म म बालगृहबाट बाहिरिएर सामान्य जीवनतर्फ उन्मुख हुँदै थिएँ। सानो छँदा बालगृहमा रहेका बेलाको त्यो भिडियोले मेरो गोपनीयतामाथि हस्तक्षेप गर्‍यो, त्यो भिडियो हेरेपछि म पुरानै समयमा फर्किएँ। मेरा नमीठो बाल्यकाल ले फेरि झस्काइदियो। निकै मानसिक पीडा भयो।’

साना बालबालिकालाई फोटो खिच्न, भिडियोमा देखिन रमाइलो लाग्न सक्छ तर ठूलो भएपछि त्यही समस्या बनेर आउन सक्छ। बालगृहमा हुर्किएको विगत भुल्न चाहने किशोरकिशोरीलाई यस्ता सामग्री, जो डकुमेन्टका रूपमा रहन सक्छन्, तिनले विगतमै फर्काइदिने बताउँछिन्, जुना।

‘सानो उमेरमा अवश्य पनि यो सबै रमाइलो लाग्छ, तर हाम्रो सहमतिविना फोटो, भिडियो खिच्न पाइँदैन भन्ने थाहा भएन। हामी युवा अवस्थामा पुगेर बुझ्ने हुँदा हुर्काइ, भोगाइको असर त छँदैछ, यस्ता डकुमेन्टेसने हामीलाई मनोवैज्ञानिक असरहरूसँग डिल गर्न गाह्रो हुन्छ’, उनले भनिन्।

विशेषगरी राज्यले नै बालबालिकाको हेरचाह, शिक्षादीक्षाका लागि परिवारलाई नै जिम्मेवार बनाई सहयोग र प्रेरित गर्नुपर्ने उनीहरूको जोड छ। बालगृहबाट बाहिर आइसकेपछि उनीहरूलाई सहजरूपमा जीवनयापन गर्न उचित वातावरण कानूनीरूपमै सुनिश्चित गर्नुपर्ने उनीहरूको तर्क छ।

‘जसोतसो बालगृहमा बसिन्छ तर १८ वर्ष पुगेपछि कहाँ जाने?’, उर्मिलाले प्रश्न गरिन्। उनले कतिपय साथीहरूले आफ्नो वास्तविक पहिचानका लागि कानूनी झञ्झट समेत बेहोर्नुपरेको सुनाइन्।

‘हाम्रै बालगृहबाट गएका एक दाजु ३६ वर्षको हुनुभयो। विवाह गरिसक्नुभयो। कमाएर परिवार पाल्न सक्नुहुन्छ तर, उहाँको नागरिकता समेत बनेको छैन, कानूनी पहिचानमा समस्या भएको छ’, उनले भनिन्, ‘न बैंक खाता खोल्न सकेको छ। विदेश जान बलियो कागजात छैन। मानसिकरूपमै उठ्न दिइएको छैन हामीलाई।’

व्यावहारिक अनि कानूनी कठिनाइ

​हिमाली नवीन समाजका कार्यक्रम व्यवस्थापक सुरेन्द्र लामा तामाङका अनुसार बालगृहबाट परिवारमा पुगे पनि कतिपय बालबालिका एवं किशोर किशोरी परिवारमा घुलमिल हुन सकिरहेका छैनन्।

‘उनीहरूमा अट्याचमेन्ट डिसअर्डर, जोकोहीलाई विश्वास गरिहाल्न नसक्ने, परिवारमा सम्बन्ध कायम गर्न, वास्तविक परिचय खुलाउन, नागरिकता पाउन गाह्रो भइरहेको छ’, उनले भने, ‘उनीहरू मानसिक समस्याबाट गुज्रनुपरेको छ। बालगृह छाडेपछिको हेरचाह, १८ वर्षपछि कहाँ जानेजस्ता समस्या झेल्नुपरेको छ।’

वैकल्पिक हेरचाहको खाँचो रहेका बालबालिकाका लागि बालगृह नभई उनीहरूको पारिवारिक पुन:एकीकरण पहिलो प्राथमिकता हुनुपर्ने तामाङले बताए।

‘परिवारमा नै हुर्किन पाउने उनीहरूको नैसर्गिक अधिकारलाई सुनिश्चित गर्नु नै दिगो समाधान हो’,उनले भने। त्यसो त, बालगृहमा बसेका सबै बालबालिका अनाथ होइनन् भनेर तथ्यांकले पनि देखाएका छन्।

सहयोग गर्ने व्यक्तिहरूको मनसाय सही भए पनि बालगृहमा गएर जन्मदिन, वर्षगाँठ मनाइदिने र उनीहरूसँगको फोटो-भिडियो खिचेर सामाजिक सञ्जालमा राखिदिने गर्दा बालबालिकाको भावनामा थप चोट पुर्‍याउन सक्ने तामाङको तर्क छ।

स्थानीय तह, राष्ट्रिय बालअधिकार परिषदले बालगृह सञ्चालन, त्यहाँ स्वदेशी तथा विदेशी नागरिकको सेवा हेतु प्रवेश लगायतका सन्दर्भमा मापदण्ड अनुसार भए-नभएको कडाइका साथ अनुगमन गर्नुपर्नेमा उनले जोड दिए।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बाल अधिकार परिषदका अधिकृत (सूचना अधिकारी) रामबहादुर चन्द अनुमति लिएर मात्र बालबालिकालाई असहज नहुने र भविष्यमा ग्लानि नहुने गरी कार्यक्रम गर्न पाइने बताउँछन्।

सरकारी नीति

बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ४८ बमोजिमका विशेष संरक्षणको आवश्यकता भएका बालबालिका परिभाषित गरिएको छ।

शारीरिक, मानसिक, सामाजिक, आर्थिक, पारिवारिक वा अन्य कारणले जोखिमपूर्ण अवस्थाबाट प्रभावित भएका बालबालिकालाई विशेष संरक्षण, सहयोग र पुनःस्थापना आवश्यक हुन्छ, यसका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने ऐनले उल्लेख गरेको छ।

अनाथ, अस्पतालमा अलपत्र अवस्थामा छाडिएका वा बेवारिसे फेला परेका, अन्य कुनै पनि सार्वजनिक स्थानमा अलपत्र अवस्थामा छाडिएका वा बेवारिसे फेला परेका, बाबुआमाबाट अलग्गिएका, बाबुआमा पत्ता नलागी बेवारिसे भएका बालबालिकालाई विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको सूचीमा राखिएको छ।

तथ्याङ्कमा बालगृह र बालबालिका

परिषदका अधिकृत चन्दका अनुसार, हाल देशभर ४६ वटा जिल्लामा ३६६ वटा बालगृहहरू छन्, जसमा ४ हजार ६४० बालक र ५ हजार ५५३ बालिका गरी कुल १० हजार १९३ जना बालबालिका संस्थागत संरक्षणमा हुर्किरहेका छन्।

कुल बालगृहमध्ये ६९।१४५ बालगृह र संरक्षित बालबालिकामध्ये ६९.०२५ बागमती प्रदेशमा छन्। सबैभन्दा कम बालगृहको संख्या कर्णाली र मधेश प्रदेशमा ३.२९५ र बालबालिकाको संख्या मधेश प्रदेशमा १.७६५ रहेको उनले बताए।

आव २०८१/८२ मा ३६ वटा दीर्घकालीन बालगृहहरूबाट २५८ बालबालिकाको पारिवारिक पुनर्मिलन गराइएको छ।

प्रचलित मापदण्ड विपरीत सञ्चालनमा रहेका २ वटा बालगृहहरूबाट २० बालबालिका (बालक १४, बालिका ६) को उद्धार गरी व्यवस्थापन गरिएको बालबालिकासम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदनमा उल्लेख छ।

बालबालिका सम्बन्धी ऐन, २०७५ तथा नियमावली २०७८ ले विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको पालनपोषण, संरक्षण, स्वास्थ्य र शिक्षा लगायतका आधारभूत आवश्यकताको व्यवस्था गर्न राज्यले उपलब्ध स्रोत र साधनको आधारमा आवश्यक व्यवस्था मिलाउने सुनिश्चित गरेको छ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP