Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

 

खोटाङ : किरात समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिकरूपमा सुरूआत भएको छ। तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना दिनसम्म साकेला (उभौली) चाड मनाउने चलन छ।

साकेला उभौलीको अवसरमा किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीमा युवायुवती, केटाकेटी र बुढापाकाको जमघट तथा ढोल–झ्याम्टासहित साकेला गीत र नाचले गुञ्जयमान बन्ने गरेको छ। माझ किरात भनेर चिनिने खोटाङका किरात बस्ती रहेको हरेक गाउँ तथा बस्तीमा साकेला सिली प्रदर्शन गर्दै शुभकामना आदानप्रदानसहित महिना दिनसम्म साकेला उभौली चाड मनाउने गरिएको छ।

साकेला उभौली चाड अन्नबाली छर्ने (रोप्ने) बेला अर्थात् वैशाख पूर्णीमादेखि महिना दिनसम्म मनाउने गरिन्छ। साकेला उभौलीको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र एक ठाउँमा भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाएर साकेला सिली नाच्ने गरिन्छ।

साकेला उभौलीको अवसरमा किरात राईहरूको ऐतिहासिक थलो मानिएका जिल्लाका विभिन्न ठाउँमा विधिवतरूपमा पूजाआजा गरिएसँगै यो चाड मनाउने प्रचलन छ। किरात समुदायको हरेक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै ठूलो चउरमा गोलो घेरा हालेर साकेला नाचिन्छ।

किरात समुदायको उद्गमस्थल मानिने खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित तुवाचुङ–जायाजुङ, दिक्तेल रूपाकोट मझुवागी नगरपालिकाको मझुवागढी, रूपाकोट र मेरूङ, जन्तेढुङ्गा गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खालगायत धार्मिक तथा पर्यटकीयस्थलका साथै साकेला थानमा साकेला नाचिन्छ। छिटको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, खाँडीको दौरासुरूवाल, ढाका टोपीलगायत किराती मौलिक वेषभूषामा ठाँटिएर हरेक किरातीका घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदाय मात्र नभइ गैरकिरात समुदायका युवायुवतीसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएर साकेला सिली नाच्ने गर्छन्।

चराचुरूङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷/झ्याम्टाको तालमा सुम्निमा र पारूहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनासहितका सन्देशमूलक गीत गाउँदै साकेला उधौली–उभौली मनाइन्छ। खुला आकाशमुनि ठूलो मैदानमा गोलो घेरा हालेर संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला नाचिन्छ।

बालकदेखि युवा तथा वृद्धवृद्धासम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला नृत्यले आदिवासी जनजाति समुदायको सामूहिक भावना प्रदर्शन गर्छ। हातखुट्टाको चालले पङ्तिबद्ध रूपमा साकेला सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रिया प्रदर्शन गरिन्छ।

दश स्थानीय तह रहेको खोटाङमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा अवस्थित किरात ऐतिहासिकस्थल मझुवागढीबाट औपचारिकरूपमा सुरूवात गरिने साकेला उभौली चाड महिना दिनपछि दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गर्ने चलन छ।

समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, विभिन्न जातीय सङ्घ संस्थाका प्रतिनिधिलगायतलाई सहभागी गराएर सामुहिकरूपमा साकेला सिली नाच्न लगाउने गरिन्छ।

साकेला उभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लामा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिएको छ। साकेला उधौली तथा उभौली चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मान्ने गरेका छन्।

किरात समुदायको साकेला उभौली चाडको अवसरमा नेपाल सरकारले एक दिन अर्थात आज सार्वजनिक बिदासमेत दिएको छ। आज किरात समुदायको साकेला उभौली चाडसँगै बुद्धजयन्तीसमेत परेकाले सरकारले सार्वजनिक बिदा दिएको हो।    थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP