सविना खनाल
काठमाडौँ : वीरगञ्जमा हैजाले महामारीकै रूप लिएको छ। केही दिनअघिसम्म फाट्टफुट्ट देखिएको झाझापखालाले यतिखेर बस्तीहरूमा व्यापक रूपमा फैलिएपछि महामारीकै रूप लिएको हो।
वीरगञ्जमा आइतबार (आज) बिहानसम्म हैजा संक्रमितको संख्या ४२ पुगेको छ। यस्तै हालसम्म १२९ जना झाडापखालाका सिकिस्त विरामी अस्पतालमा भर्ना भएका छन्।
जनस्वास्थ्यको हिसाबले हैजाको एउटै विरामीलाई महामारी सरह मानिन्छ।
सिकिस्त ११ जनाको आइसियु र एचडियूमा
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत तथा पानीजन्य संक्रमणका फोकल पर्सन जैमद ठाकुरका अनुसार हैजा संक्रमण पुष्टि भएका मध्ये ९ जनाको आइसियु र २ जनाको एचडियुमा उपचार भइरहेको छ।
अस्पताल भर्ना भएका १२९ संक्रमितको हाल वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज,तराई अस्पताल/ नारायणी अस्पताल,वीरगञ्ज हेल्थ केयर लगायत स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। यसमध्ये सबैभन्दा धेरै विरामी नारायणी अस्पतालमा रहेका छन्।
तीमध्ये ११ जना आईसीयू तथा एचडीयूमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका पर्साका पानीजन्य संक्रमणका फोकल पर्सन ठाकुरले भने‚ ‘अहिलेसम्म १२९ जना झाडापखालाका सिकिस्त विरामी अस्पताल भर्ना हुनु भएको छ। यसमध्ये हालसम्म ४२ जना हैजामा पुष्टि भइसकेको छ।’
ठाकुरका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं १२ मुर्लीस्थित नयाँ टोलमा हैजाका बिरामी बढी देखिएका छन्। गत २८ साउन देखि नै झाडापखालाका विरामी फाट्टफुट्ट रुपमा देखिए पनि हैजा पुष्टि भएको भने बिहीबार हो।
गत मंगलबारदेखि अलि बढी देखियो। शुक्रबार देखि भने अस्पतालमा ठूलो संख्यामा झाडापखालाका विरामी आए । यसरी एकैपटक धेरै विरामी अस्पताल आउन थालेपछि हैजाको संका लागे परीक्षण गर्दा हैजा गराउने ब्याक्टेरिया ‘भिब्रियो कलेरा’ देखा परेको ठाकुरले बताए।
केही दिनअघि मात्रै झाडापखाला लागेर अस्पताल लैजाँदै गर्दा दुईजनाको बाटोमै मृत्यु भइसकेको थियो। यसरी मृत्यु भएका यी विरामीमा हैजाको जीवाणु भए नभएको भनेर पुष्टि भएको थिएन।
झाडापखाला र हैजा तीब्ररुपमा फैलदै गएपछि प्रभावित क्षेत्रको विभिन्न स्रोतबाट उपलब्ध भएको पानीको नमुना परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको छ। यो पानीको परीक्षणको रिपोटपछि मात्रै के कारणले हैजा फैलिएको भन्ने पुष्टि हुने जिल्ला जनस्वास्थ्य कार्यालयका पर्साका पानीजन्य संक्रमणका फोकल पर्सन ठाकुरले बताए।
यतिखेर मधेशमा चर्को गर्मी र लामो खडेरी परेको हुँदा पानीको अभाव हुँदा इनार,धाराहरु बाहेक ट्याङकरबाट पनि पानी ल्याएर बाँडिएको र सोही पानी स्थानीय बासिन्दाले सेवन गर्दा झाडापखाला फैलिएको हुनसक्ने हुँदा प्रभावित क्षेत्रमामा वितरण गरिएको पानीको स्रोतबाट २२ वटा नमुना परीक्षणका लागि यतिखेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको हो।
यतिखेर झाडापखालाका विरामी एकैपटक धेरै अस्पतालमा आउने र समुदायमा पनि तीव्र रूपमा फैलदै गएपछि यतिखेर मधेश प्रदेश स्वास्थ्य निर्देशनालय आपूर्ति केन्द्रबाट हैजाको परीक्षणका लागि थप टेष्ट किट तथा अत्यावश्यक औषधिका सामग्री प्रभावित क्षेत्रमा उपलब्ध गराएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा सचेतनाका कार्यक्रम तथा उपचारका लागि आवश्यक सहयोग गरिरहेको छ।
डब्ल्युएचओको प्रतिनिधि सहित संघीय स्वास्थ्य मन्त्रालयको टोली प्रभावित क्षेत्र जाँदै
वीरगञ्जमा झाडापखाला सहित हैजाले महामारीको रूप लिन थालेपछि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) टोली प्रभावित क्षेत्र जाने भएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार शनिवार मधेश प्रदेश सरकार, प्रभावित स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी सहित भर्चुअल बैठक गरी संक्रमण नियन्त्रणका लागि कसरी जान सकिन्छ भन्ने विषयमा छलफल समेत भएको हो।
‘वीरगन्जमा फैलिएको हैजा संक्रमणको बारेमा हामीले प्रदेश र स्थानीय तहसँग समन्वय गरिरहेका छौँ, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी), डब्ल्युएचओको प्रतिनिधिसहित हाम्रो टोली पनि प्रभावित क्षेत्रमा जाँदै छौँ, उहाँहरूले त्यहाँ गएर स्थानीय तहसँग थप समन्वय गरेर काम गर्नु हुन्छ अहिलेसम्मको जानकारीअनुसार खानेपानीनै हैजा फैलनुको मुख्य कारण भएको बुझिएको छ’‚ मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले भने।
यस्तै अहिले सबैभन्दा पहिला फैलदो संक्रमण नियन्त्रण नै मुख्य प्राथमिकता रहेको र आवश्यक परे फैलिएको हैजा नियन्त्रणमा ‘ओरल कलेरा भ्याक्सिन’ दिनुपर्ने पनि हुन सक्ने भनेर डब्ल्युएचओ उक्त भ्याक्सिनका लागि पत्राचार पनि गरिएको प्रवक्ता डा. बुढाथोकीले बताए।
कपिलवस्तुको हैजा नियन्त्रण गर्न ल्याइएको थियो खोप
वर्षातको मौसम सुरु भएसँगै दूषित पानीका कारण पछिल्ला दिन टेकु अस्पतालमा झाडापखालाका बिरामी बढ्दै गएका छन्। काठमाडौँमा यसअघि सन् २०२२ मा हैजाले प्रकोपकै रूप लिएको थियो। त्यस समयमा सुरुमा बागबजारमा एकै परिवारका दुई दिदीबहिनीमा हैजा संक्रमण पुष्टि भएको थियो। त्यसपछि बूढानीलकण्ठ, कालिमाटीलगायतका स्थानमा गरेर ७७ जना हैजाका विरामी पुष्टि भएको थियो।
चार वर्षअघि कपिलवस्तु जिल्लामा हैजा फैलिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डब्ल्यूएचओसँग मागेर कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका अढाई लाखभन्दा बढी बासिन्दालाई ‘ओरल कलेरा भ्याक्सिन’ दिएको थियो।
सनोफी हेल्थ केयर इन्डिया प्रालिले बनाएको उक्त ओरल भ्याक्सिन विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टकपाइलमा रहेको खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्क हुँदै नेपालमा दुई लाख ५२ हजार ३६३ मात्रा आएको थियो।
त्यसबेला कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ बाट असोजको मध्यमा सुरु भएको झाडापखालाको प्रकोप शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका बासिन्दामा समेत देखा परेको थियो। त्यसबेला अस्पतालमा भर्ना भएका बिरामीमा दिसा परीक्षण गर्दा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो।
२०६६ सालमा जाजरकोटमा हैजाको महामारी
यसअघि २०६६ सालमा जाजरकोटमा हैजा संक्रमण फैलिँदा महामारीकै रूप लिएको थियो। त्यसबेला जाजरकोटबाट फैलिएको हैजा सुर्खेत, दैलेख, रुकुम, रोल्पा लगायत सात जिल्लामा देखा परेको थियो।
त्यतिखेर त्यहाँ हैजाकै कारण धेरैको ज्यान गएको थियो भने त्यहाँका ६० हजारभन्दा धेरै जनतालाई उपचार गराउनु परेको थियो।
काठमाडौं उपत्यकामा पनि सन् २०१५ र २०१६ यता हैजाका बिरामी फाटफुट देखिएका थिए। नेपालमा वि.सं. १९९० सालको भूकम्पपछि काठमाडौं उपत्यकामा हैजा महामारीकै रूपमा फैलिएको इतिहास छ।
उस्तै खालका लक्षणहरू देखिने हुँदा धेरै मानिस हैजा र झाडापखालाबाट झुक्किने गरेको पाइन्छ। तर हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि मानिसहरूलाई निरन्तर दिसा लाग्छ।
उनीहरूको दिसा धेरै पातलो हुने गर्छ। डा बुढाथोकीका अनुसार दिसाबाट चामलको चौलानीजस्तो तरल पदार्थ मानिसको शरीरबाट निरन्तर बगिरहन्छ। त्यसो हुँदा विरामीको शरीरलाई आवश्यक तत्त्व पनि शरीरबाट बाहिरिन्छन्। शरीरलाई आवश्यक पर्ने तत्व न्यून हुँदै जान्छ।
पटकपटक बान्ता आउने, पेट वा खुट्टाका मांसपेशी बाउँडिने जस्ता समस्या अधिकांश विरामीमा देखिने उनले उनको भनाइ छ। तरल पदार्थ धेरै खेर जाने भएकाले बिरामीलाई धेरै तिर्खा लाग्ने उनले बताए। बिरामी धेरै थाक्ने र धेरै खटपट हुने उनको भनाइ छ।
केही मानिसमा हैजाको लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ। अधिक कमजोरीका कारण केही मानिसहरू बेहोस नै हुनसक्ने उनले बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया