Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

जलवायु परिवर्तनको असर : संकट ब्यहोर्दै नेपाल

 

सरस्वती अधिकारी

काठमाडौं : हुम्लाको उत्तरी विकट नाम्खा गाउँपालिका–६ तिल गाउँ उच्च जोखिममा रहेको छ। यही जेठ १ गते राती साढे १० बजेको आसपासमा एक्कासि माथि तिरबाट आएको बाढीपछि तिलगाउँवासीमा त्रास छाएको छ।

स्थानीय पालिकाले सुरक्षित स्थानमा सारेर तत्कालका लागि राहत प्रदान गरे पनि तिलगाउँवासी दीर्घकालिन उपायको पर्खाइमा छन्। नाम्खा गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष पाल्जोर तामाङका अनुसार गाउँमाथि रहेको ताल भत्किएर बाढी आएको थियो।

‘माथि दुई वटा ताल रहेछ’, उनले भने ‘ताल मुनी बाट भत्किएर पानी बग्यो र, पहिरो गएको पाइयो।’ स्थानीयले यसअघि गाउँमाथि ताल भएको थाहा समेत पाएका थिएनन्।

‘राती एक्कासि पहिरो गएपछि भागाभाग भएछ, भोलि पल्ट बिहान ६ बजेमात्र मैले थाहा पाए लगत्तै पाँच जनालाई के भएको रहेछ माथि माथि हेर्न पठाएँ’, वडाध्यक्ष तामाङले भने ,‘उनीहरूले हेरेर फोटो खिचेर आए, त्यहाँ दुई वटा ताल भएको र सबै सकिएको थाहा भयो।’

घटनाअघि गाउँको माथि जाने काम स्थानीयलाई पर्दै परेन। ‘ताल भएको थाहा हुने कुरै भएन, ५ हजार ३०० मिटरको हाइटमा रहेछ, त्यति माथि हिमालमा केही काम नै पर्दैन, के छ, कस्तो छ भनेर हेर्न को जाने ?’ उनले भने। तिलगाउँ ३९ सय मिटर बढीको उचाइमा छ।

वडाध्यक्ष तामाङका अनुसार त्यस क्षेत्रमा पहिले पनि बाढी पहिरो गएका थिए तर अहिले जस्तो ताल नै फुटेर लेदोसहितको बाढी गएको थिएन। जेठ १ गते राती साढे १० बजेदेखि भने एक्कासि खोलाले आफ्नो रँग फेरिदियो। भोलिपल्ट बिहानै ६ बजे जानकारी पाएपछि आफू त्यहाँ पुगेको उनले बताए।

अहिलेसम्म मानवीय क्षति नभएपनि पुरै तिलगाउँ एकदमै जोखिम रहेको वडाध्यक्ष तामाङले सुनाए। ‘तिलगाउँको दुइवटा घर तत्कालै भत्किहाल्ने अवस्थामा छ, दुई मिटर जतिको मात्र ग्याप छ’, उनले थपे। पहिले ४०–४२ घर रहेको गाउँमा अहिले १९ घरधुरी मात्र छन्।

घटना र जोखिममा रहेको वस्तीबारे जानकारी सबैलाई गराए पनि संघ (केन्द्र) बाट कुनै सहयोग नपुगेको जन प्रतिनिधि बताउँछन्। ‘संघीय सरकार वा अरु कतैबाट राहतको व्यवस्था केही गरेको छैन’ उनले भने। नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामा जोखिममा रहेको वस्तीका बासिन्दालाई गाउँभन्दा पारीपट्टि सुरक्षित ठाउँमा सारेर राखिएको बताउँछन्। उनीहरूलाई नजिकैको विद्यालय र खाली ठाउँमा पाल टाँगेर राखिएको छ।

‘माथि रहेको हिमताल फुटेको होइन, चुहिएको देखियो। दुई वटा ताल लिकेज भएर गाउँकै साइडमा रहेको सानो खोलाबाट बाढी आएको रहेछ। अहिले बाढी रोकिए पनि विस्तृत अध्ययन नगर्दा सम्म फेरी पनि आउन सक्छ भनेर स्थानीय त्रसित छन्। तालमा अब पानी त छैन, तर बाटो बनाइसके पछि के हो के हो, अन्य ठाउँबाट आउन सक्छ की भन्ने डर छ’, गाउँपालिका अध्यक्ष लामाले भने।

आफूहरू स्थानीयको राहत व्यवस्थापनमा खटिएको भन्दै उनले केन्द्र सरकारलगायत सम्बन्धित सबै ठाउँमा खबर गरिए पनि अहिलेसम्म अध्ययनका लागि कोही नपुगेको बताए। यद्यपि अध्ययन अनुसन्धान टोली आउला भन्ने उनीहरूलाई आशा छ।

जलवायु परिवर्तनको असर त्यस क्षेत्रमा निकै छ भनेर विगतदेखि संघ, प्रदेशलाई जानकारी गराइरहेको बताउँदै लामाले विस्थापित हुने संख्या त्यही ठाउँ बाटै बढिरहेको बताए। ‘हामीले दीर्घकालिन रोकथामको उपाय गर्नुपर्छ भनिरहेका छौं। त्यति ठूलो विपद् आए पनि मानवीय क्षति नहुनु भाग्यको कुरा हो, अब यस क्षेत्रको विस्तृत अध्ययन गरेर वस्ती बस्न लायकको छ छैन प्रमाणित गर्न जरुरी छ तर यो हाम्रो हातमा छैन। हामीले गर्ने भनेको जोखिममा रहेको वस्ती, घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेर राख्ने हो’, उनले भने।

बाढीले खानेपानीका संरचनाहरू बगाएर लगेको छ। पालिकाले जिल्ला खानेपानीको टोली पठाउने देखि विभिन्न किसिमका राहत पुर्याइरहेको छ। हुम्लाको हिमाल पारीको गाउँ भनेर चिनिने ६ नम्बर वडामा रहेको तीनवटै गाउँ बाढीपछि निकै प्रभावित छन्।

‘राज्यले यहाँको अवस्थाअनुसार सोच्नुपर्यो, केन्द्रमा बसेर जलवायु परिवर्तनको असर छ भनेर मात्र हुँदैन, वास्तविक असर कहाँ छ, हेरेर जलवायु जन्य गतिविधि लागु गर्नुपर्ने ठाउँ यकिन गरेर कार्यान्वयनमा जानुपर्छ’, पालिका अध्यक्ष लामाले थपे, ‘हामीसँग भएका सीमित स्रोत साधनले के मात्रै गर्न सकिन्छ, केवल तत्कालीन बाहेक दीर्घकालिन उपाय गाउँपालिकाले गर्नसक्ने अवस्था छैन।’

स्थानीय वासी र वडा, पालिकाले हिमतालबाट चुहावट भएर बाढी आएको बताए पनि सरकारी निकायले यसको यकिन गरिसकेको छैन। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्ट त्यहाँ कुनै हिमताल पनि नभएको र एउटा तालमा पर्माफ्रस्ट (जमेर लामो समय–कम्तिमा दुई बर्ष भन्दा बढी–सम्म बसिरहेको वस्तुलाई पर्माफ्रस्ट भनिन्छ ) फुटेको हो की भन्ने प्रारम्भिक अनुमान गरिएको बताउँछन्।

‘इसिमोडका साथीहरूले यहाँबाट त्यसको अध्ययन गरिरहनुभएको छ। इसिमोडको प्राविधिक सहयोगमा स्याटेलाइट इमेजहरू प्रयोग गरेर फिक्स गरिरहेका छौं’, उनले भने, ‘ खानी विभाग, जल तथा मौसम विभाग, इसिमोडका विज्ञसँगै क्यानडाबाट आएका एकजना नेपाली विज्ञसहितको टोली बसेर तिलगाउँमा के भएको रहेछ भनि छलफल गरिएको छ।’

अहिलेसम्म हिमताल नै फुटेको भन्ने यकिन भइ नसकेको बताउँदै उनले घटना थाहा पाएको शनिवार देखि नै इसिमोडका विज्ञहरूसँग परामर्श लिइएको जिकिर गरे।

यसअघि भएका अध्ययनमा सम्भावित विपत्ति निम्तिन सक्ने गर्न सक्ने हिमतालहरूमा गत बर्षको थामेको बाढी र तिलगाउँमाथिको ताजा विपती पर्दैन। त्यसको अर्थ फेरी एकपटक अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको सरोकारवालाहरू बताउँछन्।

इसिमोडका जलवायु तथा वातावरणीय जोखिम वरिष्ठ सल्लाहकार डा. अरुणभक्त श्रेष्ठले तिलगाउँमा आएको बाढी सम्बधमा विस्तृत अध्ययन भइनसकेकाले यही भएको भन्ने प्रष्ट भइ नसकेको बताए। ‘त्यहाँको स्याटेलाइट इमेजहरू त्यति राम्रो देखिएको छैन, विस्तृतमा हेर्नै पर्छ’, उनले भने ‘पछिल्ला घटनाहरूले हिमालहरू जोखिममा छन् भन्ने प्रष्टै छ, थप अध्ययन अनुसन्धानको खाँचो देखिएको छ।’

जलवायु परिवर्तन सम्बन्धी विज्ञ, मञ्जित ढकाल अहिलेसम्म स्थानीयले गरेको अवलोकनबाहेक धेरै जानकारी नभएको अवस्थामा यकिन गर्न सक्ने अवस्था नरहेको बताउँछन्।

नेपालमा ३ हजारभन्दा बढी हिम नदीहरू छन्,। देशभरका २३ सय २३ वटा हिमतालमध्ये ३१० वटाको आयतन तापमान वृद्धिसँगै अत्यन्तै बढिरहेको छ। ति मध्ये पनि २१ वटा जुनसुकै बेलामा फुट्न सक्ने खतरामा रहेको भनिएको छ। तर थामे त्यो भित्र पर्दैन। यसको अर्थ जटिल भौगोलिक अवस्थामा अध्ययनहरू अझ धेरै गर्न बाँकी छ भन्ने देखिएको विज्ञको ठहर छ।

‘यस्ता हिमतालहरू अझ बढी छन् भन्न सकिन्छ। पछिल्लो घटनाले पनि हाम्रो भौगोलिक जटिलताले गर्दा खेरी अझ हामी कति धेरै जोखिममा रहेछौँ भन्ने उजागर गर्यो’, वन तथा वातावरण मन्त्रालयका जलवायु विज्ञ सल्लाहकार ढकाल भन्छन् , ‘अबका दिनमा यस्ता खालका हिमतालहरू अझै कस्तो छन् भन्ने थप अध्ययन अनुसन्धान गर्ने, यसको पूर्वतयारी गर्ने कुरामा पनि ध्यान दिनुपर्छ भन्ने देखियो।’

तापक्रम बढ्दै जाँदा यस्ता खालका हिमतालहरू द्रुत गतिमा पग्लने, फुट्ने खतरा पुष्टि हुँदै गएको छ। तल्लो तटिय क्षेत्रमा, मेलम्ची, बागमतीमा यस्ता घटना भएको थियो भने मानवीय कृयाकलाप, घर बाटो, कलकारखाना बनाउँदा ध्यान नदिएर भएको भन्न सकिन्थ्यो। तर हुम्लाको घटनाको सम्बन्धमा अनुमान गर्दा, तापमान बढ्नु नै मुख्य कारण हो भन्ने अनुमान गर्न सकिन्छ भन्छन् ढकाल। यसलाई जलवायु परिवर्तनसँग जोड्न मिल्ने उनको तर्क छ।

‘अध्ययन अनुसन्धानको महत्व र त्यसलाई ग्राह्यता दिनुपर्ने, यस्ता खाले घटनाबाट कम क्षति हुनका लागि अनुसन्धानको रिपोर्टलाई आधार मानी पूर्व सूचना प्रणाली, पूर्व जानकारी दिने प्रविधि राख्न सके जोखिम कम गर्न सकिन्छ’, उनले थपे।

पेट्रोलियम पदार्थ, कोइलाको प्रयोग बढी भएकोले पृथ्वीको तापक्रम बढिरहेको छ। सगरमाथा संवादको कल फर एक्सनको पहिलो बुँदामै तापमान वृद्धिलाई १.५ भन्दा बढ्न नदिन सबैले प्रयास गरौं भनेर लेखिएको छ। ‘अहिले सगरमाथा संवादको सान्दर्भिकता सँगै हामी सबैले त्यसलाई कार्यान्वयन गर्न जरुरी पनि देखियो’,. विज्ञ सल्लाहकार ढकालले भने, ‘अन्तराष्ट्रिय कुटनीति, कार्बन उत्सर्जन कम गर्ने, पृथ्वीको तापक्रम घटाउनु नै मुख्य उपाय हो।’

विश्व तापमान वृद्धि बढ्दै जाँदा यसको प्रभाव हिमाली क्षेत्रमा बढ्दै गइरहेको छ। उच्च हिमाली क्षेत्रमा विषम खालका मौसमी र जलवायु परिवर्तनका घटनाहरू देखिइरहेको छ। जलवायु विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार तापमान वृद्धि हुने वित्तिकै उच्च हिमाली क्षेत्रमा भएका तालहरूको घनत्व बढ्छ।

‘तालको पानीको अहिले र पहिलेको अवस्थामा परिवर्तन आउँछ, थेग्न नसकेपछि त्यस ठाउँमा जमेको माटो पग्लिएपछि त्यसको घनत्व बढ्छ, र विस्फोट भएर तल आउँछ, यो क्रम बढ्दो छ’, डा. उप्रेतीले भने, ‘यसले अब संकट छ भनेर पूर्व सूचना, अर्लामिङ्ग दिइरहेको छ। जोखिममा रहेका वस्तीहरूको रेखाङ्कन, जोखाङ्कन गरेर सुरक्षित ठाउँमा स्थान्तरण गर्नुपर्ने काम तुरुन्तै गर्नुपर्छ ’

जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलनका कार्यहरूसँगै क्लाइमेट एक्सनमा अगाडि बढ्न विपद्का घटनाहरूले सन्देश दिइरहेको उनी बताउँछन्। यसअघि ठूला ठूला तालहरू, धेरै जोखिमहरूको मात्र अध्ययन गरियो। तर अहिले साना तालहरूको समेत ठूला प्रभावहरू देखिएको छ। अब सानाले पनि ठूलो घटना गराउन सक्छ भन्ने थाहा पाउन जरुरी छ रहेको उनले सुनाए।

‘क्लाइमेट एक्सनमा जाने, लगानी गर्ने, उच्च हिमाली क्षेत्रको जोखिम भएका ठाउँमा जोखिमको डकुमेन्टेसन मात्र गर्ने होइन, काम नै गर्ने, अबको दश, बीस वर्ष पछाडि के हुनसक्छ भन्ने खालका अध्ययनलाई आधार मानेर सेटलमेन्टको प्लान गर्ने, वस्तीको योजना बनाउने, र सुरक्षित जनजीवन बनाउनेतर्फ लागि हाल्नुपर्छ’, डा. उप्रेतीले भने।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP