पर्वत : सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्नका लागि जिल्लाको पैयुँ गाउँपालिकाले शिक्षकहरूको लागि स्वेच्छिक अवकाशको योजना ल्याएको छ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू अनिवार्य अवकाश पाउने ६० वर्षको उमेर पुग्ने बेलासम्म पनि विद्यालयमै रहँदा अहिलेको प्राविधिक सीपयुक्त जनशक्ति बाहिर रहेकोले यो योजना ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले बताए।
अनिवार्य अवकाशको नजिक नजिक रहेका शिक्षकहरूलाई सुविधा सहित अवकाशमा लगेपछि रिक्त स्थानमा विज्ञापन गरेर युवा पुस्ताको प्रवेश गराउँदा विद्यालयमा नयाँ ऊर्जा थपिने उनको भनाइ छ।
जिल्लाका अन्य स्थानीय तहहरूले पनि अनिवार्य अवकाशको नजिकै रहेका शिक्षकहरूलाई विशेष सुविधा सहित स्वेच्छिक अवकाशमा लैजाने गरेका छन्। तर यसको उद्देश्य प्राथमिक तहमा बढी रहेका दरबन्दीको मिलान गर्नु रहेको थियो। तर पैयुँले भने निम्न माध्यमिक र माध्यमिक तहमा समेत स्वेच्छिक अवकाशको योजना सुरु गरेको हो।
यो योजनामा कति शिक्षकहरुले आवेदन दिन्छन्, सोही अनुसार बजेटको व्यवस्थापन गर्ने गाउँपालिकाको तयारी छ। आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्य ल्याउनु पूर्व नै शिक्षकहरूको निवेदन सङ्ख्याका आधारमा बजेट व्यवस्थापन गरेर बजेट सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत गैरेले बताए। ‘यो योजनाले पाको उमेरमा पुग्नुभएका गुरुहरूलाई विश्राम दिएर जोस र ऊर्जा भरिएका प्रविधिमैत्री युवा पुस्तालाई विद्यालयमा छिराउन सकियो भने शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी हुन्छ भन्ने विश्वास लिएका छौँ’, उनले भने, ‘जति जना शिक्षकहहरुले अवकाशका लागि आवेदन दिनुहुन्छ सोही आधारमा आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा बजेटको व्यवस्थापन गर्ने तयारी छ।’
गाउँ शिक्षा समितिको गत जेठ एक गते बसेको बैठकमा गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूमा कार्यरत रही २० वर्ष स्थायी सेवा अवधि पूरा गरेका र अनिवार्य अवकाश हुन एकदेखि पाँच वर्ष बाँकी रहेका शिक्षकहरूलाई इच्छा अनुसार अवकाशमा लैजान सकिने निर्णय भएको थियो।
स्वेच्छिक अवकाशमा जाने शिक्षकहरूलाई गाउँपालिकाले दुई वर्गमा विभाजन गरेर सुविधा थप गरिने योजना बनाएको छ। जसमा एक वर्षभन्दा बढी र दुई वर्षभन्दा कम सेवा अवधि बाँकी रहेका शिक्षकहरूको लागि खाइपाइ आएको सुरु तलब स्केलको चार महिना बराबर हुन आउने रकम एकमुष्ट दिने भनिएको छ। यस्तै तीन वर्षदेखि पाँच वर्षसम्म सेवा अवधि बाँकी रहेका शिक्षकहरूको लागि खाइपाई आएको सुरु तलब स्केलको पाँच महिना बराबर हुन आउने रकम एकमुष्ट उपलब्ध गराइने गाउँपालिकाले बताएको छ।
स्वेच्छिक अवकाशमा जान चाहने योग्य शिक्षकहरुले जेठ २२ गते भित्रमा गाउँपालिकामा निवेदन पेस गर्नुपर्ने भनिएको छ। यो योजना आगामी साउन एक गतेबाट लागू गर्ने तयारी छ।थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया