Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

जेनजी शहीदकी आमाको सन्देश : सरकारले जनताको भलो गरोस्

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-८ का उमेश महतको गत भदौ २४ गते गौशालाचोक नजिक गोली लागेर निधन भयो।

नयाँबानेश्वर केन्द्रित जेनजी पुस्ताको आह्वानमा भदौ २३ गते भएको आन्दोलनमा साथीभाइसहित धेरै युवालाई गोली लागेको देखेपछि उनी आन्न्दोलनमा जान प्रेरित भएका थिए। दिदी सुमित्राका अनुसार अघिल्लो दिन बानेश्वरमा गोली लागेर ढलेका युवालाई अस्पताल पुर्‍याउने कार्यमा उमेश सशक्त रूपमा खटिइ राति अबेर घर फर्किएका थिए।

बानेश्वरमा प्रहरीले कति साथीहरूलाई छाती र टाउकोमा गोली हानेर ढाल्यो, धेरै घाइते भएका छन्, त्यसमध्ये केहीलाई आफैँले बोकेर अस्पताल पुर्‍याएँ भनी सोही दिन उमेशले दिदी सुमित्रालाई सुनाए। ठूलो सङ्ख्यामा युवालाई गोली लागेको र हताहती भएपछि सरकारप्रति आक्रोशित भीड भोलिपल्ट सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्न पुग्यो।

सोही सिलसिलामा उत्तेजित भीडले गौशालास्थित गाई फर्ममा आगजनीको प्रयास गरेकामा त्यसलाई रोक्न चिच्याउँदै अघि बढिरहेका बेला उमेशको दायाँ छातीमा गोली लाग्यो। उनी त्यही ढल्ले। साथीहरूले उठाएर बानेश्वरस्थित फण्ट लाइन अस्पताल पुर्‍याए। शल्यक्रियाका लागि शल्यक्रिया कक्षमा पुर्‍याउँदा नपुर्‍याउँदै उमेशको निधन भयो।

उमेशलाई गोली लागेको सूचना महत परिवारले दिउँसो करिब २ः३० बजे उमेशकै मिल्ने साथी सुवास खत्रीले सुनाएका थिए। सुवासका पिता सुवर्णले उमेशलाई विदेश नजाउञ्जेल स्नुकर खेलाउने रोजगारी उपलब्ध गराएका थिए। त्यसबापत उमेशले मासिक रु १० हजार तलब प्राप्त गर्थे।

घरको आर्थिक अवस्था कमजोर रहेकाले उमेशका बाआमा सिन्धुपाल्चोकबाट १९ वर्षअघि काठमाडौँ आएर चाबहिलमा तरकारी र सागसब्जी बेच्थे। त्यही सागसब्जी बेचेर महत दम्पतीले घरपरिवारको गुजारा चलाउने र छोराछोरीलाई शिक्षादीक्षा दिलाएका थिए।

श्यामबहादुर महत र कालीमाया महतका चार सन्तानमध्ये एक छोरा र एक छोरीपछि २०६२ असोज ११ गते उमेशको जन्म भएको थियो। सानो उमेरमै उमेशलाई पत्थरीसहित मिर्गौलाको समस्या भएर लामो समयसम्म उपचार गराउनुपरेको थियो।

बिरामीकै बीचमा उमेशले विद्यालय कपनको एक विद्यालय र उच्च माध्यमिक विद्यालयको शिक्षा चुच्चेपाटीस्थित लुम्बिनी कलेजबाट पूरा गरे। लामो उपचार र स्वास्थ्य ठीक भएपछि पछिल्लो समय उनी वैदेशिक रोजगारीका लागि खाडीमुलुक जाने तयारीमा थिए। दिदी सुमित्राका अनुसार जुन दिन उमेशलाई गोली लाग्यो, त्यही दिन वैदेशिक रोजगारीमा जान भिसा लागेको खबर आयो।

दिदी सुमित्रा भन्छन्, ‘आमाबाले साँझ बिहान तरकारी बेचेर दुःख गरेर हामीलाई पढाउने, बढाउने र काम गर्नुभयो।’ परिवारमा भने चञ्चले र हासमुखी स्वभावको परिचय बनाएका उमेश सानैदेखि खेलकुदमा फुटबल प्रेमी तथा खानपिनमा मःम र कफीको पारखी थिए। त्यसका लागि दिदीसँग खर्च मागी रहन्थे। केही वर्षअघि फुटबल खेल्दा उनको हातसमेत भाँचिएको थियो।

छिमेकी मिल्ने अग्रज दाजु सुवास खत्रीका अनुसार उमेश साथीभाइका बीचमा सबैसँग बोल्ने, छिटो घुलमिल हुने, कसैलाई नबिझाउने र चित्त नदुखाउने युवा थिए। उमेशलाई सम्झँदै सुवास भन्छन्, ‘साथीभाइको बिचमा उसले सबैको माया र सद्भाव पाएको थियो। पढाइमा मध्यम श्रेणीको ऊ निकै हासिलो र व्यवहारिक थियो।’

भ्रष्टाचार अन्त्य, सुशासन प्रवर्द्धन, राजनीतिमा युवाको पुस्तान्तरण र निष्क्रिय तुल्याइएको फेसबुकसहितका सामाजिक सञ्चाललको सञ्चालनको माग राखेर नयाँबानेश्वर केन्द्रित आन्दोलनका क्रममा भदौ २३ गते ठूलो सङ्ख्यामा युवाको हताहती भयो। धेरै घाइते भए।

जेनजी आन्दोलनका क्रममा मुलुकभर भएका आगजनी, तोडफोडसहितका हिंसात्मक घटनामा ७६ जनाको ज्यान गयो भने ८४ अर्बभन्दा बढी सरकारी र निजी सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान छ। त्यसआन्दोलनका क्रममा प्रशासनिक भवन सिंहदरबार, सर्वोच्च अदालत र संघीय संसद् भवनलगायतका देशका महत्त्वपूर्ण भौतिक संरचनामा ठूलो क्षति भयो।

गत भदौ २४ गते कान्छो छोरा उमेश गुमाउनुपरेको दिनको स्मरण गर्दै आमा कालीमाया महत भन्छिन्, ‘म १० बजेतिर काममा निस्किए, ऊ सुतिरहेको थियो। केही छिनपछि उठेर सिक्न आएकालाई स्नुकर खेलाएछ। आन्दोलनमा जाने कुरा गरेपछि खत्री दाइले नजा भन्नुभएछ। ऊ आन्दोलनमा गएको कुरा गोली लागेको खबर सुनेपछि मात्रै थाहा पाएँ।’

कान्छोको पढाइलेखाइ राम्रो र चलाख भएकाले छिमेकी साथी सुवासको बाले स्नुकर खेलाउने रोजगारी दिएर मासिक १० हजार दिँदै आएको उमेशकी आमाको भनाइ छ। छोरा उमेशको निधनपछि पुरानो थातथलो सिन्धुपाल्चोक फर्केर भूकम्पको अनुदानबाट निर्माण गरिएको सानो भवनमा बस्दै आएका छन्।

पुरानो थातथलो भए पनि नयाँ श्रृष्टि गर्नुपरेकाले दैनिक गुजारा चलाउनसमेत उहाँहरूले संघर्ष गर्नुपरेको छ। दैनिक ज्यालादारी र बेसाह खोजेर घर चलाएका छन्। नेपाली पुरानो मान्यताअनुरूप घरका मानिस गुमाएको एक वर्षसम्म मूलघरमै बस्नुपर्छ- छोड्न मिल्दैन भन्ने भएपछि उनीहरू पुरानो घर फर्किएका हुन्।

सहिद घोषणा गरेपछि राज्यले उपलब्ध गराउने रकम १५ लाख भने प्राप्त गरिसकेका छन्। जेनजी पुस्ताको आन्दोलनका बलमा वर्तमान सरकार गठन भएको आजै मात्र १०० दिन पुगेको छ।

यसबीचमा जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका माग सम्बोधन गर्दै जाने सिलसिलामा जेनजी र सरकारबीच १० बुँदे सहमति भएको छ। त्यसमा सरकारले निर्धारित समयमा चुनाव गराउने, वित्तीय अनुशासन र सुशासनका लागि ठोस कदम चाल्ने तथा ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्ने विषय उल्लेख छ।

सुशासन शहीद उमेशकी आमा रुँदै भन्छिन्, ‘कान्छो निधनपछि मन आतिएको छ, शरीर छटपटिन्छ, सरकारले आफैँले बुझेर के गर्दा जनता र देशको भलो हुन्छ, त्यो गरोस् कसैलाई केही भन्न र गर्न सक्दिन।’ राजनीतिक दल, सरकारले आफैँले जानेर गर्नुपर्ने काम गर्न फेरि पनि युवाले दबाब दिनुपर्ने र ज्यान गुमाउन पर्ने अवस्था सदाका लागि अन्त्य होस् भन्ने उनको सरकारलाई सुझाव छ।

शहरका अरु युवापुस्ताझैँ खानपिनमा मःम र पिज्जा मनपराउने उमेशलाई अनेक दुःख गरेर भए पनि आमाबाले त्यो पुर्‍याएका थिए। उमेशकी आमा भन्छन् ‘छोरालाई बिरामी हुँदा सानोमा धेरै दुःख गरेँ विभिन्न रोगबाट बचाएँ, अहिले आन्दोलनको गोलीबाट बचाउन सकिन।’  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP