काठमाडौँ : कृष्ण जन्माष्टमी नजिकिँदै गर्दा पश्चिम नेपालका थारू बस्तीमा अष्टिम्कीको तयारी शुरू हुन्थ्यो। चित्र कोर्नका लागि प्राकृतिक रङको जोहो गरिन्थ्यो। हरियो रङका लागि सिमी, कत्थक रङका लागि विशेष काठ, रातो रङका लागि पवईं साग। कालो रङका लागि त सुकेको लौका आगोमा डढाउनुपर्थ्यो।
थारू समुदायमा विशेषगरी हरियो, कालो, सेतो र रातो रङको प्रयोग हुन्छ। अष्टिम्कीमा पनि यिनै रङ प्रयोगमा आउँछन्। दुःख गरेर सङ्कलन गरिएका प्राकृतिक रङलाई हातैले घरका भित्तामा अष्टिम्की चित्र बनाएर उनीहरू अष्टिम्की पर्व मनाउँथे। तर, अहिले यसको मौलिकता हराएको छ। प्रिन्ट गरिएका अष्टिम्कीका चित्र टाँसेर पूजा गर्ने चलन हाबी भएको छ। यसले अष्टिम्की चित्रकलाको मौलिकपन नै हराउँदै जानेमा विज्ञ चिन्तित छन्।
हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन खास गरी पश्चिमा थारू समुदायले ‘अष्टिम्की पर्व’ मनाउने गर्छन्। यो पश्चिमा थारूहरूको मौलिक पर्व हो। यो दिन अष्टिम्की चित्र बनाएर व्रतालु महिलाले पूजा गर्ने चलन छ।
मिथिला चित्रकलासँग मिल्दोजुल्दो अष्टिम्की चित्र व्यावसायिक बन्न त परै जाओस् घरका भित्ताहरूमा पनि देखिन छाडेको छ।
अष्टिम्की चित्रको महत्त्व
अष्टिम्की गीतको पुस्तक प्रकाशन गरिसकेका शत्रुघन चौधरीका अनुसार अष्टिम्की थारूहरूको विभिन्न प्रदर्शनकारी सौन्दर्य कलामध्ये एक हो, जुन प्राकृतिक सौन्दर्य र जीवको गहिरो सम्बन्ध रहेको चित्रकलामार्फत व्यक्त हुन्छ। ‘अष्टिम्कीका दिन बिहानै नुवाइधुवाइ गरी निराहार व्रत बसी महिला–पुरुषहरू घरको बहरी (पिँढी) को उत्तरतर्फको भित्तामा हस्तचित्र बनाउने गर्छन्, जहाँ मानवकृति र प्राकृतिक स्वरूप बनाइएका हुन्छन्’, उनी भन्छन्, ‘सृष्टिको कथादेखि पशुपन्छी, जीवजन्तुको चित्र बनाइएको हुन्छ। यसले थारूहरूको जीवनशैली र जीवजीविकाको सम्बन्ध देखाउँछ।’
अष्टिम्कीबारे विद्यावारिधि गरेका थारू संस्कृतिविद् डा. कृष्णराज सर्वहारीका अनुसार, अष्टिम्की चित्रकला एक कला मात्र होइन, समग्र थारू समुदायको उत्पत्ति, जीवनशैली, दर्शन र संस्कृतिको प्रतिरूप हो। ‘अष्टिम्कीको गीत गाउँदै अष्टिम्की चित्र बनाइन्छ। गीतमा भनिएको कुरा चित्रमा झल्किन्छ। चित्रमा सूर्य र चन्द्रको उपस्थितिले थारूहरू प्रकृतिपूजक रहेको प्रष्ट बुझिन्छ’, उनी भन्छन्।
डा. सर्वहारीका अनुसार, अष्टिम्की चित्रकलामा ब्रह्माण्ड सृष्टिसँग जोडिएका सबै पक्ष समावेश हुन्छन्। थारुहरूको कृषिकर्म हलो जोतेको, डोलीमा बेहुला–बेहुली बसेको, घना जङ्गल, पशुपन्छी आदि सबैले थारु जनजीवनको विविध पाटोलाई चित्रमार्फत उजागर गर्छन्। यी चित्र भित्तामा डेहरी (भकारी) मा बनाइन्छन् र साँझपख पूजाअर्चनापछि मात्र फलफूल खाने गरिन्छ।
असारको पहिलो साता सार्वजनिक भएको पुस्तक ‘बुढनी’ को आवरणमा पनि अष्टिम्की कला झल्कन्छ। यसका लेखक इन्दु थारु अष्टिम्की चित्रकला थारु समुदायका पुर्खाले पहिलेदेखि नै बनाउँदै आएकाले पुस्तकमा मौलिक कलालाई स्थान दिएको बताउँछन्।
‘थारु समुदायमा चित्र बनाउने आफ्नै शैली छ। बाघ, मयूर होस् वा अन्य जनावर र पन्छी। ज्यामितीय आकारमा बनाइएका यी चित्र हेर्दा स्पष्ट हुन्छ कि यो थारुहरूको कला हो। यो बनाउने तरिका पनि विशिष्ट छ’, उनी भन्छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया