काठमाडौं : तामाङ समुदायले मनाउने सोनाम ल्होछार २८६१ डुल ल्होको तिनदिने कार्यक्रम आजदेखि शुरुवात भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबीच दीप प्रज्वलन गरी सोनाम ल्होछारको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ गरेका हुन्।
नेपाल तामाङ घेदुङको नेतृत्वमा रहेको ल्होछार मुल समारोह समितिको आयोजनामा हुने ल्होछार विषेश सांस्कृतिक कार्यक्रम पहिलो दिन आज बिहान शितलनिवासमा लामा गुरु, ताम्बा र बोम्बोहरूले विशेष पूजा र मन्त्रोच्चारण गरेपछि राष्ट्रपति पौडेलले शुभारम्भ गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाल समाजमा सोनाम ल्होछार जस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होछारका लागि पहिलोपटक राष्ट्रपति निवासमा यसखालको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे।
‘इतिहासमै पहिलोपटक राष्ट्रपति निवासमा यसखालको पूजापाठ गरेर अपनत्व लिनुभएको छ। यसले निरन्तरता पाउने आशा गरेको छु,’ अध्यक्षसमेत रहेका गोलेले भने। उनले भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा तामाङ जातिको ठुलो समुदाय रहेको र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होसार परम्पराको विशिष्ट र अत्यन्तै महत्वपूर्ण स्थान रहेको बताए।
राष्ट्रपति कार्यालयमा पहिलोपटक सोनाम ल्होछारको अवसरमा शुभकामना तथा पूजापाठ कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, पूर्वमन्त्री तथा सांसदसहित तामाङ संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
तामाङ समुदायले मनाउने ल्होछारको आजबाट शुरु कार्यक्रम काठमाडौंको टुँडिखेलमा पर्सिसम्म आयोजना गरिएको छ। टुँडिखेलमा भोलि सांस्कृतिक कार्यक्रमसहित ल्होछार इभ मनाउने र पर्सि मुख्य दिन सांस्कृतिक झाँकीसहित र्याली तथा ल्होछार समारोह हुने आयोजकले जनाएको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने तय भएको छ।
ल्होछार महोत्सवमा तामाङ मौलिक खाना, भेषभुषा तथा सांस्कृतिक पहिचान झल्कने वस्तुका स्टलहरू राखिनेछन्। तामाङ समुदायले यो वर्ष गरुड वर्षलाई बिदाइ गर्दै सर्प वर्षलाई स्वागत गर्दैछन्। ल्होछार तामाङ समुदायको नयाँ वर्ष हो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया