सरस्वती अधिकारी
काठमाडौं : फूलै फूलको पर्व तिहार अर्थात् दीपावली नजिकिदै गर्दा बजारमा सयपत्री र मखमली फूलको कारोबार बढ्न थालेको छ।
विगतका वर्षहरूमा भारतीय फूलले नेपाली फूलको कारोबारमा प्रभाव पार्ने गरेकोमा यसवर्ष भने भारतीय फूल नभित्रिने विश्वास व्यवसायी प्रतिनिधिहरूको छ।
वर्षभरी मा तिहार र छठ पर्वमा सयपत्री लगायतका फूलको प्रयोग धेरै हुने गरेको छ। गाउँघरमा धेरैजसो नेपालीले आफ्ना लागि चाहिने जति फुलहरू घर वरपर रोपेर टार्ने पनि गर्छन्।
यससँगै फूलको व्यवसायीक खेती गर्ने चलन पनि बढ्दो छ। जसले गर्दा पछिल्ला वर्षहरूमा नेपालमा तिहार एवं छठका लागि चाहिने सयपत्री फूलको उत्पादन समेत बढेको पाइन्छ। सयपत्री र मखमलीसँगै गोदावरी फूलको समेत खपत धेरै हुने गर्छ।
भाइ टीकामा नभई नहुने जस्तै बनेका मखमलीको फूलमा भने मुलुक पहिलेदेखि नै आत्मनिर्भर छ। नेपाली पुष्प व्यवसायको प्रबर्द्धन, संरक्षण र व्यावसायीकरण गर्ने उद्देश्यले स्थापित पुष्प व्यवसायीहरूको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव हिरामणी शर्माका अनुसार मखमली फूल विदेशमा निर्यात समेत गरिन्छ।
देशभर तिहारका लागि मात्रै करिब ४० लाख वटा मालाको व्यवसायीक कारोबार हुने अनुमान गरिएको छ। सयपत्री अघिल्ला वर्षहरूमा भन्दा खपत धान्ने गरी उत्पादन बृद्धि भएको एशोसिएसनले जनाएको छ। यसका बाबजुद करिब १० प्रतिशत फूल अपुग हुन सक्ने देखिएको छ।
तर गाउँघरमा उत्पादित रैथाने जातका सयपत्री ल्याएर भएपनि माग पूर्ती गरिने व्यवसायी बताउँछन्। थोरै अभाव हुँदैमा आत्तिएर भारतीय फूल ल्याउनुपर्ने, उपभोग गर्नुपर्ने अवस्था छैन।
‘अघिल्लो वर्षहरूमा धेरै नैै नपुग्ने अवस्था हुँदा बाहिरबाट ल्याएर खपत गर्नुपर्ने बाध्यता थियो तर यो वर्ष करिब ९० प्रतिशत हामी आत्मनिर्भर छौं’ महासचिव शर्माले भने,‘केही अपुग हुनसक्छ, बरु अभाव नै रहोस्, दश प्रतिशत नपुग्दैमा केही फरक पर्दैन, अभाव नै भइहाले, गाउँमा रैथाने तरिकाले फूलाइएका फूल ल्याएर भए पनि माग पूर्ति गर्न सकिन्छ।’
भारतीय सयपत्री नभित्रिने विश्वास
सयपत्री फूल अपुग हुँदा पहिले भारतबाट ल्याउने गरिन्थ्यो। विगत दुई वर्षयता भने वैधानिक रुपमा सयपत्री ल्याउन पाइँदैन। सयपत्रीमार्फत विभिन्न किसिमका रोगहरू भित्रियो भन्दै प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले १६ किसिमको रोग नभएको प्रमाणित गरेर मात्रै ल्याउन पाउने गरी सूचना जारी गरेको थियो। तोकिएको मापदण्ड अहिलेसम्म कुनै व्यापारीले पुरा गर्न सकेका छैनन्।
तर नेपाल भारत बीचको लामो खुल्ला सिमानाको फाइदा उठाएर केही व्यापारीले लुकीछिपी फूल भित्र्याउने गरेका थिए, जसले गर्दा गत वर्षहरूमा नेपाली फूलको कारोबारमा नै प्रभाव पर्ने गरेको थियो।
महासचिव शर्माका अनुसार, भारतीय फूलका कारण सीमावर्ती बजारमा असर गरे पनि काठमाडौं महानगरपालिकाको समन्वयमा निगरानी बढाइए सँगै अवैध रुपमा ल्याइएका फूल काठमाडौंमा भने भित्रिन पाएन।
यो वर्षलाई पनि भारतीय फूललाई आउनबाट पुरै रोक्न सक्ने गरी संयन्त्र तयार पारिएको छ। यसका लागि काठमाडौं महानगरपालिकाले एउटा विशेष टोली नै खटाएको छ। यससँगै यसपटक भारतीय फूल आउने सम्भावना नहरेको उनले बताए।
‘अघिल्ला वर्ष फूलको व्यवसायीक कारोबारमा जुन खालका चुनौतीहरू देखिन्थे, यसपटक झेल्न पर्दैन भन्ने लागेको छ’, उनले भने, ‘जसरी काठमाडौं महानगरपालिका एक्सनमा उत्रिएको छ, त्यस हिसाबले काठमाडौंमा कुनै पनि हालतमा भारतीय सयपत्री माला छिर्दैन।’
नेपालमा भारतीय माला ल्याउने र बेच्ने व्यवसायीसँगै भारतीय निर्यातकर्तालाई पनि बढी पैसा पाउने प्रलोभनमा माला नपठाउन सचेत गराइसकेको उनले बताए।
मखमलीमा आत्मनिर्भर अनि निर्यात पनि
नेपाल मखमली फूलको लागि पूर्ण रुपमा आत्मनिर्भर रहेको छ। मखमलीको मालामा मुलुक भित्रकै उत्पादन पर्याप्त रहेको र निर्यात समेत हुने गरेको छ।
मखमली फूलको माला स्वदेशी खपतका लागि करिब ३ लाख ५० हजार चाहिन्छ। यस्तैगरी व्यवसायीक कारोबार अन्तर्गत नेपालबाट विभिन्न देशमा झण्डै २ लाख वटा (पिस) माला विदेश पठाइन्छ।
‘मखमलीमा हामी पूर्णतः आत्मनिर्भर छौं, बाहिरबाट ल्याउनुपर्दैन, बरु हामी नै बाहिर पठाउँछौँ’ महासचिव शर्माले थपे। नेपालबाट मखमली फूल युरोप, अमेरिकासँगै खाडी मुलुकमा पठाउने गरिएको छ। उनका अनुसार यस वर्ष सयपत्री फूलको मालाको थोक मूल्य एउटाको ८० देखि १०० रूपैँयासम्म र मखमली फूलको माला ४० देखि ४५ रूपैँयासम्म पर्नेछ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया