पर्वत : अलि वर्ष पहिलेसम्म पोषणयुक्त खानाको अभाव तथा यस बारेको ज्ञानको कमीले बालकालिकाहरू कुपोषित हुने गरेका तथ्यहरू सार्वजनिक हुन्थे। बजारमा बसेर सुविधा उपभोग गर्ने परिवारका बालबालिकाहरूले राम्रो खाने कुरा, स्वास्थ्य सुविधा राम्रो पाउँदा ग्रामीण क्षेत्रका अभिभावकहरू भने पोषणको बारेमा त्यति जानकार थिएनन्। सन्तुलित खानाको लागि परिकार फेरेर खाने भन्दा पनि घर गाउँमा जे उपलब्ध हुन्छ त्यही नियमित सेवन गर्नुपर्ने बाध्यता थियो।
तर पछिल्ला खोजपड्ताल तथा स्वास्थ्य शिविरहरूबाट भने जानेका, बुझेका, शिक्षित, जागिरे, सुविधा भएका, बजारमा बस्ने, हुने खानेहरूकै बालबालिकाहरू कुपोषित हुने तर ग्रामीण क्षेत्रका बालबालिकाहरू भने उनीहरूको तुलनामा स्वस्थ रहने क्रम बढ्दै जान थालेको पाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा पर्वतको मोदी गाउँपालिकामा भएको पोषण लेखाजोखा तथा स्क्रिनिङ कार्यक्रमले पनि यसको पुष्टि गरेको छ।
कार्यालयका पोषण सम्बन्धी कामहरू हेर्ने मुख्य व्यक्ति तेजप्रसाद सुवेदीका अनुसार कार्यक्रममा पाँच वर्ष मुनिका कुल एक सय ७८ जना बालबालिकाहरूको पोषणको अवस्थाको बारेमा स्क्रिनिङ गरिएको छ। जसमा ९५ जना बालक र ८३ जना बालिकाहरू रहेका छन्। अवस्था जाँच गरिएकामध्ये साढे पाँच प्रतिशत अर्थात् १० जना बालबालिकाहरूमा कडा खालको कुपोषण रहेको पाइएको छ। उनीहरू नौ जना बालक र एक जना बालिका रहेका छन्। यस्तै २३ प्रतिशत अर्थात् ४१ जनामा मध्यम खालको कुपोषण रहेको पाइएको छ। जसमा २३ जना बालक र १८ जना बालिकाहरू रहेका छन्। जाँच गरिएकामध्ये दुई जना बालिकाहरूमा तौल बढी भएको पाइएको छ।
लेखाजोखाबाट पत्ता लागेका कडा कुपोषित बालबालिकाहरूलाई प्रदेश अस्पताल पर्वतमा रहेको पोषण पुनस्थापना केन्द्र र मध्यम कुपोषितहरूलाई ओ.टि.सी (आउट प्यासेन्ट थेराप्युटिक सेन्टर) मा रहेर पोषणमा ध्यान दिनुपर्ने गरी सुझाव दिइएको छ। प्रदेश अस्पताल कुश्माका मेडिकल अधिकृत डा. सनम ढकाल, प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका पोषण हेर्ने मुख्य व्यक्ति तेज प्रसाद सुबेदी, जनस्वास्थ्य अधिकृत अञ्जली पि.सी, प्रदेश अस्पताल कुश्मा पोषण पुनःस्थापना गृहका कर्मचारीहरू सहित पुगेको टोलीले मोदी गाउँपालिकाको एउटा केन्द्रमा मात्रै नभई पर्वतका सात वटै स्थानीय तहहरूको अवस्था यस्तै रहेको बताएका छन्।
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका पोषण हेर्ने सुवेदीले जिल्लाको बिहादी गाउँपालिकामा यो समस्या अलि कम रहेको भए पनि अन्य स्थानीय तहहरूमा भने सहरी क्षेत्रमा जटिल समस्याको रूपमा विकास भइरहेको बताए। राष्ट्रिय अवस्था हेर्ने हो भने पुड्कोपनाको अवस्था २५ प्रतिशत रहेको, कडा खालको कुपोषण आठ प्रतिशत र कम तौल भएकाहरू १९ प्रतिशत रहेको उनले जानकारी दिए। मोदीमा आएको नतिजाले मोदीको मात्रै नभएर जिल्लाका सुविधा भएका तथा सहरी क्षेत्रको प्रतिनिधित्व समेत गरेको सुवेदीको भनाइ छ।
‘मोदीमा जे नतिजा आएको छ त्यो जिल्लाका सुविधायुक्त, सहरी क्षेत्र र जान्नेहरूकै समूहको नतिजा हो। मोदी जे नतिजा आउला भन्ने आङ्कलन हामीले गरेका थियौँ त्यो भन्दा फरक आयो’, उनले भने, ‘सहरी क्षेत्रहरूमा जंक फुड खाने क्रम निकै बढ्दा सन्तुलित खाना खाने क्रम हराउँदै गएको छ। बच्चालाई छ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्ने भए पनि जागिरे जीवन र अन्य व्यस्तताका कारण पूर्ण स्तनपान हुँदैन।’
ग्रामीण क्षेत्रका महिलाहरूले गराइरहेको स्तनपान जानी नजानी भए पनि पूर्ण रहेको तर सन्तुलित आहारको बारेमा भने केही समस्या देखिने गरेको मोदीका आमाहरूलाई परामर्श दिएकी जनस्वास्थ्य अधिकृत अञ्जली पि.सी.ले बताइन्।
ग्रामीण क्षेत्रका महिलाहरू केही बाहेक जागिर वा नियमित मजदुरीमा नजाने र गएमा पनि बच्चालाई झिकाएर स्तनपान गराउने गरेको उनको भनाई छ। तर अन्न, गेडागुडी, भिटामिन, मिनरल, पशुजन्य खाना लगायतका आवश्यकताहरू गरिबीका कारण पूरा नभएको तथा पूरा हुने अवस्था भए पनि खाना चक्रको बारेमा थाहा नहुँदा सन्तुलन सधैँ नमिल्ने पि.सी बताउँछिन्।
सहरमा बस्नेहरूले जागिर वा व्यापारमा व्यस्त भएको बेलामा बच्चाहरूलाई भुलाउन प्याकेटका खाना दिने गरेकाले सुविधायुक्त सहरी क्षेत्र, रोजगारीका अवसर भएका ठाउँ, पोषणको बारेमा जानकै परिवार, आर्थिक रूपमा पनि सम्पन्न परिवारकै बच्चाहरूमा कुपोषणको समस्या देखिन थालेको उनको भनाइ छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया